१० माघ २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

होमस्टे सिकाइभित्रको विद्यावारिधि सिकाइ

अनुभव र अनुभूति

यस पंक्तिकारले एक वर्षअघि काठमाडौं विश्वविद्यालय (केयू) शिक्षा संकायबाट ‘विकास अध्ययन’ विषयमा विद्यावारिधि (पिएचडी) पूरा गर्‍यो। लगत्तै २०८२ जेठ ३० गते काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर धुलिखेलमा आयोजित दीक्षान्त समारोहमा ‘टोपी लाउने’ कार्य पनि सम्पन्न गर्‍यो।  

बेलायत तथा नेपाल गरी दुई विश्वविद्यालयबाट दुई विषयमा स्नातकोत्तर तह पूरा गरेको, दुवै विषयमा अंग्रेजीमा थेसिस लेखी अनुसन्धान गर्न सक्ने ल्याकत देखाएको र लामो समयको विकास तथा शिक्षा व्यवस्थापनको अनुभव समेत भएको आधारमा केयूले मलाई सिधै पिएचडी तहमा भर्ना हुने अवसर दिएको थियो। पछिल्लो समयको नियमले भने एमफिल (दर्शनाचार्य) पूरा नगरी पिएचडीमा प्रवेश दिँदैन।

स्नातकोत्तर तहसम्म थेसिस नै नलेखी पढाइ पूरा गर्ने पनि थुप्रै विद्यार्थी हुने तर पिएचडीका लागि गहिरोसँग अनुसन्धान गर्ने सीप र क्षमता चाहिने हुँदा प्राय: हरेक विश्वविद्यालयले अहिले एमफिल अनुसन्धान पूरा गरेपछि मात्र पिएचडीमा अघि बढाउने नीति लिएको देखिन्छ। अनुसन्धान गर्ने सीप, कौशल र लेखन–सीप समेत विकासका लागि यो प्रक्रिया र पद्धति राम्रो पनि हो।

एमफिल गरेका विद्यार्थीका लागि पिएचडी गर्न तुलनात्मक रूपमा धेरै सहज हुने देखिएको छ। मैले पिएचडी गर्ने सिलसिलामा केयूमा कम्तीमा चार एमफिल विद्यार्थीलाई नियमित (तर अप्रत्यक्ष) गाइड तथा ‘ब्याकस्टप’ गर्ने मौका पाएकाले म त्यो निष्कर्षमा पुगेको हुँ।

पिएचडी भनेकै अनुसन्धान तथा लेखन क्षमताको विकास हो, यो क्षमता सबैमा हुन्छ भन्न सकिन्न। स्नातकोत्तर गर्दैमा कुनै व्यक्तिले थेसिस वा अन्य प्राज्ञिक कुरा लेख्न सक्छ भन्ने हुँदैन।

जुन व्यक्तिले अनुसन्धान गर्ने वा कुनै विषयवस्तु गहिरो गरी संश्लेषण तथा विश्लेषण (सिन्थेसिस/ एनालाइसिस) गर्न सक्ने क्षमता राख्दछ र सो विश्लेषण राम्रोसँग प्रस्तुत (इन्टरप्रेट) पनि गर्न सक्दछ भने विश्वका कुनैकुनै विश्वविद्यालयले ब्याचलर लेवल पूरा हुनासाथ पनि सिधै पिएचडी लेवलको अनुसन्धान कार्यमा संलग्न गराउने चलन छ तर यस्तोमा उनीहरू लामो अवधिसम्म प्रोफेसरसँगै हुन्छन्, सँगै कक्षमा जान्छन्, सँगै अनुसन्धान गर्छन्, सँगै लेख्छन् र अनुसन्धान परियोजना पूरा भएपछि वा अनुसन्धानको सही निष्कर्ष निस्केपछि उक्त विद्यार्थीले पिएचडी उपाधि पाउने वातावरण बन्छ।

अनुसन्धानमा आधारित जर्नल आर्टिकल कति प्रकाशित भए भन्ने मानक पनि पिएचडीका लागि अनिवार्य शर्त हुने हुनाले कतिपय लेखन–सीप भएका स्नातक तह मात्र पूरा गरेका विद्यार्थी जसले केही जर्नल आर्टिकल प्रकाशित गरिसकेका छन् त्यस्ता व्यक्तिलाई अमेरिका, अस्ट्रेलिया आदि देशका केही विश्वविद्यालयले पिएचडीका लागि छात्रवृत्ति दिएर भर्ना हुने अवसर दिएको देखिन्छ। नेपालबाट समेत केही विद्यार्थी त्यसरी ती देशहरूमा गएको यस पंक्तिकारले देखेको छ।

