प्रेममा यस्तो शक्ति हुन्छ। जसले मर्न, मार्न र बचाउन सक्छ। दया, माया, करुणा, रिस, घृणा आदिको अन्तरघुलनबाट सञ्चालित मानव जीवनको जन्म त केवल एउटा दुर्घटना मात्र हो। कसको कोखबाट कस्तो र कोबाट सृष्टि हुन्छ थाहै हुँदैन। चाहेर पनि कसैको कोख रित्तो हुन्छ भने कसैले अन्जानमा गर्भधारण गर्न पुग्छ। यस्तै विषयवस्तुलाई आधार बनाई आर्य जातिबाट भएको यौन–काण्डदेखि माओवादी द्वन्द्वसम्म आइपुग्दा एउटी दलित महिलाले गरेको सङ्घर्ष र जीवन भोगाइलाई साहित्यकार शिव प्रधानले उपन्यास मार्फत पोखेका छन्। उनको ‘प्रेमाश्रू’ नवीन उपन्यास हो।
आरनमा हतियार बनाउँदै पुख्र्यौली पेसामा निरन्तर लागिरहेका छविलाल र कमलीको जीवन आफ्नै गतिमा बगिरहेको हुन्छ। सन्तान नभएपछि दलित दम्पती चिन्तामा हुन्छन्। गाउँका वेदनाथ पण्डितले जङ्गलमा कमलीलाई बलात्कार गरेपछि गर्भ रहन्छ।
कमलीले छोरी जन्माउँछे तर पण्डितबाको डर र दबाबमा चुपचाप सहेर बस्छे। दलितमाथि गरिने छुवाछुतको व्यवहार अनि भोगाइलाई नछेक्ने विभेदकारी समाजलाई उपन्यासकारले देखाउन खोजेको पाइन्छ। गाउँका टाठाबाठाले दलित महिलामाथि गरेको शोषणको कथा हो यो। छोरीको चिना बनाउन उसैका बाबु वेदनाथले पैसा लिएको लोभी र मगन्ते पात्रका रूपमा पण्डितबालाई चित्रण गरेको पाइन्छ।
छोरी लालमाया हुर्किंदै गई। सानैदेखि नाचगानमा रुची भएकै कारण माओवादीले प्रयोग गर्न घरबाट लिएर जान्छ। जङ्गल पसेपछि विचार, गीत, सङ्गीत, नृत्य मात्र नभएर बन्दुक नै बोक्न बाध्य भएकी कमरेड लालमायाको क्रान्तिकारी कथानक प्रस्तुतिले पढ्नमा कौतूहल जगाउँछ।
जनमुक्ति सेनामा लागेर कमरेड निश्चल र निसानको कमान्डमा जनमुक्ति सेनाभित्र हुने कार्यशैली, छापामार तालिम, युद्घकला, कमान्डरको आदेश, आत्मविश्वास, लडाकुहरूको जोस, जाँगर, उत्साह जगाउने भाषण जस्ता घटनाक्रमलाई औपन्यासिक धारमा बगाउनु चानचुने कुरो होइन।
गीत, सङ्गीतलाई हतियार बनाउँदै, जनतालाई जागरुक गराउँदै र सत्तापक्षलाई परास्त पार्ने अम्यास गर्दागर्दै लालमाया र निसानलाई लेखकले नजिक्याउँदै लान्छ र रुकुम आक्रमणपछि एकदिन निसानसँग एकाकार भएपछि दुई मुटु एकै भएको देखाउँछ। यता सुरक्षा फौजले लालमायाको घरमा पुगेर तेरो आतङ्ककारी छोरी निकाल् भन्दै बाबुआमालाई दिएको दुःख अत्यन्तै कष्टप्रद लाग्छ भने लालमायाका बाबुलाई गोली ठोकेर सिध्याइदिन्छ। त्यो खबर पाएर लालमाया दलबलसहित घर पुगेपछि आमाछोरीले गरेको संवाद र भावविह्वल गतिविधिले हृदय नै समाउँछ।
