साहित्यिक पत्रकार संघले साहित्यकार पदम विश्वकर्माको ‘पाताल’ उपन्यासको परिचर्चा गरेकाे छ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रम पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप बालेर उद्घाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत एवं कवि भीम उदासले द्वन्द्व, अवसर र रोजगारीको अभावमा गैरकानूनी रूपमा अमेरिका जानेहरूको ठूलो संख्या रहेको र तिनीहरू चारैतिरबाट शोषणमा परेको जस्तो उठाउनै पर्ने संवेदनशील विषयलाई उपन्यासले उठाएको बताए।
सोही कार्यक्रममा विशिष्ट अतिथि प्राडा सुरेन्द्र केसीले नेपालीहरूले भोगिरहेको पीडाप्रति राजनीतिक दल र नेताहरू संवेदनशील नभएको धारणा राखे।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएकाे कार्यक्रममा स्वागत गर्दै अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि बोलेका थिए। उनले कृतिकारको परिचय, कृतिको महत्त्व, सापसको परिचय र अन्य समसामयिक विषयमा बोलेका थिए।
कार्यक्रममा "पाताल"को "परिचर्चाबारे वरिष्ठ समालोचक प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका थिए।
वरिष्ठ समालोचक प्रमोद प्रधानले २०५२ पछि सर्वसाधारण नेपालीले भोगेका र भोगिरहेका त्रासदी र पीडादायी अवस्थालाई पाताल उपन्यासले अभिलेखीकरण भएको चर्चा गरे।
वरिष्ठ आख्यानकार नयनराज पाण्डेले पाताल उपन्यासको राम्रो चलचित्र बन्न सक्ने बताउँदै साहित्यिक कृतिको चलचित्र बनाउन जोखिम भने हुने उल्लेख गरे।
साहित्यकार एवं शारदा मासिकका सम्पादक विमल भौकाजीले उपन्यासमा पाठकलाई तान्ने क्षमता रहेको विचार व्यक्त गर्दै उपन्यासमा अध्यायको शीर्षक राख्दा कौतूहल समाप्त हुने भएकाले उपन्यासकारहरूले यसतर्फ ध्यान दिनुपर्छ बताए।
प्रसिद्ध निबन्धकार मोमिलाले पाताल उपन्यासमा देखाइएको पीडा, दुख र त्रासले पाठकलाई मर्माहत बनाउने बताउँदै उपन्यास उत्कृष्ट भएको बताइन्।
समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले पाताल एक सफल उपन्यास भएको र यसले नेपाली उपन्यासका क्षेत्रमा आफ्नो स्थान सुरक्षित राख्ने विश्वास व्यक्त गरे।
त्यस्तै डा. शान्तिमाया गिरीले सफल उपन्यास लेखनका लागि उपन्यासकारलाई बधाई दिँदै उपन्यासले नेपाली उपन्यासका क्षेत्रमा अहिलेको अत्यन्त संवेदनशील विषय उठाएको बताइन्।
कार्यक्रममा कृतिकार पदम विश्वकर्माले अनलाइनबाटै धन्यवाद ज्ञापन गर्दै आफ्नो सिर्जना यात्राबारे प्रकाश पारेका थिए।
संघको कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्यमावती सिंहले सहजीकरण गरेकाे कार्यक्रममा साहित्यकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, पवन आलोक, खेमनाथ दाहाल, युवराज नयाँघरे, युवराज मैनाली, नरेन्द्रराज पौडेल, विजध्वज थापा, ललिता दोषी, मथुरा श्रेष्ठ, पारशप्रकाश नेपाल, प्रद्युम्न जोशी, सविता ढुंगाना, सुमन वर्षा, शकुन्तला जोशी, रमेश दाहाल, डी. आर. राई, रितु कँडेल र राधा भण्डारीकाे उपस्थिति रहेकाे थियाे।
त्यस्तै डा. बुनु दाहाल, श्रीबाबु कार्की, हरिश कल्पित, जीवनकुमार श्रेष्ठ, शकुन्तला जोशी, छविरमण सिलवाल, प्रदीप सापकोटा, राजन नेउपाने, राज रजक, नीता श्रेष्ठ, हेमा मानन्धर, दिलकुमार महर्जन, देवेन्द्र केसी, रश्मि रिमाल, तेजेन्द्र प्रसाईं, कृष्णमाया विश्वकर्मा, सुमित्रा विश्वकर्मा, जीवनाथ पोखरेल लगायतको उपस्तिथि रहेको थियो।
प्रकाशित: १९ भाद्र २०८२ ०९:५१ बिहीबार





