माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ ले प्रदर्शनको दोस्रो सातामा पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ।
चलचित्र विकास बोर्डको आइतबारसम्मको विवरणअनुसार ‘पेन्सन पट्टा’ले हालसम्म ७ करोड १ लाख ४२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रका २ लाख ४४ हजार ८४२ टिकट बिक्री भइसकेका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले लाहुरे संस्कृति, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र जिम्मेवारीलाई कथाको केन्द्रमा राखेको छ। जेठी आमाको खोजी वरिपरि अघि बढ्ने कथाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको दाबी छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङ लगायतका कलाकारको अभिनय छ।
सोही मितिमा प्रदर्शनमा आएको ‘बेहुली’ ले भने हालसम्म २ करोड ९३ लाख रुपैयाँ कमाएको छ। उक्त चलचित्र १ लाख ५ हजार ३३८ दर्शकले हेरेका छन्।
त्यस्तै, ‘तिनिहरुः एलिफेन्ड इन द फग’ ले पनि बक्स अफिसमा करोडको आँकडा पार गरेको छ। चलचित्रले १ करोड २५ लाख रुपैयाँ कमाउँदा ३५ हजार ३३७ दर्शक पुगेका छन्।
दोस्रो सातासम्म आइपुग्दा नेपाली चलचित्रबीचको बक्स अफिस प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।
प्रकाशित: १२ आश्विन २०८३ १२:१७ सोमबार





