सामाजिक सञ्जालकी चर्चित अमेरिकी कन्टेन्ट क्रिएटर सिड्नी टोवलेको २६ वर्षको उमेरमा निधन भएको छ। दुर्लभ क्यान्सरका कारण उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ।
अगस्ट २०२३ मा उनलाई पित्त नलीको आक्रामक क्यान्सर (कोलान्जियोकार्सिनोमा) भएको पत्ता लागेको थियो। उनकी आमा एलिजाबेथ मोरो र भाइ अस्टिन टोवलेले उनको टिकटक खातामा मृत्यु पुष्टि गर्ने भिडियो राखेका छन्।
भाइले भने, ‘कोलान्जियोकार्सिनोमासँग लगभग तीन वर्ष लडेपछि सिड हिजो राति शान्तिपूर्वक यो संसारबाट बिदा भइन्।’ आमाले भनिन्, ‘उनले साँच्चै कडा संघर्ष गरिन्। हामी उनीमाथि गर्व गर्छौं। वर्षौंदेखि समर्थन गर्ने सबैलाई धन्यवाद। उनी कहिल्यै बिर्सिइने छैनन्।’
परिवारले उनलाई ‘सूर्यको किरण’ र धेरैको साथी भनेर वर्णन गरेका छन्। सिड्नी एलिजाबेथ टोवले नोभेम्बर १५, १९९९ मा अमेरिकाको म्यासाचुसेट्समा जन्मेकी थिइन्। उनी फ्लोरिडामा हुर्केकी थिइन्। उनको मृत्यु मेरील्याण्डको राष्ट्रिय स्वास्थ्य संस्थानमा भएको हो।
रोग पत्ता लाग्नुअघि नै उनी सामाजिक सञ्जालमा सक्रिय थिइन्। समुद्र तटका भिडियो, बाहिरी गतिविधि, सर्फिङ र दौड आफ्ना शौक थिए। २३ वर्षमै रोग पत्ता लागेपछि पनि उनले सकारात्मक सोच राख्दै आफ्नो जीवन, उपचार र संघर्षका भिडियो सेयर गर्न थालिन्। टिकटकमा उनका १० लाखभन्दा बढी फलोअर थिए।
रोग पत्ता लागेको केही दिनमै उनले भनेकी थिइन्, ‘म राम्रो छु, मुस्कुराइरहेकी छु। यसले मलाई जीवनको अझ बढी कदर गर्न सिकायो।’ त्यसपछि उनी अस्पतालको ओछ्यानबाट, केमोथेरापी गर्दा र साथीहरूसँग घुम्दाका भिडियो सेयर गर्थिन्।
उनकी आमाले भनेकी थिइन्, ‘हजारौं मानिसले उनलाई सन्देश पठाउँछन्। उनको भिडियोले धेरैलाई आफ्नो संघर्षमा आशा दिएको छ।’ टोवले २०२२ मा डार्टमाउथ कलेजबाट स्नातक भएकी थिइन्। उनले सरकारी र वातावरणीय अध्ययन गरेकी थिइन्। एपिक गेम्समा सामाजिक सञ्जाल प्रबन्धकको रूपमा काम पनि गरिन्।
उनले क्यान्सर अनुसन्धानका लागि पैसा जुटाउन नोभेम्बर २०२६ को न्यूयोर्क म्याराथन दौड्ने योजना बनाएकी थिइन्। उनले १० हजार डलरभन्दा बढी उठाइसकेकी थिइन्।
‘म्याराथन दौड्नु पागलपन जस्तो लाग्न सक्छ,’ उनले भनेकी थिइन्। ‘तर आशाले हामीलाई बाँच्न र अगाडि बढ्न मद्दत गर्छ।’ उनकी आमा र भाइ छन्। बुबा फिलिप टोवलेको सन् २०१६ मा निधन भएको थियो। एजेन्सी
प्रकाशित: २२ श्रावण २०८३ १२:३८ शुक्रबार





