९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

देवी प्रतिभाले अमेरिकामा कथा वाचन गर्ने

वाचनकला मार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका देवी प्रतिभाको अमेरिका कथा वाचन यात्रा तय भएको छ। वेलडन क्रियसन्सको आयोजनामा सन् २०२६ को मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा 'देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा' हुने भएको हो।

उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू मार्फत भगवान श्रीकृष्णको उपदेश र धार्मिक सन्देश अमेरिकी भूमिमा फैलाउने आयोजकले बताएको छ।

'कथा केवल सुनाउने कुरा होइन, यो भगवानको वाणी हो। जहाँ श्रद्धा हुन्छ, त्यहीँ भगवान बास गर्नुहुन्छ,' अमेरिका यात्रा तय भएसँगै देवी प्रतिभाले भनेकी छन्, 'म अमेरिकामा रहेका नेपाली तथा भारतीय आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग कथा वाचन,भक्ति, संस्कार र धर्मको सन्देश बाँड्न चाहन्छु।'

देवी प्रतिभा यात्रामा भगवत गीता प्रवचन- श्रीकृष्णको शिक्षाबाट जीवन र धर्मको दर्शन, राधा कृष्णको आध्यात्मिक संवादसहित कथा वाचन, भक्ति र आत्माको मेल भजन, पूजापाठ र आरतीसँगै नेपाली धर्म, संस्कार र एकताको उत्सवसहितको सांस्कृतिक समुदाय भेटघाट कार्यक्रम आयोजना हुने बताइएको छ।

देवी प्रतिभाले पछिल्ला वर्षहरूमा नेपाल, भारत, लगायतका देशहरूमा प्रभावशाली प्रवचन प्रस्तुत गर्दै आएकी छन्। आध्यात्मिक गहिराइ, प्रेम, र दर्शनसहितको उनको कथा वाचन शैली नेपाल र भारतमा निकै लोकप्रिय मानिन्छ।  

अमेरिका भ्रमणका क्रममा उनले ओहायो, पेन्सिलभेनिया, एक्रोन, कोलोराडो, बोस्टन, मेरिल्याण्ड, भर्जिनिया,न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया,यूटा, नर्थ क्यारोलिना, इलिनोइस लगायतका राज्यहरूमा प्रवचन दिने कार्यक्रम तय भएको आयोजकले बताएको छ।

देवी प्रतिभाको 'अमेरिका कथा वाचन यात्रा २०२६' लाई धर्म, श्रद्धा र नेपाली संस्कृतिको पुनर्जागरणको रूपमा हेरिएको छ।

प्रकाशित: २७ कार्तिक २०८२ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App