३० कार्तिक २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘राष्ट्रिय हाइकु वाचन’ आरम्भ, डा. दुवसु क्षेत्रीलाई हाइकु सम्मान

नेपाल हाइकु सङ्घ केन्द्रीय समितिले राष्ट्रिय हाइकु वाचन शृङ्खला–१ सुरु गरेको छ।

नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा हाइकु कवि मोहन दुवालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा सङ्घका महासचिव पुष्करराज बुढाथोकी साउँतेलीले अतिथिहरूलाई शब्दमार्फत स्वागत गरेका थिए।

अतिथि दुवालले ब्यानर पढेर 'राष्ट्रिय हाइकु वाचन' शृङ्खला -१ को उद्घाटन गरेका थिए।

नेपाल हाइकु सङ्घ केन्द्रीय समितिले नेपाली हाइकु लेखनकाे क्षेत्रमा योगदान गरेवापत हाइकुकार डा.दुवसु क्षेत्रीलाई 'हाइकु सम्मान-२०८०' अर्पिएकाे थियाे। सम्मानित क्षेत्री नेपाल सरकारका पूर्वराजदूत हुन्। उनले हाइकु लेखनका स्थापित सिद्धान्तलाई नेपाली हाइकु कविहरूले पूर्ण रूपमा आत्मसात् गर्न नसकेको धारणा व्यक्त गरे।

सम्मानित व्यक्तित्व क्षेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै जापानमा साहित्यलाई उच्च महत्त्वका साथ हेरिने गरेको आफ्नो अनुभव सुनाउँदै नेपाली हाइकुको आफ्नै परिवेश र विशेषता रहेकाले जापानी र नेपाली हाइकु कविताको तुलना सिधा गर्न नसकिने बताए।

विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदीले शुभकामना मन्तव्य राख्दै हाइकु कवितालाई शास्त्रीय सिद्धान्तका आधारमा मात्रै हेर्न नहुने बताए।

त्यस्तै विशेष अतिथिहू नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसाल, पूर्व प्राज्ञसभा सदस्य तथा कवि राम विनयले हाइकु वाचन र प्रा. दिनेश चापागाईं 'गोधूलि' ले मन्तव्यसहित हाइकु वाचन गरेका थिए।

गोधूलिले कलामार्फत हाइकु प्रस्तुत गर्ने आफ्नो अभ्यासबारे अनुभव सुनाए। नेपाली र जापानी हाइकुलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्यले आफूले विभिन्न देशमा हाइकु कला प्रदर्शनी गरेको समेत बताए।

कार्यक्रमका अतिथि वक्ता, त्रिविका अध्यापक तथा समालोचक डा. विनोद मन्जनले वाचित हाइकुमाथि समीक्षा गर्दै हाइकु लेखनका सैद्धान्तिक पक्षको विवेचनासहित नेपालमा लेखिएका हाइकु कविताको सिर्जना र शिल्पपक्षमा परिमार्जन गर्नुपर्ने ओैल्याए।

कार्यक्रमका अतिथि झ्याउरे कविता पुनर्जागरण अभियानका संयोजक तथा हाइकु कवि रेणुका भट्टराई मञ्जरीले २०५० को दशकदेखि नेपाली हाइकु लेखनको विकास र गतिविधिबारे समीक्षात्मक टिप्पणी गरेका थिए।

यसैगरी अतिथि ,नागार्जुन वाङ्मयका अध्यक्ष तथा हाइकु कवि दिल पौडेलले हाइकुबारे आफ्नो दृष्टिकोण राख्दै हाइकुसमेत वाचेका थिए।

ॐ समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्त चिकित्सक डा. सुवास घिमिरेले शुभकामना मन्तव्यसहित आउँदाे कार्यक्रममा आफूले पनि हाइकु वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक तथा कवि भीम कुमाखीले हाइकु वाचनसहित मन्तव्य राखेका थिए।

यसैगरी नेपाल सरकारका पूर्व राजदुत तथा हाइकु कवि भीम उदास, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य सचिव देवेन्द्र थुम्केली, ॐ समाज डेन्टलका इन्चार्ज कुसुम, समाजसेवी रविन गुरुङ, हाइकु कवि शरद शोभा, राजुराज देव बज्राचार्य, किरण शाक्य, राजेन्द्र सुवेदी, डा. अनूप श्रेष्ठाचार्य, हिमानी आचार्य र चन्द्रमान माली लगायतको उपस्थिति थियाे।

राष्ट्रिय हाइकु वाचन शृङ्खला -१ मा नेवा: हाइकु ख्य:का अध्यक्ष सुरेश प्रधानले नेपाल भाषाको हाइकु लेखन परम्पराबारे चर्चा गर्दै नेपाल भाषामा रचित हाइकु वाचन गरेका थिए।

यसैगरी अतिथि हाइकु कविहरू कृष्णभक्त बोडे, सुधीर ख्वबि, पूर्णिमा शाक्य, धर्मकृष्ण सिकर्मी, शाक्य सुरेन र विजयरत्न तुलाधर लगायतले नेपाल भाषामा हाइकु वाचेका थिए।

अर्का अतिथि हाइकु कवि गणेश राईले वाम्बुले राई भाषामा हाइकु वाचन गरेका थिए।

ललितपुरको चापागाउँ दोबाटोस्थित 'ॐ समाज डेन्टल हस्पिटल' को सभाहलमा भएको कार्यक्रममा अतिथि हाइकु कविहरू गोपाल सञ्जेल, जुमन किरण, समाश्री, वशिष्ठ अधिकारी, नवराज सञ्जेल, राजाराम राउत, सन्तोष सिम्खडा, वैरागी जेठा, भोला ढकाल, मनोज शर्मा, सृजना सरोवर र दिनेश खरेल लगायतले हाइकु वाचन गरेका थिए।

यसरी 'राष्ट्रिय हाइकु वाचन'को पहिलो शृङ्खलालाई आयोजकले बहुभाषिक बनाउने प्रयत्न गर्नु आफैँमा महत्त्वपूर्ण देखिन्छ।

नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमलाले राष्ट्रिय हाइकु वाचन शृङ्खलाको सुरुआतसँगै नेपाली हाइकु सिर्जना, वाचन, समीक्षा र विधागत बहसलाई निरन्तरता दिने बताउँदै आफ्नो हाइकुसमेत वाचन गरेका थिए।

सङ्घका केन्द्रीय सदस्य तथा हाइकु कवि हाेमशङ्कर बास्ताेलाले सञ्चालन गरेकाे कार्यक्रममा हाइकु वाचनसँगै नेपाली हाइकुको मौलिकता र सिद्धान्त, जापानी हाइकुसँगको सम्बन्ध र विकास क्रमका बारेमा विशद् विचार विमर्श भएकाे थियाे।

प्रकाशित: ३० कार्तिक २०८३ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App