१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

माओत्सेको निर्देशनमा ‘पेन्सन पट्टा’ को छायांकन सुरु

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ।

कास्कीको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानकारी निर्माण टिमले दिएको हो।

गुरुङ सिनेमाका ‘गडफादर’ का रूपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ।

यो सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन्।

सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन्। यो सिनेमाको संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन्।

निर्देशक माओत्से गुरुङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’ बक्स अफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार समेत रहेका उनी पछिल्लो समय लेखन र निर्देशनमा पनि सक्रिय हुन थालेका छन्। उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए। माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन्।

प्रकाशित: ३ पुस २०८२ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App