आधुनिक नेपाली कला जगत्मा छुट्टै पहिचान बनाएका चित्रकार हुन् इन्द्र प्रधान। प्रधानको व्यक्तित्व मूलतः ‘मखुन्डो कला’को सिर्जनामा चर्चित रहेको पाइन्छ। प्रधानको जन्म नै स्रष्टा–सन्तानका रूपमा भएको थियो। उनका पिताजी गंगाप्रसाद प्रधान हास्यव्यङ्ग्य क्षेत्रमा संलग्न थिए। आमा दमयन्ती श्रेष्ठ गायिका थिइन्। बाल्यकालदेखि नै इन्द्र प्रधानको सिर्जना यात्रालाई पितामाताको सहयोग र प्रोत्साहन निरन्तर प्राप्त भयो।
प्रारम्भमा नाटकमा अभिनय र गायनमा सक्रिय प्रधानले युवावस्थामा आफूलाई चित्रकलामा अभ्यस्त बनाउन थाले। उनले प्रारम्भमा उषा, जुनेली, आवाज आदि वार्षिक मुखपत्र प्रकाशनमा आवरण चित्र बनाए।
बम्बईमा अध्ययनका सिलसिलामा उनले ‘भिजन ७०’ शीर्षकमा कला प्रदर्शनी गरे। २०२७ सालमा नेपालमा ‘भिजन ७१’ शीर्षकमा एकल कला प्रदर्शनी गरेका थिए। २०२८ सालमा बम्बईबाट उच्च शिक्षाको अध्ययन पूरा गरी नेपाल फर्केका शशी शाह, कृष्ण मानन्धार, वत्स गोपाल वैद्यसँग मिली ‘स्किव–७१’ समूहको सुरुवात भएपछि सामूहिक कला प्रदर्शनीहरू वर्षैपिच्छे हुन थाले। स्किव-७१ समूहमा इन्द्र प्रधानको सक्रियता अनवरत रह्यो।
चित्रकला यात्रामा प्रधानले कैयौं प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरे। सन् १९६९ मा भएको दशौं महाराष्ट्र स्तरीय कला प्रदर्शनीमा प्रथम पुरस्कार, सन् १९७६ मा राष्ट्रिय कला प्रदर्शनीमा दोस्रो पुरस्कार, सन् १९७७ मा प्रथम पुरस्कार प्राप्त गरे। यस्तै उनले सन् १९७२ मा स्विट्जरल्यान्डमा भएको अन्तर्राष्ट्रिय क्यालेन्डर पेन्टिङ प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरे भने २०४४ सालको इन्द्रराज्य लक्ष्मी पुरस्कारद्वारा उनी सम्मानित भए।
प्रधान ‘स्किव ७१’ समूहका एक सक्रिय कला अभियन्ताका रूपमा रहे। उनको कलाशैलीलाई अमूर्त शैली मानिएको पाइन्छ। दृश्यलाई अर्थपूर्ण रूपमा सुन्दर रंगशिल्पीसाथ प्रस्तुत गरिने कलाशैलीलाई मूर्त शैली मान्न सकिन्छ। कलामा प्रस्ट दृश्यको आकारबिना नै अर्थात् दृश्यको आकारहीनताभित्रैबाट भाव पहिल्याउनुपर्ने उत्सुकता अमूर्त कलाले उत्पन्न गराउँछ भन्ने कला समालोचकहरूको धारणा पाइन्छ।
प्रधानका कलाको समीक्षा गर्दै कला समीक्षक नारायणबहादुर सिंहले भनेका छन्, ‘वस्तुतः विषयका दृष्टिले इन्द्रका चित्रलाई उहाँको अवचेतनका अमूर्त अभिव्यक्ति भन्न सकिन्छ। यथार्थ खोज्ने हो भने उहाँका चित्रमा सहर, सहरका घर, मान्छे, अरू प्राणी एक्लै देखा पर्नेछन्, तर ठम्याउन अप्ठ्यारो पर्नेछ। यही अप्ठ्यारो आजको कला धाराको विशेषता हो।
