१ आश्विन २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

चलचित्र झिँगेदाउ-२ : सम्पत्तिको लोभमा हराएकी आमाको खोजी

पारिवारिक कलहले कसरी एक वृद्धा आमालाई घरबारविहीनसम्म बनाउँछ भन्ने कथा बोकेको चलचित्र ‘झिंगेदाउ २’ यतिबेला दर्शकमाझ आएको छ। अंशबन्डाको विवाद र सन्तानको बेवास्ताका कारण घरबाट निकालिएकी तिनै आमाको खोजीलाई यस चलचित्रले आफ्नो मुख्य विषयवस्तु बनाएको छ।

निर्देशक ज्ञानेन्द्र देउजाले ग्रामीण भेगमा लुकेका यस्तै यथार्थलाई पर्दामा उतारेका छन्। देउरानी-जेठानीको इख, दाजुभाइको लडाइँ र पछुतोको भावलाई कथावस्तु बनाएका छन्।

गाउँघरमा एउटा उखान निकै प्रचलित छ, गहुँसँगै घुन पनि पिसिन्छ। सन्तान-सन्तानबीचको झगडाले वृद्धा बा-आमा पनि यसैगरि पिस्छ। त्यसैले यो उखान यस प्रसंगसँग ठ्याक्कै मेल खान्छ।

सहरबजारमा यस्ता घटना लुकीछिपी हुने गर्छन्। गाउँघरमा त अझै पनि प्रस्ट रूपमा देखिन्छ। यहि यथार्थ चलचित्रको अघिल्लो शृङ्खला ‘झिंगेदाउ’ मा थियो। एकल महिलाले अनेक दुःख कष्ट सहेर दुई छोरा हुर्काएको र विवाह गरिदिएको कथा थियो।

सुरुवाती दिनमा मिलेर बसेका देउरानी-जेठानीबीच पारम्परिक कौडा (झिंगेदाउ) खेल्दा सुरु भएको सामान्य विवादले बिस्तारै व्यक्तिगत ईर्ष्या र पारिवारिक कलहको रूप लिन्छ। त्यही मनमुटावको सिकार भएर आमाले घर छाड्नुपरेको अवस्थालाई पहिलो भागमा देखाइएको थियो।

अहिले प्रदर्शनमा आएको ‘झिंगेदाउ २’ ले त्यही अपुरो कथालाई निरन्तरता दिएको छ।

दोस्रो शृङ्खलाको कथा छुट्टिएर बसेका देउरानी-जेठानीको त्यही पुरानो रिसइबीबाट अगाडि बढ्छ। यसपटक झगडाको मुख्य कारण बन्छ, अंशबन्डामा नछुट्याइएको एउटा रूख।

त्यो रूख जेठो छोराको कि कान्छोको भन्ने विवाद चुलिँदै गएर गाउँको पञ्चायतसम्म पुग्छ। पञ्चायतले रूखको हकदार छिन्नुअघि एउटा सर्त राख्छ, आमाको खोजी गर्नू।

जसले पञ्चायतको सर्त पहिला पूरा गर्छ, रूख उसैको हुने फैसला सुनाइन्छ। यही सर्तको वरिपरि चलचित्रको मुख्य कथा बुनिएको छ। यसका साथै, तत्कालीन प्रजातन्त्र प्राप्तिको आन्दोलनको झल्कोलाई समेत चलचित्रमा निकै रोचक ढङ्गले प्रस्तुत गरिएको छ।

निर्देशकीय पक्षको समीक्षा गर्दा ज्ञानेन्द्र देउजा केही ठाउँमा चुकेको महसुस दर्शकलाई हुन्छ। चलचित्रको सुरुवाती भाग निकै सुस्त छ। दर्शकलाई केही हदसम्म निराश बनाउन सक्छ। तर, जब कथाले रफ्तार समात्छ, देउरानी-जेठानीको झगडा र नोकझोकले सिनेमा हलमा प्रशस्तै हँसाउँछ।

गाउँबाट सहर पसेका दाजुभाइले त्यहाँ भोग्नुपरेको लुटपाट, हन्डर र अमानवीय व्यवहारलाई निर्देशकले निकै सजीव रूपमा उतारेका छन्। यो चलचित्रको सबैभन्दा बलियो र सकारात्मक पक्ष हो। किनभने हाम्रो समाजमा यस्ता घटना वास्तवमै भइरहेका हुन्छन्।

डाँडाबाट काठमाडौं सहरलाई देखाइएको दृश्य छायाङ्कनका हिसाबले अत्यन्तै सुन्दर छ।

परिवारका सदस्य साथमा हुँदा हामीले उनीहरूलाई दिनुपर्ने प्राथमिकता र सम्मान दिँदैनौं, तर जब उनीहरू टाढा हुन्छन् अनि मात्र पछुताउँछौं। यसै मनोवैज्ञानिकलाई निर्देशक देउजाले कथाको माध्यमबाट सशक्त रूपमा पेस गरेका छन्।

चलचित्रको क्लाइमेक्स उत्कृष्ट छ। यति भन्दैमा चलचित्र पूर्ण रूपमा त्रुटिरहित भने छैन। कथावस्तुमा नयाँपनको अभाव हुनु र सुरुवाती चरण कमजोर हुनु यसका मुख्य कमजोरी हुन्।

अभिनयको पाटोमा सबै कलाकारले आफ्नो चरित्रलाई न्याय गर्ने पूर्ण प्रयास गरेका छन्। दुई सन्तानकी आमाको भूमिकामा अभिनेत्री हिउँवाला गौतमले उत्कृष्ट काम गरेकी छन्।

त्यस्तै, चुलबुले स्वभावकी देउरानी ‘राधा’ को भूमिकामा अभिनेत्री आँचल शर्माको काम तारिफयोग्य छ। यस चलचित्रमा उनलाई दर्शकले विल्कुलै फरक अवतारमा देख्न पाउनेछन्। स-सानो कुरामा निहुँ खोज्ने जेठानी ‘सीता’ को चरित्रमा अभिनेत्री केकी अधिकारीले निकै स्वाभाविक अभिनय गरेकी छन्।

जेठो छोरा ‘रमाकान्त’ को भूमिकामा अभिनेता महेश त्रिपाठीले आफ्नो चरित्रलाई जीवन्त बनाएर दर्शकको मन जितेका छन्। यता, कान्छो छोराको भूमिकामा देखिएका कुशल विष्टको काम भने ठिकै मात्र छ।

समग्रमा भन्नुपर्दा, ‘झिँगेदाउ २’ ले कुनै नयाँ र नौलो कथा पस्किएको छैन। अघिल्लो भागमै देखिएको देउरानी-जेठानीको नोकझोक, दाजुभाइको सम्पत्तिको लडाइँ र हराएकी आमा खोज्ने प्रयासकै वरिपरि चलचित्र केन्द्रित छ।

यद्यपि, निर्देशक देउजाले यी सामान्य विषयवस्तुलाई पनि केही कमेडी र घरेलु मसला छर्केर रोचक ढङ्गले पस्कने सफल प्रयास गरेका छन्। यदि तपाईंलाई यसको पहिलो शृङ्खला मन परेको थियो भने, पारिवारिक कथामा आधारित ‘झिँगेदाउ २’ पनि पक्कै मन पर्न सक्छ।

प्रकाशित: १ आश्विन २०८३ २०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App