फिल्म ‘आबाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै फिल्मका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, उषा उप्रेती, सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्।
निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई हामीले ५१ हजार पुरस्कार प्रदान गरेको बताए। उनले भने,‘हामीले घोषणा गरेबमोजिम नै उहाँलाई हाम्रो टिमबाट पुरस्कारस्वरूप ५१ हजार नगद प्रदान गरेका हौँ।’
एक महिनाअघि ‘आबाट आमा’ निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीले आआफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखेको थियो। सोहीबमोजिम नै दिप्सुले पुरस्कार हात पारेका हुन्।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आबाट आमा’ को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चा छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका छ। माघ १६ गतेबाट हलमा प्रदर्शन भइरहेको यो फिल्मले सुपरहिट भइसकेको छ।
यस फिल्मको संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् भने गीतमा कोरियोग्राफी गम्भीर विष्ट र दिलिप ओखेडाको छ। डीओपी नवराज उप्रेतीले गरेकोयो फिल्ममा अभिमन्यू निरवीले संवाद लेखेका छन्। उनलाई संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। आरआर फिल्मस्ले वितरण गरेको यो फिल्मको डिजिटल अधिकार ओएसआरको छ।
प्रकाशित: २९ माघ २०८२ ०९:५० बिहीबार





