१३ वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

स्रष्टा खनालको 'पिरतीको गीत' सार्वजनिक

गीतकार पुष्पा खनालको रचनामा तयार भएको नयाँ गजल 'पिरतीको गीत' सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित 'दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान' विशेष समारोहका बीच यस गजलको लिरिकल भिडियो लोकार्पण गरिएको हो।

यस गजलमा चर्चित गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको छ भने गायिका गंगा सोनामले स्वर दिएका छन्। संगीत संयोजन विनोदकुमार भुजेलले गरेका हुन्। गजल सार्वजनिक कार्यक्रममा गायिका सोनामले गजलका केही अंश गाएर सुनाएका थिए।

केही समयदेखि प्रवासमा रहँदै आएकी गीतकार पुष्पा खनालले भिडियो सन्देशमार्फत आफ्नो नयाँ सिर्जना सार्वजनिक भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएकी छन्। यो गजलले प्रेम र मानवीय संवेदनालाई कलात्मक रूपमा समेटेको छ। यो गजल गीतकार खनालको आफ्नै आधिकारिक युट्युब च्यानल पुष्पा खनाल' मा सुन्न सकिन्छ।

नेपाली गीत-संगीत र साहित्यमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय गीतकार तथा साहित्यकार पुष्पा खनाल नेपाली गीत, संगीत र साहित्यको श्रीवृद्धिमा निरन्तर क्रियाशील छिन्। उनका 'प्रतीक्षा' र 'अभिनव' जस्ता चर्चित सांगीतिक एल्बमका साथै 'पोखिएँ यसरी' र 'गह पोखिएर' जस्ता साहित्यिक कृति प्रकाशित छन्।

नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन प्रयासरत खनाल हालै अमेरिकाको प्रसिद्ध 'इसा अवार्ड' को फिमेल राइजिंग स्टार, फिमेल सिंगल अफ द इयर, फिमेल सङ्गराइटर अफ द इयर र म्युजिक भिडियो अफ द इयर गरी चार विधामा मनोनयनमा परेकी छन्। सबै अमेरिकन गीतकारहरूका बीचमा उनी एक मात्र नेपाली गीतकारको रूपमा मनोनयनमा परेकी हुन्। नि:शुल्क अनलाइन भोटिङमार्फत विजेता चयन हुने यस प्रतिष्ठित अवार्डका लागि उनले सम्पूर्ण नेपालीलाई भोट गरेर साथ दिन समेत अनुरोध गरेकी छन्।

प्रकाशित: १२ वैशाख २०८३ ०९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App