पिएचडी यात्राको चुरो

शिक्षा र विकासको सवाल अन्तरघुलित हुने गरी मेरो लामो अनुभव र योगदान समेत सुहाउने गरी मैले अनुसन्धानको विषय ‘होमस्टे’ अर्थात् घरबास पर्यटन रोजेँ।

सन् २००२ देखिको मेरो पर्यटन विकाससँगको प्रत्यक्ष सम्बद्धतालाई उक्त अनुसन्धेय विषयले न्याय गर्ने सल्लाह मैले मेरा सुपरभाइजरहरूबाट पाएँ।

सन् २०१९ मा अनुसन्धान प्रस्तावना पारित भएपछि मेरो स्थलगत अनुसन्धान कार्य निरन्तर चल्यो। करिब दुई वर्ष फिल्डमा अवलोकन, अनुभव, अन्तर्वार्ता (भलाकुसारी), लक्षित समूह छलफल आदि विधि अपनाउँदै होमस्टेमा संलग्न हुने व्यक्ति, विशेषगरी महिला दिदीबहिनीहरूले सिक्ने प्रक्रिया, सिकाइमा देखिएका कठिनाइ र सिकाइ सम्बन्धी स्थानीय अभ्यासहरूको खोजीमा मेरो घोत्लाइ सुरु भयो।

वाग्मती प्रदेशको ‘महाभारत हिल्स’ (विद्यावारिधि–संंहिताका कारण ठाउँको यथार्थ नाम परिवर्तन गरिएको) मा मेरो अध्ययन भयो। विभिन्न समयमा आउने–जाने गरेर ती दुई वर्षका करिब बाह्र हप्तासम्म मेरो समय फिल्डमा बित्यो।

फिल्डमा नै बसी थप लिटरेचर (अध्ययन सामग्री) अध्ययन गर्ने, मस्यौदा (नोट) गर्ने, सुपरभाइजरहरूसँग फिल्डबाटै सम्पर्क गर्ने आदि कार्य आरम्भदेखि नै चल्दै रहे। मेरा दुई सुपरभाइजर हुनुहुन्थ्यो: प्राडा लक्ष्मण ज्ञवाली र प्राडा प्रकाशचन्द्र भट्टराई। प्रस्तावनालाई अन्तिम रूप दिने कार्य र नियमित अनुसन्धान तथा लेखनमा भने प्राडा बालचन्द्र लुइँटेल, प्राडा महेशनाथ पराजुली, प्राडा मनप्रसाद वाग्ले, प्राडा जयराज अवस्थी, प्राडा हेमराज काफ्ले, डा. लवदेव अवस्थीको नियमित घच्घच्याइ र प्राज्ञिक अभिषेकले ठूलो काम गर्‍यो।

त्यसो त केयूका सहप्राध्यापक, सहायक प्राध्यापक तथा फ्याकल्टी सदस्यहरूले मेरो पिएचडी गुणस्तर बढावा र ‘छिटो सक्नुपर्छ अब’ भनेर समयसमयमा अमूल्य ‘इन्पुट’ र आफ्ना अनुभवको उज्यालो दिने र साहस बढाउने कार्य गर्नुभयो।

प्राडा धनपति सुवेदी, डा. सुरेश गौतम, डा. रेवत ढकाल, डा. शेषकान्त पगेनी, डा. इन्द्रमणि याम्फू राई, डा. लिना गुरुङ, डा. सिद्धार्थ ढुंगाना त्यस्ता विशेष व्यक्तित्वमा पर्नुहुन्छ। साथै, पिएचडी थेसिस अन्तिम रूप दिने कार्यमा पिएचडी स्कलरत्रय नूरजङ्ग शाह, सुरेन्द्र भट्ट, निरोज दाहाल, डा. काशीराज पाण्डे तथा प्राडा कृष्णचन्द्र शर्माको गुन मैले कहिल्यै बिर्सन मिल्दैन।

