२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

गण्डकीको पुरानो संस्कृति ‘कृष्ण लिला’ अब चलचित्रमा

लोपोन्मुख बालन नाच अर्थात श्रीकृष्ण लिला अब चलचित्रमा हेर्न पाईने भएको छ । विशेषतः गण्डकी क्षेत्रमा भगवान श्रीकृष्ण जन्मेको अवसरमा मनाईने श्रीकृष्ण जन्माष्टमीमा देखाईने यो नाचलाई केन्द्रित गरेर पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानले नेपाली कथानक चलचित्र बनाएको हो । पोखरामा बालन नाचको संरक्षण, सम्वद्र्दन र प्रवद्र्दन गर्दै बालन नाच प्रदर्शन गर्दै आएको सो प्रष्ठिानले गण्डकीको लोपोन्मुख अवस्थामा पुगेको सो नाचलाई पुर्नजागरण गर्ने उद्देश्यले ‘श्रीकृष्ण’ नाममा चलचित्र निर्माण गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए । चलचित्रका निर्माता तथा निर्देशक गौतम लामो समय विदेश अध्ययन गरेर फर्किएका हुन् भने उनले ६ सय भन्दा बढी गीतहरुमा निर्देशन गरिसकेका छन् ।

चलचित्र दुई महिना लगाएर शुटिङ गरिएको चलचित्रका निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए । चलचित्रको पोष्ट प्रोडक्सनको कामसमेत सकिईसकेको बताउँदै उनले भने,‘चलचित्र सेन्सर बोर्डबाट पनि पास भइसकेको छ । अब प्रदर्शनको तयारीमा छौं ।’ चलचित्रमा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम र सदस्यहरु कृष्णबहादुर विश्वकर्मा, लक्ष्मी गुरुङ र तुलसी अधिकारीलगायतको लगानी छ ।

चलचित्रमा भगवान कृष्णको जन्मसँगै राक्षस कंशको अन्त्यसम्मलाई कलात्मक रुपमा देखाइएको उनले बताए । सत्यको सँधै जित हुन्छ तर त्यसका लागि कुर्नु पर्छ भन्ने मुल सन्देश चलचित्रले बोकेको उनले प्रष्ट्याए । डेढ घण्टा लामो यस चलचित्रमा कलाकारहरु  नवीन ढुङ्गाना, शिव पराजुली, प्रजापती गौतम, सरिता दानकोटी, विष्णु सुवेदी, सत्तोष गौतमलगायतका सय भन्दा बढि कलाकारको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन श्रीकान्त सिग्देलले गरेका छन् भने सम्पादन सगुन सिग्देलले गरेका छन् । चलचित्रमा पटकथा तथा श्रींगार तुलसी अधिकारी गरेका छन् ।

चलचित्रमा चार वटा गीतहरु रहेका छन् । जसमा संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतम, तारापति सुवेदी, कल्पना सुवेदी, सरला पाण्डेलगायतको स्वर रहेको छ भने संस्थाका अध्यक्ष तथा चलचित्रका निर्देशक कृष्णप्रसाद गौतम आफैले संगीत दिएका छन् । ध्वनी मिश्रणमा भरत सुनार र रेकर्डिङमा छवि सुवेदी रहेको उनले जानकारी दिए ।

बालन नाच पोखरा र गण्डकीको सेरोफेरोमा प्रचलित छ । केहीसमय अघिसम्म संयौ कलाकार राखेर देखाईने यो नाच पछिल्लो समयमा कलाकार र आर्थिक अभावका कारण देखाउन समस्या पर्दै आएको छ ।

चलचित्र तयार भए पनि नेपालमा तत्काल नदेखाईने भएको छ । शुरुमा विदेशमा देखाईने र नेपालमा चुनावी माहोल सेलाएपछि मात्रै देखाउने तयारीमा आफूहरु रहेको उनले बताए ।

प्रकाशित: ११ फाल्गुन २०८२ १९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App