२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

स्रष्टाले भोटेकोशी बाढीका मृतकको सम्झनामा विराटनगरमा गरे दीप प्रज्वलन

काव्य उद्यान नेपाल विराटनगर तथा नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले भाेटेकाेशी बाढीमा परी दिवङ्गत भएकाकाे सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरेकाे छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन तथा मौनधारण गरिएको छ।

काव्य उद्यान नेपाल, विराटनगर र नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको संयुक्त आयोजनामा शनिबार साँझ ५ः३० बजे महेन्द्र चोकमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा विराटनगरका साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको सहभागिता थियो। सहभागीहरूले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै बेपत्ता भएकाहरूको शीघ्र खोजी, घाइतेहरूको उद्धार तथा शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले प्राकृतिक विपत्तिले भौतिक क्षतिसँगै परिवार र समाजमा गहिरो पीडा निम्त्याउने भन्दै दुःखको यस घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु सबैको मानवीय दायित्व भएको बताए।

काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारी र नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाकी अध्यक्ष मञ्जु दाहाललगायत साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा साहित्यिक संस्थाले सामाजिक सरोकारका विषयमा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो।

महेन्द्र चोकमा प्रज्वलित दीपमार्फत मृतकप्रति श्रद्धाञ्जलीसँगै पीडित परिवारप्रति सहानुभूति, मानवीय एकता र आशाको सन्देश दिइएको आयोजकले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App