कफीको बाफसँगै उडिरहेछन् केही अधुरा धुनहरू
एउटा कुनामा म, र मेरो हातमा
न्यानो 'क्यापुचिनो' को मगमग बास्ना।
चिनीको मात्रा कम भएर हो वा मनको तिर्खाले
यो प्याला आजअलि बढी नै तीतो भइरहेछ।
मृदु सङ्गीतको सुस्त लहरबीच
अचानक जुध्छन् हाम्रा आँखाहरू
ऊ अगाडिको टेबलमा एउटा किताब पल्टाउँदै
म - एकोहोरो कफीको फिँज चलाउँदै।
मौन संवाद चलिरह्यो यसरी
जसरी चलिरहन्छ घडीको सुई
हामीबीच न शब्दको लेनदेन भयो
न परिचयको कुनै औपचारिक पर्खाल।
खाली मौन संवाद
जहाँ नजरले नजरलाई प्रश्न सोधिरह्यो
र मुस्कानले उत्तर साटिरह्यो।
एउटा बिम्ब जस्तै थियो ऊ
कफीको कपमा कोरिएको 'ल्याट्टे आर्ट' जस्तै
जसलाई हेर्न मन लाग्छ तर पिउन डर लाग्छ
कतै त्यो सुन्दरता बिग्रिहाल्ने हो कि भनेर।
क्याफेको त्यो कोलाहलमा पनि
हामी एउटा सुनसान टापुमा छौँ जस्तो
जहाँ कफीका घुटकीहरूले समय नापिरहेछन्।
आज
बाहिर वर्षा सुरु भयो कि क्या हो?
अथवा मेरो मनभित्र उसको सम्झनाको बाछिटा छिर्याे ?
ऊ त्यही 'क्याफेको केटो' हो
जो हरेक साँझ कफीको तीतोपनामा
मेरै नजरको मिठास खोजिरहन्छ सायद
एकैछिनको हेराहेर र फेरि एउटा लामो रिक्तता
यी कविताका हरफहरू उसकै यादमा मुस्कुराइरहेछन्।
प्रकाशित: २० वैशाख २०८३ ०८:४७ आइतबार





