प्रवासमा घरवासमाझैँ बिलकुल सजिलो भन्ने नै हुँदैन। घन्टौं घन्टा कर्म क्षेत्रमा निरन्तर तोकिएको समय सीमासम्म नै अनिवार्य रूपमा श्रम गर्नैपर्ने हुन्छ। त्यसपछि बाँचेको समयमा पकाउने, खाने र लुगाकपडा धुने, सुत्ने साथै अनलाइनमा नै भए पनि घरपरिवार, नातागोताहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ।
यो प्रवासी श्रमजीवी धेरै नेपाली श्रमिकको बाध्यता भनौं दिनचर्या नै हो। तैपनि मान्छेमा एक प्रकारको हुटहुटी र चाहना हुँदा भने थकान, कोलाहल र भौगोलिक दूरीले पनि नरोक्ने रहेछ।
यसैको उदाहरण एक हुन रन्जित! जो दिनभर प्रवासमा सधैं घन्टौं काममा खटिने गर्छन्। केही समय साहित्य साधनामा नै लगाउने गर्थ्याे।
यसैले देशमा नै केही गरौं भन्दा भन्दै पनि अभाव र गरिबीले च्यापेपछि बाध्य बनेर प्रवासमा नै आफ्नो जीवनको उर्वर जवानी सहित पसिना खर्चिनु परेको नमिठो पीडाले कताकता नपोल्ने हैन! तैपनि बाध्यताको अघि आफैँ घुँडा टेक्न बाध्य हुनु परेको छ। तैपनि भर्चुअल अनलाइनको रूपमा भए पनि साहित्यिक कर्ममा भ्याएसम्म जोडिने गर्छन्।
आज पनि एलिनाले भर्चुअल माध्यमबाट नै साहित्यिक कार्यक्रम प्रस्तोताकाे भूमिका निर्वाह गर्दै थिइन्। साहित्यिक कार्यक्रम भएको हुनाले रन्जितले पनि प्रतिक्रिया पोस्ट गर्यो।
एलिनाले स्क्रिनमा देखिएका सबै कमेन्ट पढेर नै प्रतिक्रियासहित स्वागत गरिन् तर रन्जितको प्रतिक्रियालाई नामै लिइनँ।
आडैमा बसेको साथीले सोध्यो: खै त तिम्रो नाम नै आएन त?
रन्जितले स्वास तान्दै भन्यो: डायस्पोरा भनी विभेद गर्या होला!
साथीले जवाफ सुनेर अरू थप सोध्ने इच्छा र हिम्मत राखेनन्।
प्रकाशित: ६ असार २०८३ ०९:०५ शनिबार





