उहिलेउहिले प्रेमीले पत्र लेख्दा
शब्दहरूमा प्राण भरिन्थ्यो रे
मसीको हरेक थोपामा
अथाह माया मिसिन्थ्यो रे
चिठीको पानामा प्रेमीप्रेमिकाको
छवि देखिन्थ्यो रे
एउटा जमाना थियो,
जहाँ ढुंगाले पनि खालि,
पैतालासँग मितेरी लगाउँथ्यो रे
हलो र कोदाली काँधमा भारी
पसिनाले निथ्रुक्क भिजेको
अनुहारमा पनि निश्चिन्त
मिठो मुस्कान हुन्थ्यो रे।
पटुकीको पोकोभित्र
लुकेको त्यो स्वाद
मकै भटमासको मिठो बासना
टाढाटाढासम्म पुग्थ्यो रे।
चौतारीको शीतल छहारीमा
साउती मार्दै प्रीत गाँस्ने थलो हुने गर्थ्यो रे।
गोलो अन्जुलीमा थापेर पिएको
झरनाको पानी
अमृतभन्दा मिठो हुने हुन्थ्यो रे।
तोरणमा गाँसिएका रङ्गीचङ्गी फूल हेरेर
रमाउने आँखाहरू
र एकताको धागोमा गाँसिएको समाज,
स्वर्गजस्तै हुन्थ्यो रे।
अहिलेअहिले
आजकल मोबाइलको कुञ्जीमा
भावनाहरू थिचिन्छन्
प्रेम भावनाहरू त कहीँ कतै शब्दमै बदनाम भए।
आधुनिकताको नाममा
फेसनका जुत्ता आए टेक्ने धर्ती त तिनै हुन्
तर न्यानो स्पर्श र मितेरि टाढा भए!
हलो र कोदालो बोकी रमाउने
हाँसो, सपनाको भारी बोकी,
मरुभूमिमा (परदेशमा) हराए!
भावना साट्ने चौतारी पार्टी
प्यालेसमा परिणत भए।
आधुनिकताको खोलभित्र
मकै पपकर्नमा परिवर्तन भए भट्मास सोयाविनमा
चलिरहने समयलाई रोक्न कहाँ सकिन्छ र?
बदलिरहने विकासलाई बाँध्न कहाँ सकिन्छ र?
तर कसैको आँखामा आँसु दिएर होइन,
खुसी र हाँसो साटेर बाँचौ
परिवर्तित समयको विकाससँगै
आउनुस् उत्सवमा हातेमालो गरेर नाचौं।
प्रकाशित: ३० जेष्ठ २०८३ १२:५३ शनिबार


-600x400.jpg)

-600x400.jpg)
