कोसी साहित्य-कला परिषद् नेपालले गजलकार मानन्धर अभागीलाई सम्मान गरेकाे छ।
नेपाली गजलका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभागीलाई सम्मान गरिएको हाे।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीकाे अध्यक्षता र वरिष्ठ साहित्यकार हर्कमान तामाङकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि र शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले गजलकार अभागीलाई सम्मान गरेका थिए।
मोरङको बेलबारीमा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको सहयोजनामा भएकाे उक्त कार्यक्रममा गजलकार अभागीले आधा दर्जन नेपाली तथा हिन्दी गजल वाचेका थिए। उनले अधिकांश गजल तरन्नुममै सुनाएका थिए।
विशेष गरेर प्रेमिल गजल लेख्न रुचाउने मानन्धरले उक्त अवसरमा प्रेमिल, सामाजिक र व्यङ्गयचेतका केही गजल वाचेका थिए।
गजलका साथमा अभागीले गजल लेखन सम्बन्धी अनुभवसमेत सुनाउँदै मञ्च दिएर आफूलाई सम्मान गरेकामा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हर्कमान तामाङले यस्ता कार्यक्रमले अग्रजको सम्मान हुने विचार व्यक्त गर्दै निरन्तरताको कामनासमेत गरे।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्ष डा. छवि वैरागी घिमिरेले गजल के हो, के होइन भन्ने सैद्धान्तिक विवाद गर्नुभन्दा स्रष्टाको काम लेख्ने रहेकाले लेख्न छोड्न नहुने विचार व्यक्त गरे।
शिक्षा सन्देश इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक विशाल राईले अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रममा सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे।
उक्त कार्यक्रममा बेलबारी र सुन्दरहरैँचामा रहेका विभिन्न साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ को सञ्चालनमा भएकाेकार्यक्रममा डा. छवि वैरागी घिमिरे, रमेश निरौला, तिला लेकाली, चिरञ्जीवी काफ्ले र एकराज भट्टराईले एकएक गजल वाचेका थिए।
उक्त कार्यक्रममा विदुर सुवेदी, शेखर थापा मगर, सञ्जीव धिमाल, शारदा दाहाल भण्डारी, आइतराज लिम्बू, सुन्दर भट्ट, दीपक नेपाल, हिरा खड्का, जुनु बुढाथोकी, राजु परियार लगायका स्रष्टाकलाकारहरूको उपस्थिति थियो।
लामो समयदेखि गजल लेख्तै आएका गजलकार अभागी पूर्व आएको अवसर पारेर उनको सम्मानार्थ एकल गजल वाचनको आयोजना गरिएको आयोजकले जनाएका छ।
प्रकाशित: २४ पुस २०८२ ०८:१८ बिहीबार



-600x400.jpg)