यता मेरा तीन बाह्य परीक्षकहरू (अमेरिका, दक्षिण कोरिया, नेपाल) ले अन्तिम समयमा पारेको र्‍याखर्‍याख्ती र अमृत–बुटीको रूपमा दिएका सुझावहरूले मेरो पिएचडी सफल पार्नमा ‘बातीलाई तेल’ भनेझैं भयो। बाह्य परीक्षकहरूले दिएका सुझावमा मैले थप एक महिना काम गर्नुपरेको थियो तर ती सबै कुरा सम्झँदा अहिले थप आनन्द आउँछ (बाह्य परीक्षकको अमृत बुटी सम्बन्धमा म छुट्टै आलेख लेख्नेछु)।

पिएचडी यात्रा सबैको यस्तै चरण पार गर्दै अघि बढ्ने हो, पिएचडीमा ‘ब्लुज’ आएनन्, बीचमै अध्ययन छोडूँछोडूँ लागेन भने, सबै साथी ‘मस्ती’ गरिरहँदा आफू भने अक्षरमा मात्र घोटिनुपर्ने, कम्प्युटर कुनोमा मात्र बस्नुपर्ने यो के बाध्यता आफैं भित्र्याएँ भन्ने अनुभूति भइरहने अवस्था आएन भने त्यो पिएचडी नै हुँदैन भनेर मेरा थुप्रै अग्रजले भन्ने गर्थे, आफैँ भोगेपछि थप ‘कन्भिन्स’ भएँ।

म यी पंक्ति कोर्दै गर्दा अहिले पनि पिएचडी अध्ययन निरन्तर राखेका मेरा स्कलर मित्रहरू थुप्रै हुनुहुन्छ। आफू उत्रेपछि पनि म उहाँहरूलाई यस्तै ऊर्जा दिने गरेको छु। सक्दो सहयोग गरिरहेको छु। विभिन्न विश्वविद्यालयसँग उहाँहरू आबद्ध हुनुहुन्छ।

नमरी स्वर्ग देखिन्न भनेर कसले भन्यो कुन्नि तर मैले भन्न सक्ने यत्ति हो पिएचडी नगरी यसभित्रका ‘ब्लुज’बारे थाहा हुँदैन, पिएचडी समाप्तिपछिको प्रशान्ति (‘ट्रयाङ्क्विलिटी’) पनि अनुभव गर्न पाइँदैन।

गुणात्मक अनुसन्धान र सहभागीहरूको परिवेश

मेरो अध्ययन गुणात्मक (क्वालिटेटिभ) थियो। गुणात्मक अनुसन्धानभित्र पनि सामाजिक तथा सांस्कृतिक पक्षसँग गहिरिएर अध्ययन गर्ने विशेष विधि अर्थात् ‘जातीय अध्ययन’/नृवंशीयविज्ञान (एथ्नोग्राफिक स्टडी) मा आधारित भएर अध्ययन सम्पन्न भएको थियो। विश्वप्रसिद्ध अनुसन्धानविज्ञ डेन्जिन, लिङ्कन, ह्याम्मर्सले, एट्किन्सन, फिलिक, आदिजस्ता विज्ञका किताबहरूले त्यस्तो अनुसन्धान कसरी गर्ने भन्नेमा गाइड गरे।

शिक्षा, सिकाइ, पर्यटन, होमस्टे, विकासका सिद्धान्त आदि गरेर झण्डै पाँच सय लिटरेचर (पुस्तक, जर्नल आर्टिकल, प्रोसिडिङ्ग्स, रिपोर्ट, अनलाइन सामग्री आदि) पढिए होला। पिएचडी भनेकै लिटरेचरको थाक रहेछ, लिटरेचकै आधारमा बोलिने रवाफ रहेछ। अरू पचासौँ जनाले के भने, अनि आफ्नो एकाउन्नौँ कुरा के हो? त्यही नै पिएचडी रहेछ।

पिएचडी गर्ने बेलामा त अबदेखि म नै विश्व हाँक्छुजस्तो पनि लाग्छ तर ज्ञान र दर्शनमयी ढोकाहरू उघार्दै आउँदा ज्ञानको श्रृङ्खलामा एक सिंढी वा एउटा नयाँ इँटा थप्ने कार्य मात्र रहेछ भन्ने आत्मिक अनुभूति प्राप्त गर्नु नै यथार्थमा पिएचडी रहेछ। मलाई यतिबेला यही अनुभूतिले प्रशान्ति दिइरहेको छ।

