४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

छेपाराे समय

कविता

१) डस्टबिन

डस्टबिन हुँ म

फालिएको छ मलाई अँध्यारो कुनामा

बेकामका वस्तुहरू

थोपरिन्छन् ममाथि

सट्टामा लिन्छन् सुन्दरता सबैतिर

मैले बोकेको फोहरको भारले

निस्सासिन्छु म भित्रभित्रै

उकुसमुकुस बन्छु

विस्फोट हुन खोज्छु

चिच्याउन खोज्छु

फोहर कोच्न छोडिँदैन ममाथि

म अविचलित सहिरहन्छु

जब निकालिनछ फोहर

खन्याइन्छ कतै

तब हल्का बन्छ मेरो शरीर

तर

खन्याउन छोड्दैन कसैले फोहरको डङ्गुर

ए मान्छेहरू हो

फोहरको खेती नगर तिमीहरू

सुगन्धको खेती गरौ हामी सबै मिलेर।

२) लामखुट्टे

ऊ आउँछ

मेरो वरिपरि घुमिरहन्छ

समयसमयमा गीत सुनाउँछ

बिस्तारै चुम्न खोज्छ मेरा अङ्गअङ्गमा

म परपर भाग्न खोज्छु

ऊ झन्-झन् पछ्याइरहन्छ मलाई

उसको यस्तो चाला मन पर्दैन मेरो मान्छेलाई

ऊ मलाई पटकपटक झम्टिन खोज्छ

मेरो मान्छे पटकपटक झम्टिन खोज्छ उसलाई

दुवैको घम्साघम्सीमा म पो विचलित बन्छु

आखिर उ मारिन्छ मेरो मान्छेबाट

म हेरिरहन्छु उसका रगतकाछापहरूलाई।

३) छेपारो समय

अस्थिर छ समय

मान्छेहरू छेपारो जस्तै

रङ्ग परिवर्तन गर्छन्

र फरक मौसम र फरक दृश्य

प्रदर्शन गर्छन्।

कसैको जीवनमा

जब चुलिँदै जान्छन्

पीडाको पहाडहरू

तब बुन्न थाल्छन्

छेपाराहरूले जालहरू।

छेपाराहरू

अरूकाे अनुहार चाट्छन्,

कलेजो टोक्छन्।

र, आफूअनुकूल चल्न बाध्य पार्छन् समयलाई

घाउ चहयाइरहेका बेला

नूनचुक छर्किनेहरूलाई

भेटिरहेछु मैले

आफन्तको रूपमा।

छेपाराहरू

मलाई नै केन्द्र बनाएर घुम्छन्

र, बन्धनमा पार्न खोज्छन्, मलाई नै।

४) दासता

बाँधिएको छ पट्टी आँखामा

प्रतिबन्ध छ पूरा संसार हेर्न

बोकेको छु तिम्रा सबै भारलाई

कुदेको छु लट्ठीको चोट सहँदै

जीवन सुम्पेको छ तिमीलाई

तिमीमा भने पलाउँदैन कहिले

एक मुठी दयामाया

याद गर -

कसैको जीवन

कसैको दासतामा उभिइरहन सक्दैन।

प्रकाशित: ३ फाल्गुन २०८२ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App