१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

रित्तो कोठा

दुई लघुकथा

१) रित्तो कोठा

“हजुरहरूको राम्रो सेवा गर्छु। एक महिना मेरो काम र इमान्दारिता हेर्नुस्। मैनावारी जति दिनुहुन्छ, मलाई मन्जुर छ” नयाँ काम गर्न भनेर ल्याएको उमा नाम गरिएकी सहयोगीको कुरा सुनेर सासू र बुहारी दुवैको चित्त बुझ्यो।

उनीहरूले स्वीकृति  जनाउँदै भने, “तिमी इमानदार भएर बस। राम्रो काम गर। यताउति नगर है।”

“म त्यस्तो केही गर्दिनँ हजुर। लोग्नेले कान्छी ल्याएर मलाई घरबाट निकाल्यो। गाउँमा बस्न मन लागेन। आफ्नै पाखुरा बजाएर पेट पाल्छु भनेर हिंडेकी हुँ हजुर।”

सासूले भनिन्, “लोग्ने आएर फेरि लैजान्छ कि?”

उमाले जवाफ दिइन्, “त्यो मुर्दारको त मुख पनि हेर्न मन छैन। यहाँ आयो भने त भाटै भाटाले दनक दिन्छु।”

ऊ बिहानबेलुका भान्छाको काम, दिउँसो मुमाहजुरको टहल गर्ने, सानो नाति बाबुलाई स्कूलबाट ल्याउने खुवाउने आदि काम जिम्मेवारीपूर्वक गर्न थाली। कामको आधारमा उसले सबैलाई रिझाई। विश्वासपात्र बनी।

एकदिन बुहारीले उसलाई भनिन्, “हामी सबै तिम्रो कामबाट खुशी छौंं। यसैगरी काम गर। तिम्रो कामको बक्सिस् पनि दिउँला।”

उसले पनि भनी, “हस हजुर, म सधैँ यस्तै गर्छु।”

भान्जीको बिहेमा जानुपर्ने भएकाले बुहारीले सासूको गहना लकरबाट झिकेर ल्याएकी थिइन्। सिक्री, चुरी र औंठी उमालाई दिएर भनेकी थिइन्, “सावुनपानीले धोएर टलक्क पारेर मुमालाई देऊ है।”

त्यही दिन दिउँसो मुमाले भनिन्, “आज बुबाहजुरको मलाई पाउने पेन्सन लिन जानुपर्छ ट्याक्सी लेरा। तँलाई पनि देखाउन लान्छु।"

बैँकबाट ६ महिनाको पेन्सनको नोटको बिटो ब्याग राखेर उनले उमालाई भनिन्, “म खसाल्छु होला। तँ काखीमुनि च्याप्प हुनेगरी यो ब्यागलाई कुममा भिर है।”

“हस हजुर।”

घर पुगेपछि उमा बेलुकाको भान्छाको तर्खरतिर लागी। सासू बुहारीले पनि बिर्सिएर खाना खाएर सुत्न गए। भोलिपल्ट बिहान आँखा खुल्नेबित्तिकै सम्झिएर “उमा” भन्दै उनी सुत्ने कोठातिर दौडिइन्  तर कोठा रित्तो थियो।

पुलिसलाई खबर भयो। पुलिसले थानकोटमा उमालाई समात्यो। उसको साथमा उसको लोग्ने पनि थियो।

२) भागाभाग

आयो आयो, फेरि हल्लायो ! आजकै दिनमा मात्र चारचोटि  हल्लाइसक्यो। पहिलोचोटिको त निकै ठूलो कम्पन थियो।

 विशेषज्ञहरूको नापअनुसार त्यो सात म्याग्निच्यूडको थियो रे। ऊ अर्थात् सरिन परिवारसहित त्यही गाउँमा बस्थ्यो। घरको नाममा सानो कच्ची माटोले बनेको घर थियो। उसकाे मात्र होइन त्यहाँ सबैको घर त्यस्तै थियो। उनीहरूको नारी जातिलाई घर बाहिर निस्कन निषेध  थियो। जरुरी परिहाल्यो भने टाउकोदेखि सबै ढाकेर वरिपरि घरमा मर्दहरू नभएको बेला निस्कन्थे।

छिमेकीको घरभित्र पनि जान्थे। घरभित्रका सबै काम नारीहरूले नै गर्नुपर्थ्यो। छोरी र छोरामा लगाउने, खाने, पढ्ने सबै कुरामा ठूलो भेदभाव थियो। छोरा धनको बोट हो। छोरी अर्काको घर जाने जात हो। ऊ जाँदा बाबुबाजेले दिएर पठाउनुपर्छ। दिन नसक्नेको छोरीको बिहे नै हुँदैन। जन्म दिने आमा आफू छोरी नै भएर पनि छोराछोरीमा भेदभाव गर्छन्। त्यो गाउँका मर्दहरू काम खोज्न सधैं गाउँदेखि टाढा जान्थे। त्यो गाउँ धेरै गरिव थियो।

मर्दले कमाएर ल्याएपछि मात्र खाना पाक्दथ्यो। उनीहरूले खाएर जति बच्थ्यो थियो त्यतिले नै पछि खाने आमा र छोरीहरूले खान पाउँथे। घरका मर्दहरूलाई थपीथपी पेटभरि खान दिनुपर्थ्यो। बचेको खानाले दिदीबैनी र अरू नारीहरू खान्थे। कहिल्यै पेटभरि खान पाउँदैन थिए।

अकस्मात पृथ्वी काँपेकी हुनाले प्राय: सबै घर भत्कियो। पुरुषहरू कामतिर गएकाले के भयो कुन्नि तर गाउँ पूरा भूकम्पले हल्लाएर लडायो। घर भत्किएर चेपुवामा च्यापिएका, पुरिएका महिलाहरूको "बचाऊ,बचाऊ" भन्ने आर्तनाद कसैले सुनेन। किनकि त्यो चीत्कार नारीको थियो।

धेरै समयपछि सरकारिया एम्बुलेन्स साइरन बजाउँदै आए पनि ढलेको बस्तीसम्म पुग्ने बाटो नभएकाले पर नै अडियो। काममा गएका बाँचेका मर्दहरू "हाम्रा छोराहरूलाई बचाउनुपर्छ" भन्दै कराउन थाले। छोरी, आमा, पत्नी, बहिनी र दिदीलाई बचाऊ" भनेको कतै सुनिएन।

प्रकाशित: १५ फाल्गुन २०८२ ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App