सबै कुरा छर्लङ्ङ र उदाङ्ग भएमा रहस्य हराउँछ, रहस्य हराएमा यथार्थ खोज्ने उत्सुकता मर्छ। यसो भयो भने आजको कलाको यो विशिष्ट पक्ष अमूर्तताको निर्वाह नै हुन सक्दैन। यसै परिप्रेक्षमा इन्द्रका कृतिलाई हेरिनुपर्छ।’
‘स्किव–७१’ को प्रथम सामूहिक कला प्रदर्शनीका क्रममा प्रदर्शित इन्द्रका कलाकृतिको समीक्षा गर्दै समीक्षक नारायणबहादुर सिंहले भनेका कुरालाई उनका त्यसभन्दा पछिका अमूर्त बान्कीका कलाकृतिलाई पनि लक्षित गरेर बुझ्न सकिन्छ। उनको चित्रकलालाई अर्धमूर्त शैलीका कलाका रूपमा पनि समीक्षकहरूद्वारा अथ्र्याइएको पाइन्छ।
परावस्तुवादी कल्पनाशीलता आफैंमा अर्थ प्राप्त गर्ने प्रयत्न हो। यसै कल्पनाशीलताबाट निर्देशित भई कलाकार प्रधान चित्रकला यात्रामा अघि बढे। उनको ‘भिजन’ र ‘कलादृष्टि’ शीर्षकमा प्रदर्शित चित्रकला वस्तुजगत्बाट नभई मानवीय संवेग वा अन्तरदृष्टिद्वारा निर्देशित रहेको बुझ्न सकिन्छ। इन्द्र प्रधानको बहुचर्चित कला शृंखला ‘मुखुन्डो’ रहेको पाइन्छ।
दृश्यबाट अदृश्य वस्तुजगत्कै माध्यमबाट तिनका रहस्यहरूको अन्वेषण एवं बाह्य यथार्थभित्र लुकिरहेको अन्तरजगतको खोजी कलाकार प्रधानको साधनाको अन्तर्य रहेको अनुभूत हुन्छ। परावस्तुवादलाई कलाको भाषामा अति यथार्थवाद वा सर्रियालिजम पनि भन्ने गरिएको पाइन्छ। उनलाई ‘अमूर्त अभिव्यञ्जनावादी शैलीका कलाकार’ भन्नु उपयुक्त हुने विचार कला समीक्षक नारायणबहादुर सिंहले व्यक्त गरेका छन्।
प्रधानले अनेक अवधारणामा शृंखलाबद्ध रूपमा चित्रकलाको सिर्जना गरेका थिए। सन् १९६९–७२ सम्म सिटी स्केप, १९७२–७४ सम्म पशुपक्षी र धार्मिक प्रतीक, १९७४–७५ सम्म मन्दिरहरू, १९७५–७६ सम्म अमूर्त दृश्यहरू, १९७७–७८ सम्म हिमालका अर्धअमूर्त चित्र, १९७८–७९ सम्म हिमालका मूर्त चित्रहरू, १९७९–८१ सम्म अमूर्त चराहरू, १९८१–८३ सम्म देवीदेवताहरू, १९८३–८५ सम्म मुखुन्डो, १९८५–८६ सम्म नारायणका चित्रहरू आदि उनका शृंखलाबद्ध चित्रकला रहे।
कलाकार प्रधानका चित्र शृंखलाको सूची हेर्दा उनले मूर्त र अमूर्त दुवै शैलीमा आफूलाई अभ्यस्त बनाउँदै आएका थिए भन्ने ज्ञात हुन्छ। कला रचना गर्दा विषयवस्तुलाई प्रस्ट्याउने क्रममा मिहिनेत गर्नुपर्ने उनको भनाइ पाइन्छ।
