२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘विलोम’ काे दशाैं शृङ्खलामा भेटिए स्रष्टा दिव्य

नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा नेपाली लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’ को दशौँ अभ्यास सम्पन्न भएको छ। दशौँ ‘विलोम’ वार्ता आख्यानकार एवं कवि दिव्य गिरीसँग भएको हो।

लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यास अन्तर्गत सम्बन्धित स्रष्टासँग नेपाली लघुकथाको विगत, वर्तमान र भविष्य तथा अन्य विविध विषयमा समेत छलफल गरिन्छ। सोही क्रममा यसपटक गिरीसँग तीन घण्टा जति कुराकानी भएको हो।

यस पटकको अभ्यासमा गिरीसँग साहित्यसिर्जनाको प्रेरणा, सिर्जनाका क्षेत्र र विधाहरूबारे कुराकानी गरिनुका साथै लघुकथाका हकमा लघुकथा के हो र कस्तो हुनुपर्छ, लघुकथा लेखनको विगत र वर्तमान एवम् लघुकथा लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उनको लघुकथा लेखनबारे समेत विस्तृत कुराकानी भएको थियो।

लघुकथाकार त्रयविनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत दशौँ अभ्यास गिरीको निवासमा भएको हो। विलोम अभ्यास २०७९ साल फागुनदेखि प्रारम्भ गरिएको हो। यसअन्तर्गत यसअघि अशेष मल्ल, कणाद महर्षि, ध्रुव मधिकर्मी, भागीरथी श्रेष्ठ, राजव, विधान आचार्य, पुष्कर लोहनी, महेश प्रसाइँ र विवश पोखरेलसँग लघुकथा सम्बन्धित वार्ता गरिएको छ। यसरी गरिएका वार्ताका केही अंश कल्पतरू द्वैमासिकमा विलोम स्तम्भअन्तर्गत प्रकाशित हुँदै आएका छन्।

पछिल्लो समय ‘विलोम’ लघुकथा लेखन एक शैलीका रूपमा विकास भएको र सो शैलीमा लघुकथा लेख्ने र प्रकाशित हुने क्रम बढ्दै गएको छ।  

प्रकाशित: १७ मंसिर २०८२ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App