लिटरेचरको कुरा गर्दै थिएँ। विश्व अनुभव बुझ्न त्यस्ता प्रकाशनहरूले ठूलो सहयोग गरे। नेपालबाट प्रकाशित केही सामग्री पनि अहिले विश्व–सञ्जालमा पाइन थालेका छन्। यो सुखद् पक्ष हो।

वास्तवमा एमफिल, पिएचडी भनेकै स्थानीय ज्ञान र अनुभवलाई विश्वव्यापीकरण गर्ने (युनिभर्सल बनाउने) एउटा सशक्त माध्यम हो भन्ने कुरामा म थप ‘कन्भिन्स’ भएँ। पिएचडी गर्ने सिलसिलामा मैले पनि कम्तीमा सात/आठ जर्नल आर्टिकल निकाल्ने मौका पाएँ, जुन अहिले विश्वका विभिन्न व्यक्तिले हेरेका, डाउनलोड गरेका खबर आउँछन्। यो अर्को सुखद् पक्ष हो। विश्वका जुन स्तरका जर्नल भए पनि विश्व–सञ्जाल (डीओआई) मा छन् कि छैनन् अर्थात् स्पष्ट पहिचानसहित सहज पहुँचमा छन् कि छैनन् भन्ने कुरा ज्यादै महत्त्वपूर्ण हुँदोरहेछ।

लेखन कार्य पिएचडीपछि पनि झन् सशक्त भएर अघि बढ्नुपर्ने हुन्छ। अबको प्रयास त्यसतर्फ पनि केन्द्रित रहनेछ। नेपालका खुला अनुसन्धानको वातावरण भने कमै छ, अनुसन्धानमा खर्च गर्ने प्रवत्ति एकदम कम छ, यस्तोमा पिएचडीवालाहरूलाई थप पीडा हुँदोरहेछ भन्ने कुरा थप बुझ्दैछु। प्रतिभा पलायन किन हुन्छ भन्ने उदाहरण पनि यहाँ प्रशस्त छन्। नजिकबाट अनुभूत हुँदैछ।

मेरो स्थलगत अध्ययनमा कुल सात घर (होमस्टे) समेटिएका थिए। ती होमस्टे चलाउने महिला दिदीबहिनीहरूसँग मैले विशेष जानकारी लिएको थिएँ, मिश्रित समुदायको अध्ययन थियो।

 समग्रमा होमस्टे क्षेत्रकै अध्ययन हुने भए पनि अध्ययनका सीमिततालाई ख्याल गर्दै बढी अवलोकन उहाँहरूकै अर्थात् सात घरकै गरेको थिएँ। श्रृङ्खलाबद्ध भलाकुसारी पनि बढी मात्रामा उहाँहरूसँग नै गरेको थिएँ। यथार्थमा भन्नुपर्दा, उहाँहरूका विशेष अनुभव र साझा अनुभव नै मेरा अक्षरका आधार बनेका थिए।  

चेपाङ–बाहुल्य क्षेत्र भएकाले छनोट भएका सात घरमा तीन घर चेपाङ, दुई घर मगर, एक घर दशनामी तथा एक घर बाहुन/क्षेत्री समूहबाट थिए। करिब दुई दशकदेखि त्यो क्षेत्रमा होमस्टे पर्यटन चलिरहेको छ। अनुसन्धानमा परेका होमस्टे सञ्चालक महिला तीस वर्षदेखि साठी वर्षका थिए। महाभारत हिल्समा रहेका धेरै होमस्टेमध्ये आफूलाई चाहिने मुख्य विशेषता (फोनोमेना) यी सात घरबाट प्राप्त हुने भएकाले म तिनै घरमा बढी केन्द्रित भई अध्ययन, अनुभव तथा अवलोकन गरेँ। जातीय अध्ययनमा अनुभव र अवलोकन सर्वोपरि ठानिन्छन्। कुरा नगरे पनि ‘चाल’ बुझेर अक्षर कोरिन्छन्, मनले यथार्थ नबताए पनि ‘हाल’ बुझेर अक्षर कोरिन्छन्। यस्तोमा भलाकुसारी तथा कुराकानीले भने सहायक काम गर्छन्।

होमस्टे सञ्चालकहरूको सिकाइ अनुभव

होमस्टे चलाउन कसरी सिकियो? केके सिकियो? समस्याहरू के के भोग्नुभएको छ? यस्तै आधारभूत प्रश्नहरूको उत्तर खोज्ने प्रयास हुन्छ। काम गर्दै जाँदा उपप्रश्न सयौं जन्मिन्छन्। फिल्डमा बसेपछि समाधान हुँदै जान्छन्। कुलमा करिब बाह्र हप्ताको बसाइँले अधिकांश प्रश्नको जवाफ दियो र अनुसन्धानलाई एक विन्दुमा त रोक्नैपर्छ नत्र कहिल्यै सकिँदैन।

