१० भाद्र २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

चर्चित अमेरिकी गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन

अमेरिकी कन्ट्री म्युजिककी चर्चित गायिका डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ।

टेनेसीको पहाडी क्षेत्रबाट संगीत यात्रामा आएकी पार्टनको न्याशभिलस्थित भ्यान्डरबिल्ट-इन्ग्राम क्यान्सर सेन्टरमा निधन भएको उनका प्रचारक मार्सेल पेरिसोले बताएका छन्। ‘क्यान्सरसँगको छोटो लडाइँको साहसपूर्वक सामना गरेपछि डलीले प्रियजनहरूले घेरिएको अवस्थामा आफ्नो जीवन बिताएकी थिइन्,’ पेरिसोले विज्ञप्तिमार्फत बताएका छन्।

पार्टन ‘जोलेन’, ‘कोट अफ मेनी कलर्स’ र ‘आई विल अलवेज लभ यू’ जस्ता चर्चित गीतका लागि विश्वभर परिचित थिइन्। उनका गीतको विश्वव्यापी बिक्री १० करोडभन्दा बढी रहेको छ भने अनलाइन स्ट्रिमिङ एक अर्बभन्दा बढी पुगेको छ।

१२ सन्तानमध्ये एकका रूपमा गरिब परिवारमा हुर्किएकी पार्टनले बाल्यकालदेखि नै संगीतमा रुचि राखेकी थिइन्। १० वर्षको उमेरमै स्थानीय टेलिभिजन कार्यक्रममा गीत गाउन र गितार बजाउन थालेकी उनी १३ वर्षको उमेरमा न्याशभिलको ग्रान्ड ओले ओप्रीमा पुगेकी थिइन्।

१९७० को दशकमा ‘जोलेन’ले उनलाई ठूलो चर्चामा ल्याएको थियो। त्यसपछि ‘आई विल अलवेज लभ यू’ गीतले उनको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको थियो। पछि ह्विटनी ह्युस्टनले यही गीतको नयाँ संस्करण गाएपछि गीत विश्वव्यापी रूपमा अझ चर्चित भएको थियो।

पार्टन गायिका मात्र नभई अभिनेत्री, गीतकार, व्यवसायी र परोपकारीका रूपमा पनि परिचित थिइन्। उनले ‘९ टु ५’लगायत चलचित्रमा अभिनय गरेकी थिइन्। पूर्वी टेनेसीमा डलिउड थिम पार्क सञ्चालनमा ल्याएकी उनले बालबालिकालाई निःशुल्क पुस्तक उपलब्ध गराउने इम्याजिनेसन लाइब्रेरीलगायत विभिन्न परोपकारी काम पनि गरेकी थिइन्।

उनले ५५ पटक ग्रामी अवार्डको मनोनयनमा परेर १० अवार्ड जितेकी थिइन्। कन्ट्री म्युजिक हल अफ फेममा समावेश पार्टनलाई रेकर्डिङ एकेडेमीले लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरेको थियो।

पार्टनले आफ्नो राजनीतिक विचार सार्वजनिक रूपमा कमै व्यक्त गर्थिन्। ‘म राजनीति गर्दिनँ,’ उनले एक पोडकास्टमा भनेकी थिइन्। विभिन्न पुस्ता र राजनीतिक विचार भएका मानिसबिच पनि उनको लोकप्रियता उत्तिकै रहेको थियो।

प्रकाशित: १० भाद्र २०८३ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App