४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

स्रष्टा कादम्बरीको ‘इमा’ लोकार्पण

साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

कार्यक्रम चलचित्र विकास बोर्ड परिसरमा भएकाे हाे। उक्त कार्यक्रममा साहित्यिक तथा सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा राष्ट्रियसभा सदस्य डा. अञ्जना शाक्य प्रमुख आतिथ्य तथा स्रष्टा कादम्बरी दाना श्रेष्ठकाे अध्यक्षतामा भएकाे हाे।

त्यसैगरी विशिष्ट अतिथिमा इजरायली राजदुत इस्मुलीक एल्विस र श्रीमती मिरा परेडयारका साथै गीतकार संघ नेपाल का अध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष शंकर थापा ‘स्माइल’, गीतकार अम्बिका गुरुङ, गायिकाहरू मिलन नेवा, सरिता शाही, सुवर्णकेशरी महत लगायत सुन्दर योजन तामाङ, सुगन्धा माझी, पेमा डोल्मा डेल्मु, युवराज लामा, तेजिङ शेर्पा, डिजे विपिन तामाङसहित साहित्य, संगीत र सामाजिक क्षेत्रसँग आबद्ध थुप्रै व्यक्तित्वको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गरेका थिए।

लोकार्पणसँगै हलभरि तालीको गडगडाहट गुन्जिएको थियो भने उपस्थित अतिथिहरूले स्रष्टाकाे सिर्जनात्मक यात्राको खुलेर प्रशंसा गरेका थिए।

स्वागत मन्तव्य राख्दै पेमा डोल्मा डेल्मुले वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा केयर गिभरको रूपमा कार्यरत रहँदै साहित्य सिर्जना गर्नु सामान्य कुरा नभएको उल्लेख गरे। उनले कठिन परिस्थितिबीच पनि स्रष्टाले आफ्नो संवेदनशील अनुभवलाई पुस्तकको रूप दिन सफल भएको भन्दै त्यसलाई प्रेरणादायी उदाहरणका रूपमा चित्रण गरेका थिए।

कार्यक्रममा आफ्नो धारणा राख्दै लेखिका कादम्बरी दाना श्रेष्ठ भावुक बनेकी थिइन्। उनले इजरायलमा रोजगारीका क्रममा आफूले जीवनका अनेक अनुभव, संघर्ष, पीडा र आत्मीय नजिकबाट महसुस गरेको बताइन्।

पुस्तक प्रकाशनमा आफ्नो दाजुको महत्त्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले नेपालमा जन्म दिने आमासँगै इजरायलमा आफूले धर्म दिने आमाजस्तै ममतामयी व्यक्तित्व पाएको स्मरण गरिन्। उनले दिवंगत ती आमाप्रति श्रद्धाञ्जली अर्पिँदै उनको आत्माको चिरशान्तिको कामनासमेत गरेकी थिइन्।

लेखिकाका अनुसार ‘इमा’ इजरायली शब्द हो, जसको नेपाली अर्थ ‘आमा’ हुन्छ। पुस्तकमा आमाप्रतिको माया, आत्मीय सम्बन्ध, वैदेशिक भूमिमा नेपाली कामदारले भोग्ने भावनात्मक संघर्ष, संस्कृतिको अन्तरसम्बन्ध तथा मानवीय संवेदनाका विविध आयाम समेटिएको छ।

यसअघि उक्त कृतिको विमोचन इजरायलमै सम्पन्न भइसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।  ‘इमा’ दिवंगत इम्प्लोयर माया वाइनको शोक स्मृतिको रूपमा आएको हो। दानाले इजरायलमा आफ्नी रोजगारदाताको रूपमा रहेकी माया वाइनको सम्झनामा लामो समयसँगै रहेर बिताएका पलहरू, उनको जीवन, योगदान, सङ्घर्ष, प्रेम र सम्झनालाई लेखिकाले शब्दमा बाँध्ने प्रयास गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै इजरायली राजदूत इस्मुलीक एल्विसले नेपाल र इजरायल बीचको सांस्कृतिक तथा मानवीय सम्बन्ध अझ प्रगाढ बनाउन यस्ता साहित्यिक कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले नेपाली समुदायले इजरायलमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि डा. अञ्जना शाक्यले कादम्बरी दाना श्रेष्ठलाई ‘भाग्यमानी लेखिका’ को संज्ञा दिँदै ‘इमा’ ले आमाप्रतिको भावना, ममता र संवेदना अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरेको बताए। उनका अनुसार यो पुस्तक कुनै एक व्यक्तिको कथा मात्र नभई इजरायलमा कार्यरत हजारौं नेपाली केयर गिभरको साझा अनुभव, संघर्ष र भावनाको प्रतिनिधित्व गर्ने दस्तावेज हो।

उनले केयर गिभरको काम वृद्धवृद्धाको शारीरिक हेरचाहमा मात्र सीमित नरही उनीहरूको भावनात्मक संसार बुझ्ने र आत्मीय सम्बन्ध निर्माण गर्ने कार्य पनि भएको उल्लेख गरे। बुढेसकालमा मानिसलाई माया, साथसम्मान र संवेदनाको आवश्यकता अझ बढी हुने भएकाले पुस्तकले समाजलाई सकारात्मक र मानवीय सन्देश दिएको उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो। साहित्य, संगीत र मानवीय संवेदनाले भरिएको उक्त समारोहले ‘इमा’ कृतिलाई पुस्तक विमोचनमा मात्र सीमित नराखी वैदेशिक भूमिमा संघर्षरत नेपालीहरूको भावनात्मक कथाको उत्सवका रूपमा स्थापित गरेको सहभागीहरूको धारणा थियो।

प्रकाशित: ४ जेष्ठ २०८३ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App