भारतको लोकप्रिय टिभी कार्यक्रम ‘क्युंकी सास भी कभी बहू थी’ फेरि प्रसारण हुन थालेको छ । मंगलबार राति पहिलो एपिसोड प्रसारण भएसँगै दर्शकहरूले पुराना सम्झनाहरू ताजा गरेका छन्।
यो कार्यक्रमको पुनरागमनले स्मृति इरानीको तुलसी विरानीको प्रतिष्ठित भूमिकालाई पुनर्जनम दिएको छ । २५ वर्षपछि टेलिभिजनमा फर्किएकी स्मृति इरानीले आफ्नो अभिनय र आकर्षणले फ्यानहरूको मन जितेकी छन् । सामाजिक सञ्जालमा फ्यानहरूले उनको कमब्याकको खुलेर प्रशंसा गरेका छन् ।
स्मृति इरानीले ‘क्युंकी सास भी कभी बहू थी’ मार्फत टेलिभिजनमा आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई घर-घरमा चिनाएको थियो । तुलसी विरानीको भूमिकाले उनलाई २००० को दशकमा टेलिभिजनको आइकन बनाएको थियो । राजनीतिमा सक्रिय भएर मन्त्रीसम्मको जिम्मेवारी सम्हालेपछि उनले अभिनयबाट लामो ब्रेक लिएकी थिइन् ।
उनको फिर्तीले दर्शकहरूमा उत्साह जगाएको छ । एक फ्यानले लेखेका छन्, ‘तुलसीको प्रवेश र स्मृति इरानीको आकर्षण उस्तै छ । यो पुरानो र नयाँ पुस्तालाई जोड्ने कार्यक्रम हो ।’ अर्काले भने, ‘स्मृति म्याडमको अभिनय र भव्यताले फेरि मन जित्यो । यो नोस्टाल्जियाले भरिएको क्षण हो ।’
सामाजिक सञ्जालमा स्मृतिले आफ्नो कमब्याकबारे भनेकी छन्, ‘मैले मिडिया र राजनीतिमा २५ वर्ष काम गरेको छु । मन्त्रीको जिम्मेवारीले एक दशकको ब्रेक लिनुपरे पनि मेरो संगठन र दर्शकप्रतिको समर्पणमा कहिल्यै सम्झौता गरेको छैन । यो फिर्ती मेरो लागि भावनात्मक यात्रा हो ।’
शोको पुनरागमनसँगै यसको तुलना ‘अनुपमा’सँग हुन थालेको छ । एकता कपुर भन्छिन्, ‘शो र मुख्य पात्रको तुलना अनावश्यक छ । हामी हाम्रो कथा भन्न फर्किएका हौँ ।’ ‘अनुपमा’की अभिनेत्री रुपाली गांगुलीले भनिन्, ‘स्मृति इरानीको ‘क्युंकी’ हाम्रो च्यानलको गर्व हो । यो पुरानो याद हो, तुलना गर्न मिल्दैन ।’ शोमा इरानीसहित शक्ति आनन्द, गौरी प्रधान, अमर उपाध्यायलगायत पुराना कलाकारहरू छन् । एजेन्सी
प्रकाशित: १४ श्रावण २०८२ २१:४३ बुधबार





