नेपालको भू–सौन्दर्य, संस्कृति, परम्परा र साहसिक यात्रालाई विश्वसामु उजागर गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्री ‘जिरो टु ८८४८’ भोलि प्रिमियर हुने भएको छ ।
अमेरिकी शहर एटलान्टास्थित एएमसी नर्थ डिकाल्ब १६ हलमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुने प्रिमियर कार्यक्रमले नेपालकै अनौठो भौगोलिक यात्रालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्नेछ ।
‘जिरो टु ८८४८’ डकुमेन्ट्रीले नेपालको सबैभन्दा तल्लो भू–भाग कचनकवल (५८ मिटर) देखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) सम्मको पूरा उचाइभित्रको भौगोलिक र सांस्कृतिक विविधतालाई एकै यात्रामा चित्रण गरेको छ ।
चार वर्षको अवधिमा तयार भएको यो फिल्म साहस, संस्कृति, परम्परा, कला, वास्तुकला र जलवायु परिवर्तनको सन्देशलाई एकसाथ प्रस्तुत गर्छ ।
फिल्मको निर्देशन निरञ्जन पाण्डेले गरेका हुन् भने बलराम बुद्धथोकी सह–निर्देशक र सम्पादकका रूपमा रहेका छन् । चर्चित पत्रकार प्रेम बनियाँको अवधारणामा तयार यो फिल्ममा टेन्डी शेर्पा (१८ पटक सगरमाथा आरोहण), पर्वतारोही तथा लेखक पुष्कर शाह, विश्वप्रसिद्ध पर्वतारोही कनराड एंकर र क्लाइम्बर क्ले वाडम्यानको सहभागिता छ ।
प्रकाशित: २१ कार्तिक २०८२ १८:३९ शुक्रबार





