विराटनगरमा स्रष्टाद्वय श्रीओम श्रेष्ठ ‘रोदन’ र केदारप्रसाद रेग्मीलाई सम्मान अर्पिएकाे छ।
खोटाङ सामाजिक सेवा मञ्च, केन्द्रीय कार्यालय, विराटनगरको भाषा, साहित्य, कला उन्नयन उपसमितिले स्रष्टा सम्मान तथा नियमित रचना वाचन कार्यक्रमको ४४ औँ श्रृङ्खलाको अवसरमा स्रष्टाद्वयलाई सम्मान अर्पिएको हो।
कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू - बलराम पोखरेल, मधु पोखरेल, सरला चापागाई, बाबुराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृष्ण भण्डारी ‘मार्सेली’ लगायतले संयुक्त रूपमा स्रष्टाद्वयलाई माला, खादा र दोसल्ला ओढाएर सम्मान अर्पिएका थिए।
वरिष्ठ साहित्यकार बाबुराम पोखरेलले सम्मानित स्रष्टाहरूको योगदानको चर्चा गरेका थिए। उनले वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले कविता, निबन्ध, लघुकथा, नाटक जस्ता साहित्यका विविध विधाका दुई दर्जनभन्दा बढी कृतिको रचना, ‘मधुपर्क’ लगायत दर्जनौं पत्रपत्रिकाको सम्पादन तथा चलचित्र क्षेत्रमा समेत बलियो उपस्थिति मार्फत भाषा, साहित्य र कलाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान अर्पिएको बताए।
पोखरेलले सम्मानित व्यक्तित्व रेग्मीले खोटाङ जिल्लामा जन्मिएर गुल्मीमा शिक्षाको विकास तथा सप्तरी, सुनसरी र मोरङमा सामाजिक रूपान्तरणको क्षेत्रमा पुर्याएको योगदान र आधा दर्जनभन्दा बढी कृति मार्फत नेपाली साहित्यको उन्नयनमा खेलेको भूमिकाको सराहना गर्दै सम्मान अर्पिएको बताए।
प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपानेले सम्मानित सष्टाहरूले जस्तै सत्कर्म गरिएमा मानव चोला सफल र सार्थक हुने बताए।
विशेष अतिथि प्राज्ञ विवश पोखरेलले साहित्य देश विकासको मेरुदण्ड भएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गर्दै प्राप्त ज्ञान र अनुभवको कार्यान्वयन गर्दै समाज विकासमा जुट्न सबैलाई आग्रह गरे।
त्यस्तै आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले खोटाङ सामाजिक सेवा मञ्च साझा प्रयासबाट समाजको विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापित संस्था भएको र भाषा, साहित्य र कलाको यथोचित विकासबिना समाजको सर्वाङ्गीण विकास सम्भव नभएकाले यसले यस क्षेत्रमा समेत नियमित रूपमा काम गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे।
आयोजक संस्थाका सदस्य लक्ष्मी पोखरेलले सञ्चालन तथा साहित्यकार नानुमैया दाहालले स्वागत मन्तव्य प्रस्तुत गरेकाे कार्यक्रममा प्राडा हरिहर भण्डारी, डा. देवी पन्थी, हरि कट्टेल, दिनेशराज सुवेदी (दिङ्लाली कान्छो), गोपाल निर्भीक लगायत स्रष्टाले आआफ्ना रचना वाचेका थिए।
प्रकाशित: ८ मंसिर २०८२ ०९:१४ सोमबार





