२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

डा. अन्जान शाक्यको ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ बजारमा

राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक भएको छ। ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा समेत गीत गाएकी शाक्यको यो पछिल्लो म्युजिक भिडियो हो। यो गीतका शब्द राजी किपूका हुन भने यसमा संगीत हरि सायमीले भरेका छन्। यो गीत स्ट्रिङ रेकडिङ स्टुडियोले उत्पादन गरेको हो।

आजभन्दा करीब २३ वर्ष अघि ‘शिरीष’ एल्बम निकालेकी शाक्य त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि गीत/संगीतको यात्राबाट मोडिएकी थिइन्। गीत/संगीतको यात्राबाट टाढा रहेको करीब २३ वर्षपछि अर्थात केही महिना अघि मात्रै पनि उनको ‘मेरो गीत भित्र’ म्युजिक भिडियो सार्वजनिक भएको थियो।

इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि पुनः गीत/संगीतको क्षेत्रमा फर्किने योजना बनाएकी शाक्य पछिल्लो समय एकपछि अर्को गर्दै गीत/संगीतको यात्रालाई अघि बढाउँदै आएकी छन्।

यस अघिको म्युजिक भिडियोमा कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभियनय तथा संगीत डाक्टर अन्जान र इञ्जिनियर सञ्जय शाक्यको रहेको थियो। देवकुमार श्रेष्ठले निर्देशन गरेको उक्त गीतलाई स्रोताहरूले असाध्य मन पराएपछि आफूले फेरि नयाँ गीत  ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ ल्याएको बताए।

नयाँ म्युजिक भिडियोमा पछिल्लो समय बढ्दै गएको एआइको प्रयोगलाई समेत भरपुर उपयोग गरेको शाक्यले बताए। म्युजिक भिडियोमा बालापनदेखिको अवोध प्रेम नै ठूलो भएपछि सफलतामा परिणत भएको कथालाई गीतका माध्ययमबाट देखाउन खोजिएको छ। गीतका शब्दहरूको भावले पनि त्यसैलाई प्रतिनिधित्व गरेका छन्। शब्दमा बाल्यकालदेखिको अवोध प्रेम प्रकाशको किरण बनेर छाइदिन र जुनीजुनीसम्म वसन्त याम जस्तै अर्थात मधुमास बनेर रहिरहोस् भन्ने अपील गीतमा देखिन्छ। भिडियोमा पनि गीतका शब्दलाई न्याय हुने गरी संयोजन गरेको देखिन्छ। म्युजिक भिडियोमा एआइको प्रयोग रावी शाक्यले गरेको भन्दै गायिका शाक्यले पोस्टरमा पनि एआई प्रविधिको प्रयोग गरेको बताइन्।

प्रकाशित: १ जेष्ठ २०८३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App