प्रधानले स्वयंलाई अमूर्त कलाशैलीको पक्षमा उभ्याएका थिए। उनले कलामा अमूर्त शैली परम्परा र सामाजिक वातावरणबाट पृथक् पहिचानको अपेक्षासाथ आरम्भ भएको आशय व्यक्त गरेका छन्, ‘परम्परा एवं सामाजिक वातावरणदेखि अलग्गिन नसक्ने र त्यसैमा रमाउनेहरूले आधुनिक खास गरेर अमूर्त रूपमा कलाको विरोध गर्नु स्वाभाविकै हो।
रङ पोत्छन् कला भन्छन् भन्नेहरूको संख्या धेरै र थोरैको प्रश्न साहित्य, संगीत र कलामा ल्याउनुहुन्न। शाकुन्तल महाकाव्यका काव्यकारलाई हामी भुल्न सक्दैनौं। देवकोटा अमर छन्। विरोध र समर्थन त मानव स्वभाव हो।’ (वार्ताकार: मुकेश मल्ल, गरिमा, २०४४)
चित्रकला मूर्त र अमूर्त हुनुमा रङ र रेखाको संयोजनकै महत्त्वपूर्ण भूमिका रहने कुरा इन्द्र प्रधानले बताएका छन्, ‘अमूर्त भए रङ संयोजन नै मुख्य मापदण्ड हो। मूर्त भए रेखा र रङ संयोजन नै हो।’
मूर्त र अमूर्त कलाको प्राविधिक पक्ष बुझ्न प्रधानको यो भनाइ महत्त्वपूर्ण देखिन्छ।
आधुनिक कलामा नयाँपन रहनुपर्ने विचार प्रधानको पाइन्छ। भाषा जन्मनुभन्दा पहिल्यै कलाको जन्म भएको हो। भाषामा भन्दा कलामा अभिव्यक्तिको प्रबलता रहन्छ। मान्छे स्वयं अमूर्तताको प्रतीक हो। आधुनिक कलामा कल्पनाशीलताको अधिक प्रयोग हुँदै आएको कुरा कलाकार प्रधानले व्यक्त गरेका छन्, ‘नयाँपन नै आधुनिकता हो। कलाले पनि खोजी गर्ने क्रममा आफूलाई अगाडि राखेको छ।
भाषा जन्माउने नै चित्रकला हो। एलिनभिन्सवर्ग भन्छन्– भाषा बुढाबाजेका गीजाले मात्र बोलिएको जस्तो छ। रङमा जीवन छ। त्यहाँ भाषाभन्दा प्रखर अभिव्यक्ति पाइन्छ। कला कुनै पनि कलामा सजग भएर देखा पर्छ। अब आधुनिक कला भन्नाले अमूर्त कलालाई संकेत होला। प्रत्येक मान्छे कृत्रिम अमूर्तका प्रतीक हुन्। त्यसैले प्रत्येक क्षणमा आकाश पाताल जोडिदिने भावनाका तरङ्गहरूले अमूर्त रूपमा जब प्रवेश गर्छ, तब कलाकार सामान्य जनमानसमा मिल्न नसक्ने बन्छ। आजको आधुनिक कला यस्तै छ।’
कलाकार इन्द्र प्रधानको व्यक्तित्व बहुआयामिक रहेको प्रतीत हुन्छ। उनी सांगीतिक क्षेत्रमा पनि अभिरुचि राख्थे। उनी इलाम, करफोकबाट प्रकाशित ‘जुनेली’ पत्रिकाको संस्थापक/सम्पादक रहेको जानकारी पाइन्छ। उनले इलाममै रहँदा कतिपय नाटक प्रदर्शनीमा अभिनय पनि गरेका थिए। कविता तथा कथा लेखनमा उनको अभिरुचि थियो।
विभिन्न क्षेत्रमा अभिरुचि र संलग्नता रहे पनि उनको ख्याति र प्रतिभा चित्रकलाबाटै फैलियो, विस्तारित भयो। यसैमा उनी अमर रहेका छन्।
प्रकाशित: १७ श्रावण २०८२ ०८:१४ शनिबार