श्रीमतीको हातबाट श्रीमान् खोसेर सत्ताका सेनाले गोली ठोकेको, एक्ली आमालाई छोडेर फेरि जङ्गल पस्नुपर्ने लालमायाको बाध्यात्मक परिस्थितिलाई लेखकले राम्ररी बुनेका छन्। सरकार र विद्रोही पक्ष दुवैको चपेटामा परेको त्रासमय छ गाउँ । यता पुरानो व्यवस्था भत्काएर नयाँ व्यवस्था स्थापित गर्न लागिपरेको युद्घको गतिविधिलाई अध्ययन गरेरै लेखेको देखिन्छ।
देशका लागि जङ्गलमा युद्घाभ्यास गर्ने गराउने, एक ठाउँबाट अर्को ठाउँमा सर्ने क्रममा लालमाया र कमरेड निसान एउटै एरियामा पर्छन्। खाराको सैनिक क्याम्पमाथि भीषण हमला गर्ने क्रममा निसानलाई तातो गोलीले वारपार पार्दा लालमायासँगै हुन्छे, निसान सहिद बन्छ। त्यो समय निसानको भ्रूण लालमायाको पेटमा बढ्दै थियो। निसानले भन्छ, ‘लालु, तिमी बच्चाकै लागि भए पनि यो युद्घ मैदानबाट भाग।’
मध्यरात युद्घभूमि छोडेर लालमाया भाग्न सफल हुन्छे। लेखकले एक ठाउँमा भनेका छन्, ‘युद्घ र प्रेम सबै जायज हुन्छ।’ (पृ १९१) रातभर एक्लै जङ्गल, खोलानाला पार गर्दै उज्यालो खस्ने बेला आमै मात्र भएको घरमा शरण लिन पुगेकी दोजिया लालमायाले पाठकको मन पगाल्छ। दुवै पक्षको अत्याचारले छोरामान्छे गाउँमा कोही नभएको कथाव्याथालाई जोडेर गाउँबस्ती उराठलाग्दो हुनुको कारणलाई उपन्यासकारले बाहिर ल्याउन खोजेको पाइन्छ।
गर्भवती लालमायाको गन्तव्यविहीन बाटामा आइपर्ने अनेक समस्या र झमेलाको सामना गर्दै बाग्लुङ पुग्छे र त्यहाँबाट देवघाट जानेक्रममा अर्को यात्री पत्रकार पुरञ्जनसँग परिचय हुन्छ। उसले देवघाटको आश्रममा पुर्याउँछ। आश्रममा बस्दाको गतिविधि र त्यहाँको सेरोफेरोलाई समेटेर कथागत दायरा बढाउन खोजेको देखिन्छ। त्यहाँ बस्ने विश्वकर्मा भाइलाई माइती बनाएको कथाभित्र पनि माओवादी र सेनाबाट भाइको परिवार छिन्नभिन्न भएको प्रसङ्ग भेटिन्छ भने लालमायाले आफ्नी आमालाई आश्रममा ल्याउँछे र त्यही आश्रममा छोरी गंगाको जन्म हुन्छ।
असन्तोषले मान्छेलाई अनेक मोडहरूमा पुर्याउने गर्छ। आश्रममा आमाहरूको सहयोगमा सानोतिनो व्यापार गर्दै गरेकी लालमाया फेरि गाउँ पुग्छे। छोरी गंगालाई गाउँको स्कुलमा भर्ना गरेपछि भविष्यको ठुलो सपना बोकेर गाउँ छाडी बुटवल हुँदै काठमाडौं पुग्छे।
काठमाडौं ठमेलको व्यस्त बजारमा रेस्टुरेन्ट, क्लब, डिस्कोमध्ये चाँचरी रोधीघरमा काम गर्न थालेपछि लसिता नाम राखेर लेखकले आफ्नो विवेक प्रस्तुत गरेका छन्। सानै उमेरदेखि युद्घमा होमिएकी लालमाया लसिता केसी भएर रोधीघरतिर काम गर्न बाध्य भएको उपकथाभित्र एउटी नारीमा हुने इमान र सन्तान, सृष्टिकर्ता र देशप्रेमजस्ता विषयलाई मिठो शैलीमा जोडेको भेटिन्छ।
