‘आमा, यसपालिको दसैं खुब धूमधामले मनाउनुपर्छ है!’ पाँच वर्षपछि विदेशबाट आएकी कान्छी छोरीले आमालाई गम्लङ्ग अँगालोमा कसेर भनी।
हिजैदेखि घरमा आफन्तहरूको जमघट सुरु भैसकेको थियो।
जेठी छोरी ज्वाइँ र नातिनातिमा बोकेर ४/५ दिन माइती बस्छु भनेर आएकी थिई। सन्तानमा नाममा दुई मात्र छोरी थिए उनीहरूका। दुवै सन्तान साथमै भएकाले जोईपोइले साउती गरे, ‘यस्तो संयोग कहिलेकाहीँ मात्र आउँछ। त्यसैले दशैँमा कुनै विलौना नगरौँ , है!’
अष्टमी परेकाले बिहानै घरमा बोका ढलेको थियो। कवाफ र भुटन सबै तयार भयो। साँझपखको समय सबै दशैँको वातावरणमा रम्दै थिए। सबैलाई मीठामीठा परिकार पस्किएपछि उनले सादा खाना लिएर बसिन्। आमाको भाग देखेपछि कान्छी छोरीले भनी, ‘मासु भनेपछि हुरुक्क हुने आमालाई के भयो? अनुहार पनि मलीन देख्छु। सञ्चो भएन कि?’
उनले आफूलाई रोक्न सकिनन्। आँखाबाट बलिन्द्र आँसु झार्दै भनिन्, ‘देश दुखेको बेला एउटी आमा कसरी हाँस्न सक्छे र, छोरी?’
प्रकाशित: १६ आश्विन २०८२ ०९:३० बिहीबार





