१२ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

अठोट

कविता

मेरी आमाको अमूल्य वचनलाई

कहिल्यै चाहिन मूल्यहीन बनाउन,

भन्नुहुन्थ्यो सहयोगी हात धेरै लामो र बलियो हुन्छ

संसारका दुःखपीडालाई उठाएर थाक्दैन कहिल्यै!

मेरी आमाको आशिषसहित

अग्लो हिमालमा फर्फराइरहेको मेरो सपना टिप्न चाहन्थे

भन्छन् नि जीवन दुई दिनको

(एकदिन जन्मनु र अर्काे एकदिन मर्नु)

जन्मलाई सार्थक बनाउन

मेरी आमाले सधैं मलाई ऊर्जा दिनुभयो

आफ्नै लगन र साधनाको बैशाखी टेकेर चुचुरोमा पुग्न चाहन्थे

निकाल्न चाहन्थे कुहिरोभित्र धुम्म परेर बसेका

पवित्र आत्माहरूलाई बगैंचामा

कुसंस्कार र कुरीतिका परमात्माहरू

निर्मम परिस्थितिसँग पनि निडर भै मैदानमा दौड्ने म

त्यतिबेला मलाई क्षणभरमा अपाहिज बनाइएछु र

उठ्नै नसक्ने गरी फसेछु दलदलमा!

मेरा निरीह आवाज सुनिदिने कोही थिएन

मेरा बग्रेल्ती चीत्कार ठोकिन्थे पहाडका छातीमा

मेरो विरूद्धमा घोच्थे तिखा काँडाहरूले

तर म धर्ती भएर चोट थापिरहे

एक्लिए म र एक्लो बनाइयो मलाई

तर, मौनतामा शक्ति हुन्छ भन्ने भुलिनँ मैले

आँधीतुफान पन्छाउँदै उज्यालो खोज्न अगाडि बढिरहे

यो बाटोमा कति आफ्ना भए

कति पराई

कति फूल भए कति काँडा

म माउबिनाको बचेरा जस्तै भए कुनै बेला

म हुलबाट छुटेर हराएझैं एक्लो भएँ

म एउटा जीवनको पीडा कम गर्न सक्छु भने

वा एउटा पीडालाई शीतल पार्न सक्छु भने

के यो पाप हो!

एकाङ्कीमा विश्वास टुटिसकेको थियो

प्रेमसाथ र आडभरोसा सबै

बहिरो र लाटा बनेका थिए

बेचैनीको खुइय्य लामो श्वास

निर्दोष आँखाको बाटो हुँदै

परपर उडिरहेको तुँवालाे नियालिरहन्थे

मेरो निर्दोष हातले खडा गरिएको

धरहरा मेरैसामु यसरी ढलाइयो!

म पखेटा काटिएकी परेवाझैं भए

मुख थुनिएकी मैनाजस्तै अमूक भए

मेरो रहरको बगैंचामा फूलहरू खिल्खिलाएनन्

मैले रोपेका फूलका कोपिलालाई लछारियो!

पुतलीहरू नाच्न छाडे

धुन दिने चराहरू चिर्बिराउन छोडी गुँडतिर लागे

आकाशमा कालो बादल धुम्मघुम ओढिरहेको थियो

चिसो बतास तेज सररर चीत्कारसँगै सुसाउँदै थियो

पीडा खेप्न नसकी मजबुत वृक्ष झुकिरहेका थिए

आफ्नाले दिएको दर्दले

कति कमजोर बनाउँदो रहेछ

ती पीडा सहेर झुकिरहेका वृक्षलाई सोध्नु!

यतिबेला ममाथि पैरो खसिरहँदा

तमासेहरू तमासाको ढोल पिट्दै

हर्ष-उल्लासको उत्सव मनाउँदै थिए 

तैपनि हिम्मत नहारी मैले

मध्यरातमा देखेको कमजोर अधुरो सपना बिर्सेर

सुन्दर नयाँ बिहानी उदाउने साइतमा,

म अर्को मजबुत सपनासँगै बिउँझिए 

जहाँ उषाका किरण फाँटभरि

राताम्य फुलेका थिए

जहाँ आँट छ त्यहाँ भगवानको साथ!

अन्तमा

सधैं सूर्य किरण छरिदिने चाहना

आशाको बगैचामा मन्द सुगन्ध छरिदिने चाहना  

मिठो धुन बनेर निराशाको आशा बनिदिने चाहना

उजाडिएको बगरमा कलिलो

फूल खिलाउने चाहना

लामो हात बनेर संसारभरिकै

दुःखपीडामा मलम लगाउने चाहना

सधैंसधैंसधैं।

प्रकाशित: ३१ श्रावण २०८२ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App