समालोचक ठाकुर शर्मा भण्डारीद्वारा लिखित 'नवनी' कविता कृति लोकार्पण भएको छ। कार्यक्रममा उपस्थित सबैले एकसाथ 'नवनी' लोकार्पण गरेका थिए। भण्डारीका विभिन्न विधामा गरी तीन दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले कवि भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे चर्चा गरेका थिए। नौलो र अनौठो अनि ज्यादै सौहार्दपूर्ण तथा पारिवारिक जमघटका बीच भएको कृति लोकार्पण कार्यक्रममा उपस्थित भएर प्रमुख आमन्त्रित व्यक्तित्वको भूमिका पाएकोमा हार्दिक आभार व्यक्त गर्दै कृति प्रकाशनका लागि बधाई तथा शुभकामना पनि दिएका थिए।
कार्यक्रममा डा.हरिप्रसाद पोखरेलले कवि भण्डारीका कविताहरू सरल र मीठो रहेको बताए।
इतिहासविद् प्राज्ञ दिनेशराज पन्तले भण्डारीका कृतिहरूमा थपिएको यो नयाँ कृति आफैँमा ठूलो उपलब्धि भएको बताए। शर्माका कविता छन्द र पद्यमा मात्र नभई गद्यमा पनि रहेछ जुन पठनीय र स्तरीय भएको उनको भनाइ छ।
समालोचक गोपी मैनालीले कवि ठाकुर शर्माको बहुआयामिक प्रतिभाको चर्चा गरेका थिए। कवि ठाकुरले प्रकृतिलाई प्रतीक बनाएर कविता लेखेको बताउँदै उनले भने, 'ठाकुरका कविताहरूमा आक्रोश छ,असन्तुष्टि छ,उत्साहको उर्जा छ,आशयको आग्रह छ तर ती शालीनता र शिल्पले मृदुल छ।'
कार्यक्रममा कवि भण्डारीले आफू एक स्रष्टा भएको र प्रायःजसो हरेक दिन साहित्यिक कार्यक्रमहरूमा घर बाहिर हुने कारण घरपरिवारको खुल्दुली मेटाउन र साहित्यकारहरूसँग परिचित गराउन चाहेको हुँदा आफ्नो नयाँकृति सार्वजनिक गर्ने अवसर छोप्न अनौपचारिक र थोरै औपचारिक कार्यक्रम गर्नु परेको बताए।
प्रकाशित: २ कार्तिक २०८२ १९:१० आइतबार