हरेक गाउँमा, समाजमा, परिवारमा दैनिक परिवर्तन भइरहेको हुन्छ, जति परिवर्तन भए पनि निश्चित ठाउँमा रोकिएको अनुसन्धानले त्यो अवधिसम्मका तथ्य–तथ्याङ्क, विचार, अनुभव ल्याएको हुन्छ भन्ने अनुसन्धानको मान्यता हो। यस्तोमा आफ्ना सुपरभाइजरको सल्लाह सर्वोपरि हुन्छ।

अध्ययनपछि तयार पारिएको करिब तीन सय पृष्ठको थेसिसबारे विस्तृतमा लेख्न त यो आलेखमा सम्भव नहोला तर अध्ययनको मूल सार के थियो भन्ने मात्र म यहाँ उल्लेख गर्न चाहन्छु। मेरो थेसिस इन्टरनेटबाट सहजै डाउनलोड गर्न सकिन्छ।

काठमाडौँ विश्वविद्यालयले यो व्यवस्था मिलाएको छ। हामी धन्य छौँ। सबै विश्वविद्यालयले यस्ता थेसिस सहज उपलब्ध हुने वातावरण मिलाउनु जरुरी पनि छ। ज्ञान जति बाँड्यो उति जाती। अबको जमानामा ज्ञान लुकाएर राख्ने बानीले खास काम गर्दैन। ज्ञान बाँड्ने मान्छे जहिले पनि ज्ञान प्राप्त गर्नेभन्दा एक श्रेणीमाथि उक्लिसकेको हुन्छ। मलाई यस्तै लाग्छ।

अध्ययन भन्छ, महाभारत हिल्समा होमस्टे पर्यटन थालनी हुनुमा नेपालकै पहिलो होमस्टे सिरुबारीको सिकाइले काम गरेको छ। एक पर्यटन परियोजना तथा स्थानीय सरकारको सहयोगबाट सम्भावित होमस्टे सञ्चालकहरूलाई सिरुबारी, घलेगाउँ आदि ठाउँको होमस्टे देखाउने कार्य हुन्छ, होमस्टे स्थापनका लागि केही सहयोग हुन्छ, अनि विस्तारै प्रचारप्रसार हुन्छ। केही मात्रामा चल्न थाल्छ। होमस्टे समूह बन्छ, सांस्कृतिक कार्यक्रमहरू उजागर भएर आउँछन्, पर्यटकहरू आउँदा स्थानीय नाचगान देखाउने कार्य हुन्छ। सबैको आम्दानी केही बढ्न थाल्छ, होमस्टेको संख्या पनि बढ्न थाल्छ। यो रीत निरन्तर केही वर्ष चल्छ।

उहाँहरूका अनुसार,  र मैले गरेको अन्तर्राष्ट्रिय अध्ययन अनुसार, करिब दुई दशकको महाभारत हिल्स होमस्टे सञ्चालन अनुभवले बतायो, उहाँहरुले सिकेका जम्मै कुरालाई शैली तथा रणनीतिगत ढङ्गले वर्गीकृत गर्दा जम्मा आठ तरिकाबाट सिकाइ आदानप्रदान हुने गरेको छ।

ती हुन्: १) घरपरिवारभित्रैको परम्परागत ज्ञान हस्तान्तरण, २) छरछिमेकी तथा साथीसँगी (पियर ग्रुप, कम्युनिटी अफ प्राक्टिस) बाट सिकाइ, ३) अध्ययन–भ्रमण तथा मेलापर्व/ प्रदर्शनीबाट सिकाइ, ४) आफैं अनुभव गर्दै सिक्दै (एक्पेरियन्यिल लर्निङ), ५) तालिम कार्यशालाजस्ता औपचारिक कार्यक्रमबाट सिकाइ, ६) पर्यटकबाट सिकाइ, ७) सूचना–प्रविधिका माध्यमबाट सिकाइ, र ८) आफ्ना छोराछोरीहरूबाट समेत नयाँ प्रविधि तथा नयाँ भाषाको सिकाइ।

