" ल यो सधैं लगाउनुपर्छ। " टिकारामले भन्नुभयो।
" सधैं? " उसले साेध्याे।
" हो सधैं, अब कहिले पनि नफाल्नु। " टिकारामले थप जोड दिनुभयो।
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे। आमा, काकी, माइजू र फुपूहरूको भित्रबाहिर चहलपहल थियो। निम्तालुहरू व्रतबन्ध गरिने बटुकलाई भिक्षा दिन चामल र मस्यौराको पोको लिएर समयको प्रतीक्षामा थिए। पण्डित भएर आएका टिकारामजी बटुकलाई जनैधारण गर्न सिकाउँदै हुनुहुन्थ्यो। बटुकका लागि आजका सबै दृश्य नौला थिए।
" गुरु यो पुरानो भए पछि के गर्ने? " उसले आफूलाई लगाउन दिएको जनै देखाउँदै सोध्यो।
उसको बालसुलभ प्रश्न सुनेर सबै हाँसे।
टिकारामले भन्नुभयो, "पुरानो भयो, चुँडियो भने मामुसँग मागेर अर्को लगाउनुपर्छ। अब व्रतबन्ध भए पछि छोड्नु भएन।"
उसले यताउति हेर्यो। आफ्नो बाउलाई देखेपछि टिकारामतर्फ हेर्दै भन्यो, " गुरु, हाम्रो ड्याडीको पनि व्रतबन्ध गरैदिउँ न उहाँको त जनै नै छैन।"
प्रकाशित: २९ फाल्गुन २०८२ ०८:५६ शुक्रबार




