६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ सार्वजनिक

‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ सार्वजनिक गरिएको छ। टुमराज कोइरालाद्वारा लिखित यो पुस्तक सोमबार सार्वजनिक गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले जानकारी दिएको छ।

सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।

प्रविधिको विकाससँगै पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनर्स्थापित गर्ने अपेक्षाका साथ विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए। पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लिएको उनले बताए।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारलाई झकझक्याउने विश्वास व्यक्त गरेका छन्। भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उनले पुस्तकको भूमिकामा उल्लेख गरेका हुन्।

समाधान पत्रकारिता नाम दिएर पत्रकारिताको रचनात्मक अभ्यास प्रवर्धन गरिरहेको ‘सोलुसन जर्नालिज्म नेटवर्क’ की सहसंस्थापक तथा पुलित्जर पुरस्कार प्राप्त पत्रकार टिना रोजेनबर्गको पुस्तकबारे भनाइ छ, ‘नेपालका पत्रकार, पत्रकारितासम्बद्ध संघसंस्था र नीतिनिर्माताको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ। सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो।’

त्यसैगरी डेनमार्कको आह्रुस विश्वविद्यालयस्थित कन्स्ट्रक्टिभ इन्स्टिच्युटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उल्रिक हागरुपले भूमिकामा लेखेका छन्, ‘यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ। पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हाम्रो साझा बुझाइ हो।’

इन्स्टिच्युटकी एसिया–प्रशान्त निर्देशक तथा अस्ट्रेलियास्थित मोनास विश्वविद्यालयमा रचनात्मक पत्रकारिताकी प्राध्यापक केट टोर्नीले पुस्तकको भूमिकामा भनेकी छन्, ‘अब समय आएको छ– पत्रकारितामा यस्तो परिवर्तन ल्याउने जसले नागरिकलाई प्रेरणा दिन्छ, जानकारी दिन्छ र उनीहरूलाई सशक्त बनाउँछ र त्यो परिवर्तन रचनात्मक पत्रकारिताबाट सुरु हुन्छ।’

कान्तिपुर पब्लिकेसन्स, अन्नपूर्ण मिडिया नेटवर्क, नयाँ प्रकाशन, रेडियो नेपाल लगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी विभिन्न भूमिकामा पत्रकारिता अभ्यास गरेका कोइराला पत्रकारिता अध्यापनमा संलग्न छन्।

प्रकाशित: ११ भाद्र २०८२ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App