मृत्युले मलाई हिजो के गर्यो
अनौठो छ
पछार्यो धर्तीमा
जहाँ सहरका यमराजहरू
‘आँ’ गरिरहेका थिए
मलाई निल्न
म प्रेम मागिरहेको थिएँ
मेरी प्रेमिकासँग
ऊ मलाई जीवन दिन
प्रेमपत्रमा हस्ताक्षर गरिरहेकी थिई
बुद्धको मनमा बसेको म
तीन करोड नेपालीको छोरो को हो
यो देशको न्यायको देवता को हो
हेरिरहेको थिएँ
देशको बारेमा बोल्नेहरूको
फोटो टाँस्दै छु मेरो अनुहारमा
अहिले
मेरो नाम के हो चिन्न
देश बागद्वारमा बसेर रगत छादिरहेछ
सर्पहरू पनि ‘आँ’ गरिरहेछन्
म बाहिर निस्केको छु
चिच्याउन होइन
भित्र पसेको एउटा कवि
बाहिर निकाल्न
मेरो शब्द आएको छैन
रिमाललाई छोडेर
देवकोटालाई
आश्रय लिन मौनताको
एउटा सपुत
बाल्दै छ तिहारको बत्ती
र गर्दै छ घोषणा
नेपाल जन्मेको यस बेला
स्वागत नेपाल
म आएको हुँ आगो चढाउन
यो विश्वको पहिलो अक्षर ॐ लिएर
एउटा पुस्ता चोरिएको छ भर्खर
त्यसको प्रलय हेरिरहेको म
ग्रेयम डिक्सनले झैं
आफ्नो शब्द बचाउन
कविता लेखिरहेछु
मैले युवाकालमा छोडेको
हातको बन्दुकको ठाउँमा
कलम राखेर
अलुन लेविसले लेखे
उस बेला दोस्रो विश्वयुद्धको कविता
मैले मन पराएको छोरो रोक्दै छ
हुन लागेको युद्ध
र गर्दै छ देश प्रेमको फैसला
सहरका बुढा मगन्तेहरू
हात थापिरहेछन् अभयका लागि
प्रथम विश्वयुद्धको
ग्यास आक्रमणमा परेझैं
एक हातले बुद्ध समातेको म
सुन्दै छु पशुपतिका घन्टका प्रार्थनाहरू
र पढ्दै छु मुक्तिनाथ र पाथीभराका इतिहासहरू
स्वर्गलाई झुन्ड्याएका छन्
यमराजले
धर्तीको स्वर्गलाई पनि डुबाएका छन्
तल पानीमा कुन बेला
देशलाई उत्तर दिन दौडँदै छु
मेरो प्रेममा जन्मेको
स्वागत नेपाल
ॐ जस्तै बलियो छ भन्न
श्रीजस्तै महान् छ
प्रेमसिंह भन्न
उस्तै छ रिमाल
र डिक्सनको अनुहार ममा
म आफ्नो लासमाथि उभिएर
आफ्नो विजय घोषणा गरिरहेछु
अहिले।
प्रकाशित: १५ कार्तिक २०८२ १२:४८ शनिबार





