हास्यटेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यही वैशाख ४ गतेबाट हुने बताइएको छ।
सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ। जसमा दुई चलचित्रको टिमको उपस्थिति थियो। पहिलो भागको रूपमा मितज्यू चलचित्रको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित थिए भने दोस्रो भागको रूपमा पहाड चलचित्रको टिमको उपस्थिति थियो।
पहिलो र दोस्रो सिजनलाई दर्शकले दिएको साथका कारण निर्माण टिमले तेस्रो सिजनमा केही परिवर्तन गरेको छ। यस पटक सेटमा केही परिवर्तन देख्न पाइनेछ। साथै जज् प्यानलमा यसअघि दुई जना (महाराजा र महारानी) रहेका थिए भने अहिले थप एकजना रानीको रूपमा भित्राइएको छ। रानीको भूमिकामा अभिनेत्री दिया मास्के भित्रिएकी छन्। महारानीको रूपमा गौरी मल्ल र महाराजाको रूपमा मनोज गजुरेल यथावत छन्। यस्तै तीन कमेडियन पनि भित्रिएका छन्। कमेडियन दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बाको पनि प्रवेश भएको छ। यस पटक कमेडी दरबार तेस्रो सिजनमा डाबर रेडपेस्ट शीर्ष प्रायोजकको रूपमा रहेको छ।
कमेडी दरबार प्रत्येक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युवमार्फत प्रसारण हुनेछ। कमेडी दरबारलाई श्रृद्धा प्रसाईं र बिक्की अगरवालले निर्देशन गर्दै आएका छन् भने होस्टमा बिक्कीसँगै सजिना खनाल रहेकी छन्।
यस्तै कमेडी दरबारको लेखनमा सरोज भण्डारी र विकास अर्याल छन्। साथै यसअघिका कमेडियन कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्याल यथावत् छन्।
प्रकाशित: २ वैशाख २०८३ ०७:१७ बुधबार





