केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सेन्सर)ले अभिनेता सलमान खान अभिनित चलचित्र ‘मातृभूमि’ लाई अर्को आदेश नआएसम्म प्रमाणपत्र नदिने निर्णय गरेको छ। यो फिल्म सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको सैन्य झडपमा आधारित छ।
यसअघि फिल्मको नाम ‘बैटल अफ गलवान’ राखिएको थियो। फिल्म सुरुमा अप्रिल १७ मा ईदको अवसरमा प्रदर्शन गर्ने योजना थियो, तर पछि यसको प्रदर्शन मिति अगस्टमा सारिएको थियो। सेन्सर बोर्डको निर्णयका कारण अब अगस्टमा पनि फिल्म प्रदर्शन हुने सम्भावना अनिश्चित बनेको छ।
एनडीटीभीका अनुसार फिल्म ‘मातृभूमि’ को प्रमाणपत्र दिनमा अझै केही समयका लागि रोक लगाइएको छ। निर्माता पक्षले स्वतन्त्रता दिवसको अवसर पारेर अगस्टमा फिल्म रिलिज गर्ने आशा राखेका थिए, तर प्रमाणपत्र नपाएकाले प्रदर्शन मिति फेरि सर्न सक्ने अनुमान गरिएको छ।
यो फिल्म सलमान खान फिल्म्सको ब्यानरमा सलमा खानले निर्माण गरेकी हुन् भने निर्देशन अपूर्व लाखियाले गरेका छन्। फिल्ममा सलमान खान, चित्राङ्गदा सिंह, अभिलाष चौधरी र अंकुर भाटिया मुख्य भूमिकामा छन्। फिल्मको संगीत हिमेश रेशमियाले तयार गरेका छन्।
यस फिल्ममा सलमान खानले १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल सन्तोष बाबुको भूमिका निभाएका छन्।
फिल्म सार्वजनिक हुनुअघि नै विवादमा परेको छ। गत वर्ष डिसेम्बरमा फिल्मको टिजर सार्वजनिक भएपछि चीनको सामाजिक सञ्जाल वीबोमा यसको व्यापक विरोध भएको थियो।
चिनियाँ प्रयोगकर्ताहरूले गलवान घटनालाई गलत रूपमा प्रस्तुत गरिएको आरोप लगाएका थिए। त्यसपछि निर्माता पक्षले फिल्मको नाम ‘बैटल अफ गलवान’ बाट ‘मातृभूमि’ मा परिवर्तन गर्यो। साथै, केही दृश्य र पटकथामा पनि परिमार्जन गरिएको बताइएको छ।
फिल्म ‘मातृभूमि’ को टिजर २७ डिसेम्बर २०२५, सलमान खानको ६०औँ जन्मदिनको अवसरमा सार्वजनिक गरिएको थियो।
फिल्ममा सलमान खानले १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन्। सन् २०२० को गलवान उपत्यका झडपमा उनले भारतीय सैनिक टोलीको नेतृत्व गरेका थिए र सोही क्रममा वीरगति प्राप्त गरेका थिए।
पछिल्लो जानकारीअनुसार फिल्ममाथि औपचारिक रूपमा प्रतिबन्ध लगाइएको पुष्टि भएको छैन। हाल यसको सीबिफसीबाट प्रमाणन प्रक्रिया जारी रहेको बताइएको छ र अन्तिम निर्णय आउन बाँकी छ।
प्रकाशित: २० असार २०८३ ११:२९ शनिबार



-600x400.jpg)
-600x400.jpg)
