शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार बोधराज पौडेलको निबन्धसंग्रह ‘धमिराको देवल’ को लोकार्पण तथा परिचर्चा गरेको छ।
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीकाे अध्यक्षता र वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण गरिएकाे हाे।
कार्यक्रमका प्रमुख अतिथि तथा शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम र प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षकहरू सविता ढुंगाना र संगिता शर्मा, गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचकद्वय प्रमोद प्रधान र प्राडा गोविन्दमानसिंह कार्की, निबन्धकार पाैडेल लगायतले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका हुन्।
समालोचकद्वय प्रमोद प्रधान र प्राडा गोविन्दमानसिंह कार्कीले निबन्धकार पौडेलको लाेकार्पित निबन्धसंग्रह ‘धमिराको देवल’ काे समीक्षात्मक टिप्पणी गरेका थिए।
समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले निबन्धकारकाे खडेरी परिरहेकाे बेला निबन्धकार पाैडेलकाे उपस्थित स्वागतयाेग्य भएकाे बताए। अध्यात्म, विज्ञान, विपन्नता जस्ता विविध विषय समेटिएका निबन्धमा कल्पना, हृदय र विचारकाे सुन्दर संयाेजन रहेकाे पनि समाचलाेक कार्कीले बताए।
त्यस्तै समालोचक प्रमोद प्रधानले ‘धमिराको देवल’मा मानवीय जीवन, प्रकृति र दृश्यकाे सुन्दर सामीप्य रहेकाे बताए। पर्या चेत, प्रकृतिकाे विम्ब, सिलसिलेवार प्रस्तुति र बेथितिप्रतिकाे शालीन प्रहारले उनकाे निबन्धसंग्रह पठनीय बनेकाे बताए।
प्रमुख आतिथि वरिष्ठ समालोचक प्राडा गौतमले काव्यिक, विम्बात्मक, सूक्तिमयता र इमानदार प्रस्तुित पौडेलको निबन्धगत वैशिष्टय रहेको बताए। आफूलाई कहीं कतै नढाँटीप्रस्तुत गर्नुपर्ने भएकाले निबन्ध लेख्न त्यत्ति सहज नभएको पनि प्राडा गौतमले बताए।
यसैगरी कार्यक्रममा अध्यक्ष लेकाली, विशेष अतिथि पाठक र कृतिकार बोधराज पौडेलले आआफ्नो मन्तव्य राखेका थिए।

काठमाडौं, अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा कवि कल्पना काफ्लले सहजीकरण गरेकी थिइन्। उक्त कार्यक्रममा साहित्यकारहरू - किशोर पहाडी, विष्णु आभूषण, नवराज रिजाल, राजेश खनाल, श्रीबाबु कार्की, प्रेम राई परीक्षित, ‘अन्तर्बाेध’ त्रैमासिकका सम्पादक होमशंकर बास्तोला, ‘कल्पता’ द्वैमासिकका प्रधानसम्पादक घनबहादुर थापा, ‘संसाक’ मासिकका उमेश पाण्डे, राजन न्यौपाने, डी. आर. राई, पारशप्रकाश नेपाल, रितु कँडेल, सन्तोशकुमार दाहाल, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो।
परिबाेध मिडिया प्रालिले प्रकाशन गरेकाे उक्त कृतिकाे आवरण कामना पाैडेलले तयार गरेकी हुन्। यसअघि बगर र काँसहरू (कवितासंग्रह, २०७५) र साेकेसकाे ऐना (निबन्धसंग्रह, २०७८) पाैडेलका प्रकाशित कृति हुन्।
प्रकाशित: २९ कार्तिक २०८२ ११:५२ शनिबार





