३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

महँगो ‘क’

लघुकथा

व्यापार राम्रै चलेको बजारको धनी मान्छे हुन् माल्दाइ। सानो र सस्तो स्कुलमा पढायो, कन्जुस’ भन्लान् भन्ने डरले माल्दाइले छोरालाई महँगै विद्यालयमा भर्ना गरे। उनलाई समाजको र आफ्नै इज्जतको पनि सवाल थियो। पहिले एक वर्ष मन्टेस्वरी पनि हालेका थिए। छोरो आधा दिन सुतेर, केही खेलेर र टिभी हेरेर आएको रमाइलो मानीमानी सुनाउँथ्यो। उसले दिउँसो खाने नास्ता र खानाका अनेक भाँती परिकारका नाम तोतेबोलीले निकै मिठो गरी भन्दा माल्दाइ र भाउजू मक्ख पर्थे। हुन पनि दुई छोरीपछि अलि ढिला जन्मिएको एउटा छोराले कुनै कुरामा गुनासो नगरोस् भन्ने उनीहरूको चाहना थियो।

विद्यालयमा जान थालेको दुई वर्षसम्म पनि छोराको पढाइमा कुनै खासै सुधार देखिएन। अरूलाई भन्दा सानै छ, पछि सिक्छ, सिक्दै भने पनि दुई जनाको कुरा हुँदा दुवैले चिन्ता गर्न थाले।

एक रात नानीहरू सुतेपछि भाउजू भन्दै थिइन्, ‘हैन बाबुले त अहिलेसम्म एउटा अक्षर पनि चिन्दैन। स्कुलमा भन्नुस् न।’

भोलिपल्ट क्यास काउन्टरमा एकछिन अल्झिएर माल्दाइ प्रिन्सिपलको कोठामा छिरे। छोराको पढाइको ठुलो गुनासो गरे, ’घरमा एक अक्षर पढ्दैन। खाली मोबाइल हेरेर बस्छ सर। आमा र दिदीलाई टेर्दैन। म केही गर्न भ्याउँदैन। विद्यालयको फी समयमा बुझाएकै छु।’

प्रिन्सिपलले बाबुको प्रोग्रेस रिपोर्ट हेरे। टिचरले कमेन्ट गरेका रहेछन्, ‘बाबुको पढाइमा सुधार भएको छ।’

कक्षा शिक्षकलाई बोलाइयो। केरकार पनि गरियो। केहीबेरको मौनतापछि शिक्षिका प्रिती मिसले जवाफ दिइन्, ‘दुई वर्षपछि बाबुले आज त आफैँ क लेख्नुभएको छ।’

माल्दाइ मुसुक्क हाँसे। लाग्यो, ‘अब छोराले केही गर्छ।’

सधैं हँसिला प्रिन्सिपल सरले हाँसेरै भने- मन्टेस्वरीको छाडेर यही स्कुलमा दुई वर्षको पच्चिस हजारको बिल हाँसेरै तिरिसक्नुभयो। आजभोलिको ‘क’ कति महँगो भयो हैन त सर! माल्दाइ पनि  प्रिन्सिपलसँगै हाँसे, रिसाएनन्। यतिन्जेल गम्भीर बनेको कोठा हाँसोले गुन्जियो।

प्रकाशित: ३ श्रावण २०८३ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App