१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

आमाका सम्झनामा बाँचेका लोकगीत

जीवनशैली

नेपाल गीतमय छ। हिमाल, पहाड, तराई, मधेसका कुनाकुनामा हृदयका गीतहरू अर्थात् लोकगीतहरू लटरम्म फुलेका हुन्छन्। चौंरीखर्क र भेडीगोठहरूमा, लेकाली कन्दरामा, चिसा चौतारीहरूमा अनि हिमाली सिरेटोले थर्थराएका ओठहरूमा नेपाली हृदय ब्युँझन्छ। गुराँसका घारीभित्र सुसाएका भाखाहरू पारिपट्टिको हिमाली भिरबाट प्रतिध्वनित हुन्छन्। हिमालले हिमाली ढुकढुकीलाई बोलाउँछ। पहाडी प्रदेश त झन् लोकगीतहरूको अन्तहीन मुहान नै हो। तराईका आलीहरू र बुकुरीहरूमा उसैगरी नेपाली आँसु, हाँसो र सुस्केराहरूले विश्राम पाउँछन्। लोकभाकाहरू वास्तवमा नेपाली अन्तरआत्माका ध्वनि हुन्।

लोकभाका सनातन सामाजिक संस्कृतिका अभिन्न धड्कन हुन्। मानव समाजको विकासक्रमसँगै लोकभाकाहरूको पनि विकास हुँदै आएको मान्न सकिन्छ। आदिम समाजमा मानिसले आफूलाई दुःख आइपर्दा मन बुझाउन स्वःस्फूर्त भाषिक गुञ्जनको सहारा लियो होला। पुरुष जातिले काममा जाँदा थकाइ लागेर एकछिन सुस्ताउँदै लय मिलाएर गुनगुनाए।

 यस्तै नारी जातिले एक्लै भएका बेला एक्लोपन मिटाउन मनका भावुक तरंगलाई शब्दमा उतार्न थाले। पछि आएर कृषि युग सुरु भएपछि पसिनामय मेलापात, घाँसदाउरा, ढिकीजाँतो, पानीपँधेरो गर्दाका क्षणलाई हलुका बनाउन आआफ्नै परिवेशका भाका कथ्न थालिए। प्रारम्भिक समयका ती सुस्केरालाई समयले मेटिदियो। युगौंयुग बिते÷बित्दै आए। हरेक पुस्ताले भाका हाल्दै आफ्ना अन्तरव्यथालाई लयबद्ध गर्दै आउँदा सयौं पुस्तासम्म पनि तिनको कुनै अभिलेखन भएन।

हाम्रा पुर्खाले गोठमा बस्दा, भिरमा घाँस काट्दा, भारी बोकेर उकालो ओरालो गर्दा, हाटबजार जाँदा आउँदा कति कथाव्यथाका सुस्केरा हाले होलान्, कति खुसी र हर्षका हाँसो गुन्जाए होलान्, ती सबैमा उनीहरूकै हृदयका गीतहरू मिसिएका थिए। यस्तै, हाम्रा जिजुआमैहरूले घरको बुहार्तन कति खपे होलान्, कति आँसु पिए होलान्, कति पानी पँधेरा, मेलापात गरे होलान्, जीविकोपार्जन एवं सामाजिक व्यवहारका लागि ग्रामीण परिवेशमा यी र यस्ता काम बाध्यात्मक रूपमा सबैले गर्नै पर्थ्याे। बाध्यात्मक नै भए पनि ती सहजतापूर्वक गरिन्थे। गाउँघरमा सबैले गर्ने काम भएकाले घरायसी कामधन्दा, ढिकीजाँतो, मेलापात, घाँसदाउरा, हाटबजार आदि काम गर्दा सुखदुःखका गीत कथ्दै गाउँदै गर्थे। कामलाई सम्मान गर्ने मनोभाव रहन्थ्यो। शारीरिक दुःख भए पनि दुःखको अनुभूति भन्दा कर्तव्यको बोध बढी हुन्थ्यो। दुःखलाई सहजतापूर्वक स्विकार्दै मनका पिरव्यथा, आँसुहाँसोलाई स्वस्फूर्त रूपमा लयबद्ध भाका हाल्दै परिआउने काममा लागिपर्नु हजुरआमा वा आमा पुस्ताका नेपाली नारीहरूको दिनचर्या नै रह्यो।

२०३० सालको दशकसम्म गाउँघरमा रेडियोको पहुँच पनि त्यति थिएन। अन्य अत्याधुनिक सञ्चार माध्यमको त झन् कल्पना नै गर्न सकिँदैनथ्यो। त्यस्तो बेलामा ग्रामीण जीवनका लागि मनोरञ्जनका माध्यम भनेका ठाउँ र परिवेशअनुसार मेलापात, हाटबजार, चौतारी, बिसौनी आदिमा गुन्जिने भाकाहरू थिए। हाम्रा लोकगीतहरू थिए। रेडियो सुन्ने क्रम गाउँघरमा पनि बढ्दै गएसँगै लोकगीत कथ्न र गाउने क्रममा पनि शिथिलता आउन थाल्यो।

