चलचित्र ‘कुमारी’ को छायाङ्कन आजबाट ललितपुरको पाटनमा सुरु भएको छ। बङ्गलामुखी मन्दिरमा गरिएको चलचित्रको शुभ मुहूर्तमा मुख्य कलाकारसँगै निर्माण टोलीको उपस्थिति थियो। दिनेश राउतले निर्देशन गरिरहेको यो चलचित्रको सम्पूर्ण छायाङ्कन ३५ दिनमा सकिने निर्माण पक्ष्यको लक्ष्य रहेको छ।
चलचित्रमा अभिषेक खड्का र आकृति राजभन्डारीको मुख्य भूमिका रहेको छ। साथै चलचित्रमा घनश्याम जोशी, सरोज लामिछाने, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खङ्का, सोनम श्रेष्ठ, सकु शाह, मनीषा शर्मा, भूपी लुहारजस्ता कलाकारहरूको अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन्। यसको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्।
चलचित्रमा सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतमा स्वर केहर सिंह लिम्बुले नै दिएका हुन्। गीत भने सागर लामिछाने, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन्। यसअघि निर्देशक राउतले आइ एम सरी, नोभेम्बर रेन र क्लासिक जस्ता सिनेमा बनाएका छन्।
प्रकाशित: १७ भाद्र २०८२ १३:५४ मंगलबार

