१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

महाकाव्यकार दाहालको ‘बुद्धको देश नेपाल’ गीत विमोचन

महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दाहालको गीत विमोचन गरिएको हो। 

नेपाल संस्कृत विश्वविद्यालयका कूलपति प्राडा. कुलप्रसाद कोइरालसहित लेखक तथा पत्रकार पुरुषोत्तम दाहालले गीतको भिडियो विमोचन गरेका हुन्।  

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको गीत महाकाव्यकार दाहालको श्वेतपत्र महाकाव्यबाट साभार गरिएको हो। राजु कार्कीको संगीत संयोजन र प्रकाश मिश्रको संगीत सम्पादन रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो।

राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचर्ड गरिएको छ। गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ। गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्यूव च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

मिलाप मासिकको आयोजना र चलचित्र विकास वोर्डका सदस्य गणेश सुवेदीले सहजिकरण गरेको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राखेका थिए।

कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गरे। श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्न आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जादा यो गीत तयार भएको बताए। उनले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको बताए।

महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाहीवाही पाएको र कतै गाली पनि स्मरण गरे। उनले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाए।

वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोड्नु एकदमै राम्रो काम भएको भन्दै स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिए।

श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिइन्। उनले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गरेकी थिइन्।

यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भए पनि यो अब्बल रहेको चर्चा गरे।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उनको परिचय थपिएकोमा बधाई दिए।

गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राखेका थिए।

डा. यज्ञेश्वर निरौलाले महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ जस्ता कृतिका बारेमा आफू परिचित रहेको बताउँदै ‘स्वेतपत्र’का बारेमा आफ्ना धारणा राखेका थिए। डा. निरौलाले ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत ह्रस्व दीर्घका नियमलाई ख्याल गर्दै एकदमै राम्रोसँग गायन भएको बताए।

प्रमुख अतिथि प्राडा. कोइरालाले उनका अन्य कृति भन्दा महाकाव्य ‘स्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिए। उनले महाकाव्य लेखनको नियमको चर्चा गर्दै ‘स्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गरे।

कार्यक्रमका सभापति प्रा. पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उनको योगदानको प्रशंसा गरे। ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उनले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिएका थिए । ‘स्वेतपत्र’ महाकाव्यमा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरेको कृति पाठकमाझ पनि आएको छ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा. बुनु दाहाल, बरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा. अंकुर दाहाल, उषा दाहाल, साहित्यकार रमेश दाहाल, चलचित्र जाचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाल लगायतका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ श्रावण २०८२ ०८:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App