लोमश वाङ्मय प्रतिष्ठान तथा इन्टरनेशनल स्कुलको संयुक्त पहलमा ११७ औं महाकवि देवकोटा जयन्तीको छेक पारेर कथाकल्प बालकृतिकाे परिचर्चा भएकाे छ।
लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल' र नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि विजयराज आचार्यले बालसाहित्य लेखनमा इन्टरनेशनल स्कुलको अविस्मरणीय योगदान रहेको चर्चा गर्दै प्राचार्य अनिरुद्र अर्याल स्वयम् बालसाहित्यकार हुनुले सिर्जनात्मक कार्य सम्भव भएको खुलासा गरे।
विद्यालयले मार्गदर्शन मात्रै नगरी व्यावहारिक रूपान्तरणमा नै दत्तचित्त भएको भन्दै यी नानीबाबुहरूले देशलाई समृद्धितिर लैजाने ल्याकत राख्ने बताए।
कार्यक्रममा समीक्षक तथा बालसाहित्यकार डा. छायादत्त न्यौपाने 'बगर'ले नानीहरूले अभिव्यक्त गरेका विचार र गरेका सिर्जनाबाट आफू हर्षित, प्रभावित र लाभान्वित भएको बताए। कथाहरू सङ्क्षिप्त भए पनि सकारात्मक सन्देश बोक्ने खालका रहेकाले पठनीय भएको न्यौपानेको धारणा थियो।
त्यस्तै गरी साहित्यकार देवराज सिंखडाले नानीहरूले सिर्जना गरेका कथाहरू अपत्यारिलो ढङ्गले निकै परिपक्व भएको भन्दै अन्य विद्यालयले पनि यस्ता सुकर्मको सिको गर्नुपर्ने बताए। विद्यालय र अभिभावकले सिर्जनात्मक चेत प्रस्फुटनमा दिएको वातावरण अत्यन्त अनुकरणीय भएको बताउँदै सिंखडाले प्रकाशोन्मुख नाटकसङ्ग्रह पनि यस्तै मञ्चनयोग्य बनोस् भन्दै शुभकामना दिए।
कथाकल्प -१, कथाकल्प-२, कथाकल्प-३ र कथाकल्प-४ काे परिचर्चा कार्यक्रममा कृतिका सम्पादक तथा शिक्षक केशरी अम्गाईले चाँडै संयुक्त बालनाटकसङ्ग्रहकाे पनि प्रकाशन हुन लागेको बताए। यस खाले कृति हाम्रो सन्दर्भमा पहिलो हुन सक्ने पनि उनले उल्लेख गरे।उनैको प्रेरणाले एक दर्जन बढी कृति इन्टरनेशनल स्कुलले प्रकाशन गरिसकेको छ भने हिमरश्मि हाइस्कुलमा थुप्रै बालसर्जक उत्पादन भइसकेकाे पनि उनले बताए।
चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेलले आफूले पनि बालसाहित्यको क्षेत्रमा कलम चलाएको सम्झिंदै देवकोटाले दश वर्षको उमेरदेखि नै कलम चलाएको उल्लेख गरे। उनले आफ्नो बालकवितासङ्ग्रह 'चटपटे र पानीपुरी' काे एउटा कविता प्रस्तुत गर्दै बालमस्तिष्कलाई विकृतिविरूद्ध प्रशिक्षित गर्नुपर्ने बताए।
विद्यालयका प्राचार्य अनिरुद्र अर्यालले सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए। ए+ ग्रेडलाई मात्रै अब्बल ठान्ने परम्पराको अन्त्य हुनुपर्ने बताउँदै शिशु हरक्षेत्रमा चासो राख्ने बनेपछि बाबुआमाले 'पढ्-पढ्' भन्नै नपर्ने पनि उनले उल्लेख गरे।
कार्यक्रमका अध्यक्ष माधव घिमिरे 'अटल' ले यस्ताखाले कार्यक्रमले बालसिर्जनात्मक क्षेत्र सबल बनाउन सकिने भन्दै अल्फा र जेड पुस्ताका साहित्यकारलाई प्रतिष्ठानले विशेष महत्त्वका साथ उजागर गर्ने बताए।
प्रतिष्ठानले मोफसलका स्रष्टाका साथै तन्नेरी स्रष्टालाई समेत उचित सम्मान प्रदान गर्ने दाबी गरे। बालसर्जकका कृति प्रकाशन, लोकार्पण र परिचर्चा आफूहरूको मूल ध्येयमध्येकै एक भएको अटलको जिकिर थियो।
उक्त कार्यक्रममा नेपाल बालसाहित्य समाजकी कोषाध्यक्ष यशोदा अधिकारी, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल, सञ्चारकर्मी तथा मुक्तककार जयराम बिडारी, साहित्यकार रूबि सत्याल, माइन्ड प्लसका प्रबन्ध निर्देशक तथा लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लव, बालसंस्कार अनलाइनकी प्रबन्ध सञ्चालक गङ्गा खतिवडा लगायतको उपस्थिति रहेकाे थियो।
विद्यार्थीहरूले कार्यक्रमको बीचबीचमा देउसीभैलो खेलेर उपस्थित साहित्यानुरागी तथा अभिभावकहरूलाई मनोरञ्जन दिलाएका थिए।
प्रकाशित: ४ कार्तिक २०८२ १५:०० मंगलबार