सिकाइको तौरतरिका थाहा पाएपछि उहाँहरूका सिकाइ चुनौतीहरू केके छन् भन्ने प्रश्नमा मूलतः तालिम, अध्ययन भ्रमण आदिको अवधि साह्रै छोटो हुने, नाम मात्रका तालिम चल्ने र स्थानीय ज्ञान र अनुभवको कम मान्यता हुने जस्ता गुनासा धेरै आए।

साथै, अधिकांश तालिममा स्थानीय प्रशिक्षकले नपढाउने हुँदा वाह्य प्रशिक्षकले स्थानीय परिवेश नबुझ्ने, सहभागीको शिक्षा र स्तर थाहा नपाई अप्ठेरा भाषा र शब्द प्रयोग गर्ने, स्थानीय आवश्यकता र पाठ्यक्रमभन्दा पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय पाठ्यक्रमका आधारित तालिम चलाइने प्रवृत्तिप्रति पनि सहभागीको गुनासो रहेको पाइयो। त्यति मात्र होइन,  सैद्धान्तिक कुरा गरेर मात्र तालिम समाप्त गर्ने, गुणस्तरभन्दा पनि सहभागी संख्या बढाउ मात्र ध्याउन्न हुने, स्थानीय समन्वय तथा सहकार्यमा कमी भइरहेको, तालिमपछि अनुगमन पृष्ठपोषण तथा पुनर्ताजगी तालिमको अभाव खट्किने गरेको कुरा पनि स्थानीय अध्ययनका क्रममा पाइयो।

टुङ्ग्याउनी

समग्रमा, नेपालका होमस्टेको बाढी आएको छ। मेचीदेखि कालीसम्म अर्थात् कालापानीदेखि केचनाकवलसम्म नै होमस्टेको लहर चलेको छ तर खुलेका सबै होमस्टे राम्रोसँग चलेका छैनन्। कतिपय ठाउँमा होमस्टे–अनुदानको ‘रोग’ले झन् ग्रस्त पारेको छ। अध्ययन गरिएको ‘महाभारत हिल्स’मा पनि पछिल्लो समय होमस्टे लगभग निष्क्रिय अवस्थामा पुगेका छन्।

सुरुमा मोटरबाटो बनेको थिएन, अहिले सबै गाउँ र टोलमा मोटर पुग्छन्। पाहुनाहरू दिनभर घुम्ने र राति अन्तै बस्न जाने गुनासो पनि सुनिन्छ। साथै, होमस्टे अब होमस्टे जस्ता छैनन् ’होमटेल‘ भन्न सुहाउने भएका छन्, होटेल भन्न सुहाउने भएका छन् भन्ने गुनासो पनि छ। जे माग्यो त्यो पाइने, जतिबेला आए पनि पाहुना राख्ने प्रणाली बढ्दै गयो भने ती सांस्कृतिक होमस्टे नभएर व्यापारिक ‘होमटेल’ हुने भए, पारिवारिक माया र रैथाने सुगन्ध होमस्टेमा पाइन्न भने होमस्टेको साइनबोर्ड झुण्ड्याउन छोड्नुपर्छ र ‘होमटेल’ वा होटेल नै जिन्दावाद भन्नुपर्छ, दूरदराजका सांस्कृतिक पक्ष र स्थानीय रैथानेपन जोगाएका गाउँमा मात्र यस्ता होमस्टे चलाउनुपर्छ भन्ने यस पंक्तिकारको पनि निष्कर्ष छ।

‘होमस्टेले नेपाली संस्कृतिको मौलिकपन र आधिकारिकता (औथेन्टिसिटी) जोगाउनैपर्छ, अन्यथा होमस्टे नभनौँ, होमस्टे नखोलौँ भन्ने अभियान अब तपाईँजस्ता होमस्टेमा नै पिएचडी गरेका व्यक्तिले अगाडि बढाउनुपर्छ’, प्रमुख बाह्य परीक्षक तथा संस्कृतिविद् प्राडा रमेशराज कुँवरको एक भनाइ मेरा लागि पनि अगाडि बढ्ने मूलमन्त्र बनेको छ। नेपालका लागि यो मूलमन्त्रले अग्रदिशा दिने कुरामा म विश्वस्त छु। अस्तु।

(डा. कणेल पर्यटन, शिक्षा तथा विकास विषयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता हुन्। उनले भियतनाममा समेत काम गरिसकेका छन्।)  

प्रकाशित: १० माघ २०८२ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App