रोधीघर रेस्टुरेन्टमा काम गर्ने, गराउने र व्यवसाय कसरी चल्छ भन्ने कुरालाई अघि सार्दै एउटी महिलाको जीवनले भोग्नुपरेका कथाव्यथा र जहाँ पनि नारीलाई खेलौनाका रूपमा प्रयोग गर्ने गरेको देखाइएको छ भने माओवादी युद्घले निम्त्याएको जटिल परिस्थितिबाट सिर्जित अन्योलपूर्ण लालमायाको जीवनजस्तै एन्जिला पनि गाउँमा विद्रोही र सत्ताको दमन खप्न नसकेर विभिन्न चरण पार गर्दै भारतको चेन्नई हुँदै फेरि नेपाल फर्केर डान्सबारमा काम गर्न आइपुगेको प्रसङ्गले नारीहरू जहाँ गए पनि, रामै काम गरे पनि सुरक्षित हुन नसकेको उपन्यासकारको बुझाइ हो कि भन्ने लाग्छ।
प्रेमाश्रु उपन्यासले गाउँबस्तीदेखि काठमाडौंका रेस्टुरेन्टसम्म मात्र पुर्याउँदैन, त्यहाँ भेटिएका ग्राहकहरूले गर्ने व्यवहार, साहुको दबाब र जे पनि गर्न तयार हुनुपर्ने नारी पात्रको बाध्यतालाई देखाउँछ। ग्राहकहरू अनेक स्वभाव र सोचका भेटिए पनि एकदिन युद्घताकाका कमान्डर (निश्चल) रामेश्वरसँग त्यही रेस्टुरेन्टको टेबलमा भेट हुन्छ लसिताको। युद्ध हाकेको कमान्डर रामेश्वरलाई राज्यले सही स्थान नदिएको गुनासोसँगै बिदेसिन लागेको थाहा हुन्छ। लसितालाई पनि विदेश जान सल्लाह दिएपछि लसितामा एकप्रकारको भूत चढ्छ र पैसा जुटाउन गाउँतिर लागेको कथा शृङ्खलामा जनक्रान्तिले ल्याएको व्यवस्थाप्रतिको वितृष्णालाई देखाइएको छ।
लालमाया र रामेश्वर अमेरिका जाने क्रममा एउटा दलालले इन्डिया पुर्याउँछ। त्यहाँबाट फेरि अर्को दलालले इक्वेडर, त्यसपछि फेरि कोलम्बिया पछिको कष्टकर यात्रासँगै मृत्युको बाटो (डेड रुट), कुनै ठाउँमा डुंगाको प्रयोग। ठाउँठाउँमा दलाललाई पैसा बुझाउनुपर्ने। जङ्गलमा आतङ्ककारी र लुटेराहरू भेटिने। नदीनाला र अनकन्टार बाटो। नाङ्गै पारेर भएभरको लुट्ने। कतिलाई त्यहीं मार्ने। हिँड्दा हिँड्दै घाइते भएमा त्यत्तिकै छाड्नुपर्ने। मान्छेको सिनो कुल्चिँदै हिँड्नुपर्ने, वन्यजन्तुको उत्तिकै डरजस्ता वर्णनले लेखक आफैं यात्रारत थिए कि भन्ने आभास दिलाउँछ।
पानामा क्याम्पमा पुगेर हात उठाएर शरण लिएपछि मात्र कोस्टारिका बोर्डरमा पुगेको संस्मरणात्मक लेखनशैलीले झन् तान्दै लान्छ। कोस्टारिकाबाट निकारागुवा, हुन्डुरस, ग्वाटेमालाबाट मेक्सिको र क्यालिफोर्निया पुग्नलाई ठुलै युद्घ लड्नुपरेको, २० फिटको अग्लो पर्खाल नाघ्न नसक्दा धेरैको ज्यान गएको, कति फर्किएका, तर लसिता र परमेश्वरले दलाललाई पैसा दिएर पर्खाल पार गरेको कथांश पढ्दै जाँदा वास्तवमै लेखक पात्रमा समाहित भएको पाइन्छ।
