पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आएका थिए। मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ। परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन्।
मादल व्यवसाय सङ्कटमा परेपछि उनले पेसा बदल्नुपरेको छ। बुबा, बाजे र दाइहरूबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो।
अहिले छोराहरू विदेश छन्। परियारले आफूसँग भएको सीप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुःखेसो गरे।
उनी भन्छन्, “मलाई ५/७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँ, छोराछोरी पढाएको थिएँ, अहिले अरू काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु।”
परियारले पहिले बाह्रै महिना मादलको माग आउने गरेको र पछिपछि चाडबाडको बेला मात्र ग्राहक आउने गरेको बताए। उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए।
मादलको मूल्यसमेत घटेको परियार बताउँछन्। “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरू आउँथे, हरेक महिना कम्तीमा १० मादल बिक्री गर्थे, मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे। कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झन्डै पाँच लाख कमाइ गर्थे,” परियारले भने, “अहिले मादल किन्न बेला मौकामा एक/दुई जना आउँछन्, उनीहरूलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको एक हजार २०० देखि पाँच हजार रूपैयाँसम्ममा बेच्ने गर्थे।”
परियारले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए। गाउँ तथा सहरमा देउसीभैलो खेल्नेहरूले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउन्ड सिस्टमहरू किन्ने गरेको उनको भनाइ छ।
“तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो, अहिले देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ,” उनले भने।
ढोरपाटन–२ का मकरबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो। उनको पनि अचेल मादल कमै बिक्री हुन्छ। वार्षिक एक हजार २०० बढी मादल बेच्ने उनले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए।
पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए।
“चार वर्ष भइसक्यो मादल कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, अहिले बिक्री नै हुँदैनन्,” नेपालीले भने, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन।”
नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए। उनी मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउँछन्।
अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरू बज्नै छोडे र बाजाको ठाउँमा ठूल्ठूला स्पिकर र साउन्ड सिस्टमहरूको प्रयोग हुन थालेको नेपालीको भनाइ छ।
“आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्त्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युतकाे पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,” उनले भने, “अब मादल र बाजाहरू हराउँदै जाने खतरा छ, मेलामहोत्सवमा पनि बाजा र मादल बज्न छोडे।”
अब विद्युतीय सामग्रीको माग बढेको छ। बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूलाठूला साउन्ड सिस्टम र माइकको माग बढेको बताए।
प्रकाशित: ४ कार्तिक २०८२ १८:२९ मंगलबार