 गाउँबेसीका सहज सुस्केराहरू मिसिएका लोकगीतहरू गाउने पुस्ताको गलालाई रेडियो सुन्दै हुर्केको तीसको दशकयता जन्मेको पुस्ताले क्रमशः पछ्याउन छोड्यो। सँगसँगै मौलिक लोकगीतमय वातावरणमा कमी आउन थाल्यो। क्रमशः टेलिभिजन र साठीको दशकसँगै भित्रिएको मोबाइल र त्यसले विस्तार गर्दै ल्याएको सामाजिक सञ्जालको अनियन्त्रित प्रभावको परिणाम गाउँघरको मौलिक लोकगीत पनि अब क्रमशः अतीतको बिर्सिएको सुस्केरा बन्न पुगेको छ। हाम्रा लोकगीतहरू यदाकदा आठ÷नौ दशकको उमेर पार गरिसकेका आमाहरूको गलाका मधुरा गुनगुनमा सीमित हुन पुगेका छन्।

यी पंक्तिसँगै म आमाले गुनगुनाउने गरेका केही लोकगीतहरूलाई उधृत गर्दै छु। आमा गोमाकुमारी धमलाको त्रियान्नब्बेऔं जन्मोत्सव मनाइयो। २०८३ वैशाख आमाको जन्म महिना हो। ती छोरी र चार छोराहरूकी जन्मदात्री ममतामयी आमा उमेरले त्रियानब्बे भइसक्नु भए पनि उमेरअनुसार स्वस्थ नै हुनुहुन्छ। शारीरिक कमजोरी हुने नै भयो तर स्मृति भने ताजा नै छ। वल्लोपल्लो कोठा आउजाउ गर्दा वा एक्लै बसेका बेला आफ्नो समयका लोकगीतहरू गुनगुनाउनुहुन्छ।

‘अचार मिठो अमिलाले चाना मिठो घिउले

तिम्रो घरमा आउनु र जानु तमाखुको निउले।’

‘हिमालचुली त्यै पल्लोपट्टि खेत हुन्छ हुँदैन

कहाँको तिमी कहाँको हामी भेट हुन्छ हुँदैन।’

‘हाती है आयो लमक लमक घोडाले हान्यो फाल

कांग्रेसै आयो बन्दुकै बोकी बैरीले मार्‍यो चाल।’

‘ओलखढुंगा बजारैमा आनामानु तेल

फकाउनेलाई जरिवाना लैजानेलाई नेल।’

‘अस्ताए तारा झुल्के घाम

के छ है नानी तिम्रो काम।’

आमाका मनका अन्तरकुन्तरमा बाँचेका लोकगीतका फाँकीहरू कैयौं छन्। कुनै कुनै त रेडियोमा सुनिएका गीतका पंक्ति पनि मिसाएर लयमा गाउनुहुन्छ। आमा जब गुनगुनाउन थाल्नुहुन्छ, ७०/८० वर्ष पहिलेको गाउँघरका सुस्केराहरूलाई अनुमान गर्न पुग्छु म। काठमाडौंमा निर्मित एउटा कंक्रिटे घरका कोठाको झ्यालबाट बाहिर आमाको गुनगुन सुनिँदैन। झ्यालबाहिर सडकको कर्कश यान्त्रिक ध्वनि र खलबलले आमाको मधुरो स्वरलाई ढाकिदिन्छ। सहरिया खलबलले मानिसको अन्तरको ध्वनिलाई प्रस्फुटन हुन दिँदैन। सहरिया यान्त्रिक संस्कृतिले ग्रामीण हृदयलाई बिस्तारै सुकाउँदै लगेको छ। हामीभित्रको मौलिकपना मैलिँदै गइरहेछ। हामी कृत्रिमतामा रमाउन र बाँच्न अभ्यस्त भइसकेका छौं।

म सम्झन्छु, खेतबारीमा काम गर्दा आमाको स्वरमा स्वर मिसाएर खेतालाहरू गाउँथे। गीत गाउँदै काम गर्दा मेलो सकिएको पत्तै हुँदैनथ्यो। फेरि अर्को गरोमा उसैगरी सबै गाउँथे। साँझ परेपछि खेतालाहरू बिदा भएर गीत गाउँदै घर जान्थे। आमा अलि झमक्क भएपछि केही घाँसपात बोकेर अह्राउपह्राउ गर्दै घर फर्किनुहुन्थ्यो। मेलापात गर्दाका तिनै र त्यस्तै रहलपहल गीतहरू हुन् आमाले यसबेला गुनगुनाउने गरेका लोकगीतहरू। आमाले गाएका लोकगीतहरू आमाका समकालीन नेपाली नारी वर्गका साझा ढुकढुकी हुन्, सुस्केरा हुन् र साझा अनुभूतिका सांगीतिक प्रतिध्वनि हुन्।

लोकगीतहरूले समाजको धड्कन बोल्छन्। तिनमा अतीतको सामाजिक, आर्थिक, सांस्कृतिक परिवेशबाट उत्पन्न साझा अनुभूति झङ्कृत हुन्छ। समाजको इतिहास बुझ्ने सांस्कृतिक जीवनका रेसाहरू, तन्तु हुन् लोकगीतहरू। लोकगीत नेपाली लोकसंस्कृतिको अभिन्न आत्मा हो।  

प्रकाशित: ६ असार २०८३ ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App