यो पढिरहँदा नियात्राजस्तो लागे पनि डङ्की रुटमा हिँडेको त्यो कष्टकर भोगाइले रोचकता थपेको छ। त्यहाँको नियमअनुसार अदालतमा मुद्दा दायर हुने र कतिको प्रमाण नपुगेर जेलमै सड्नेजस्ता प्रसङ्ग आउँछन् भने लालमाया र रामेश्वरको सवालमा माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रियामा गइसकेकाले उनीहरूलाई नेपाल फिर्ता गरेको जानकारीमूलक सन्देश भेटिन्छ।
नेपाल आएर पनि धेरै हन्डर र ठक्कर खाएर लालमाया फेरि गाउँमा पुग्छे। छोरी गंगा र आमासँग गाउँमै जीवन गुजारा गरिरहेका बेला आमा कमली सिकिस्त बिरामी पर्छिन् र छोरीलाई आफ्नो गोप्य कुरा सुनाउँछिन्। लालमायाको खास बाबु पण्डितबा भएको आफ्नी छोरीलाई सुनाएपछि आमा परलोक जान्छिन्।
वेदनाथ पण्डितकी छोरी हुँ भन्ने पक्का भएपछि लालमायामा बदलाको भावना जाग्छ र केही दिनको प्रयासपछि पण्डितबाको टाउको छिनालिदिन्छे, जहाँ आमालाई बलात्कार गरी पेट बोकाएको थियो। एउटी महिलामा यस्तो आँट आउनुमा बालक छँदा काट्ने, मार्ने, बन्दुकसँग खेलेको बालमनोविज्ञानबाट प्रभावित मनोदशा र विद्रोही चेतले सिकाएको परिणामजस्तो लाग्छ।
ज्यान मारेको कसुरमा जेल परेपछि पत्रकार पुरञ्जन कारागार पुग्छ र अन्तर्वार्ताका क्रममा देश, काल, परिस्थिति, राज्यको ढुलमुले नीति, महिलाले भोग्नुपरेको अवस्था, अस्थिर सरकार, गृहयुद्घको आवश्यकता, सत्यतथ्यलाई दबाउने प्रवृत्ति जस्ता बेथिति, विसङ्गतिका कुरालाई उपन्यासकारले जेलजीवन बिताइरहेकी लालमाया मार्फत उजागर गरेका छन्।
दलित परिवारको पुर्ख्याैली पेसा आरनबाट उठान गरेको विषयवस्तु युद्घतिर धकेलिन्छ। देश पूरै द्वन्द्वमा फसेपछि उजाडिएको गाउँघर र तहसनहस भएको परिवार अनि मुख्य पात्र लालमायाले भोगेको दर्दनाक जीवनको सार हो ‘प्रेमाश्रु’।
सबै पाठकले बुझ्ने भाषाशैली प्रयोग गरिएको छ भने उपन्यासको नामजस्तो प्रेम प्रसङ्ग खासै भेटिँदैन। बरु गाउँको कहालीलाग्दो जनजीवन, दलित महिला, बालबालिका र वृद्घवृद्घाको पीडादायी जीवन अनि सानै उमेरमा आमा हुँदाको क्षण, रेस्टुरेन्टको आकर्षण, आश्रमको भरोसा, अमेरिकी भूतको परिणाम जस्ता प्रस्तुतीकरणले बिट मारिरहँदा कथानक संरचनामा कताकता विचलन भेटिन्छ। कतै निबन्धजस्तो, कतै यात्रा संस्मरणजस्तो लागे पनि उपन्यासकार शिव प्रधानको कलात्मक लेखनले औपन्यासिक लयमा फर्किएको ‘पे्रमाश्रु’ पठनीय छ।
प्रकाशित: १ कार्तिक २०८२ ०८:२० शनिबार





