२२ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई

‘फेस अफ नेपाल २०२६’ को उपाधि महिलातर्फ सुमन श्रेष्ठ र पुरुषतर्फ जियोन तामाङले जितेका छन्।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा आइतबार सम्पन्न ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनीहरू शीर्ष विजेता बनेका हुन्। प्रतियोगितामा आइस्ता जोशी र अनिशा श्रेष्ठ पनि विजेता घोषित भएका छन्।

उपाधिसँगै यी चारै जना विजेताले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित ‘एसिया मोडल फेस्टिभल’ मा नेपालको तर्फबाट औपचारिक प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

एमएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ८ जना महिला र ११ जना पुरुष गरी कुल १९ जना प्रतियोगीहरू उपाधिका लागि भिडेका थिए।

हालैको बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बीच यो ग्रान्ड फिनाले सम्पन्न भएको हो। प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै आयोजकले पूर्वनिर्धारित कार्यक्रमलाई एक साता पछाडि सारेको थियो।

प्रायोजक तथा फिनालेको लोकेसन पहिले नै तय भइसकेकाले कार्यक्रमलाई थप समय सार्न सम्भव नभएको नेसनल डाइरेक्टर मेनुका माझीले स्पष्ट पारिन्।

‘विपत्तिका बीच पनि कार्यक्रम सफल बनाउनुपर्ने ठूलो चुनौती हामीसामु थियो,’ नेसनल डाइरेक्टर माझीले भनिन्, ‘सबैको साथ र सहयोगले त्यो चुनौती पार गर्दै हामीले ग्रान्ड फिनालेलाई सभ्य र भव्य रूपमा सम्पन्न गरेका छौं।’

विपद्को घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजक टिमले बाढीपीडितहरूका लागि राहतसमेत वितरण गरेको उनले जानकारी दिइन्। साथै, विषम परिस्थितिमा पनि कार्यक्रम सफल पार्न साथ दिने सम्पूर्ण प्रायोजक, सहयोगी तथा दर्शकप्रति उनले आभार व्यक्त गरिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए। 

निर्णायकहरूमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, ‘फेस अफ नेपाल–२०२१’ तथा अभिनेत्री एवं मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, ‘फेस अफ नेपाल-२०२४’ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा रहेका थिए।

प्रकाशित: २२ भाद्र २०८३ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App