‘आङवाङ-जिमिरे गाउँ (भीरकोट, स्याङजा) का चापागाईं बन्धुहरूको वंशावली’ लोकार्पण गरिएकाे छ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका गोठाटारको चापागाईं सेवा समाज भवनमा गोकर्णेश्वर भगवान् साक्षी राखी कृति लोकार्पण गरिएकाे हाे।
डा. बालकृष्ण चापागाईं सम्पादक तथा प्रकाशक र योगप्रसाद उपाध्याय चापागाईं (यात्रु) सामग्री संकलकका रूपमा रहेका छन्।
उक्त वंशावली भिरकोट–९, स्याङ्जा पुर्खा थलो भएका चापागाईं बन्धुहरूको इतिहास, परम्परा र सामाजिक पृष्ठभूमि समेटेर तयार पारिएको हो।
प्रस्तुत कृति शोधपत्रका रूपमा प्रस्तुत गरिएकाे नभए पनि यसमा समावेश गरिएका लेख, अनुभव र तथ्यहरूले वंश, संस्कार र इतिहासप्रति गहिरो दृष्टिकोण प्रस्तुत गरेका छन्।
संकलक योगप्रसाद उपाध्याय चापागाईंले झण्डै एक दशक लगाएर चापागाईं वंशको खोज, अध्ययन र अभिलेखीकरण गरेका केही विषय पुस्तकमा समेटिएका छन्।
त्यस्तै वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंका खारिएका लेखनीमार्फत धार्मिक, सांस्कृतिक तथा पुर्ख्यौली अनुभव सशक्त रूपमा प्रस्तुत गरिएको छ।
उक्त वंशावलीले भिरकोट–९ का चापागाईं परिवारहरूको ऐतिहासिक पृष्ठभूमि, सामाजिक योगदान तथा सांस्कृतिक पहिचानबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्दै भविष्य पुस्ताका लागि मार्गदर्शक दस्तावेजका रूपमा स्थापित हुने अपेक्षा छ।
नयाँ ढंगले भएकाे कार्यक्रममा यस्ता कृतिहरूले आफ्नो पहिचान गर्न र सामुदायिक एकता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइयो। समग्रमा वंशावली पुस्तकलाई पठनीय, उपयोगी र सफल कृतिका रूपमा मूल्यांकन गर्न सकिने विश्वास गरिएको छ।
प्रकाशित: १७ वैशाख २०८३ १३:१३ बिहीबार





