२१ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

भुजेल-मगर तुलनात्मक भाषिक अनुभव

भाषा

भाषा मानव सभ्यताको मूल आधार हो। भाषाले व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमका रूपमा कार्य गर्छ। भाषा श्रव्य, लिखित वा संकेतात्मक रूपमा प्रयोग गरिने सामाजिक संरचना हो। भाषाले समाजमा आपसी समझदारी, समन्वय र सम्बन्ध कायम राख्न सहयोग पुर्‍याउँछ।

भाषालाई सरल रूपमा विचार अभिव्यक्तिको साधन मानिए तापनि विज्ञहरूका दृष्टिमा भाषा बहुआयामिक संरचना हो। भाषामा ध्वनिकी, रचना, वाक्यविन्यास, अर्थविज्ञान, प्राग्मेटिक्सलगायतका पाटाहरू समेटिन्छन्। भाषाविज्ञहरूका अनुसार भाषा केवल सञ्चारको माध्यम मात्र नभई मानव मस्तिष्कको संज्ञानात्मक प्रक्रिया, सामाजिक व्यवहार र सांस्कृतिक पहिचानको संवाहक पनि हो। त्यसैले भाषा केवल कुरा गर्ने साधन मात्र होइन। भाषा सोच्ने, बुझ्ने, सिर्जनात्मक रूपमा सिर्जना गर्ने र समाजसँग अन्तरक्रिया गर्ने जटिल र जीवन्त प्रणालीका रूपमा बुझ्दै अभ्यास गरिँदै आएको परम्परा छ। तसर्थ भाषा मानव सभ्यताका लागि आधारभूत तŒवको रूपमा ग्रहण गर्नुपर्छ।

मैले शिक्षाशास्त्राचार्य उपाधि हासिल गर्ने क्रममा ‘मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन’ शीर्षकमा अनुसन्धान कार्य सम्पन्न गरेकी थिएँ। शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, पृथ्वीनारायण क्याम्पस, पोखरामा नेपाली शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको नेपा.शि. ५९८ पाठ्यांश पूरा गर्ने प्रयोजनका लागि तयार पारिएको थियो।

 उक्त अनुसन्धान कार्य सन् २०१४ मा सम्पन्न गरी पृथ्वीनारायण क्याम्पस, पोखरामा प्रस्तुत गर्दा आवश्यक सन्दर्भ सामग्रीहरू खोज्न अहिलेको जस्तो सहज अवस्था थिएन। शोध कार्यले मगर भाषा र भुजेल भाषाबारे चासो राख्नेका लागि महत्त्वपूर्ण सामग्रीका रूपमा सहयोग गर्ने छ भन्ने मलाई विश्वास लागेको थियो।

शोधपत्रमा आदरणीय गुरु विष्णुप्रसाद शर्माको प्रत्यक्ष निर्देशनमा तयार पारिएको हो। शर्माले शोधपत्रको प्रारम्भदेखि अन्तसम्म सल्लाह, सुझाव र आवश्यक निर्देशन दिनुभएको थियो। शोधपत्रको शीर्षक छनोट एवम् शोधपत्र तयार गर्ने क्रममा महत्त्वपूर्ण अनुभव, मार्गदर्शन तथा सुझाव दिई सहयोग पु¥याउने नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्रा.डा. शर्वराज आचार्यज्यूको योगदान रहेको कुरा अविस्मरणीय छ।

शोधपत्र तयार गर्न शोधकर्तामा प्रत्यक्ष सहयोग पुर्‍याउने खालका तथ्याङ्कलाई मात्र निर्धारण गरी विश्लेषण गरिएको थियो। पाँच अध्यायमा सङ्गठित शोधकार्यलाई क्रमशः पृष्ठभूमि, परिचय, पूर्वाध्ययन, नतिजा र छलफल, मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन र अध्याय ६ मा सारांश, निष्कर्ष र उपयोग गरी पूरा गरिएको थियो। शोधको निष्कर्षमा राष्ट्रिय जनगणना २०५८ र २०६८ को अध्ययन गरी समग्र नेपालमा मगर मातृभाषी र भुजेल मातृभाषी वक्ताहरूको सङ्ख्यात्मक तुलना गर्दा भुजेलको तुलनामा मगर मातृभाषी वक्ताको सङ्ख्या बढी रहेको पाइयो।

राष्ट्रिय जनगणना २०५८ मा मगर मातृभाषीको सङ्ख्या सात लाख ७० हजार एक सय १६ रहेको पाइयो भने राष्ट्रिय जनगणना २०६८ मा मगर मातृभाषीको सङ्ख्या सात लाख ८८ पाँच सय ३० रहेको पाइयो। जसअनुसार जनगणना २०५८ देखि जनगणना २०६८ सम्म मगर मातृभाषीको सङ्ख्या १८ हजार चार सय १४ वृद्धि भएको पाइयो।

त्यस्तै राष्ट्रिय जनगणना २०५८ मा भुजेल मातृभाषीको जनसङ्ख्या १० हजार सात हजार ३३ रहेको पाइयो भने राष्ट्रिय जनगणना २०६८ मा भुजेल मातृभाषी जनसङ्ख्या २१ हजार सात सय १५ रहेको पाइयो। जसअनुसार राष्ट्रिय जनगणना २०५८ देखि जनगणना २०६८ सम्म भुजेल मातृभाषीको सङ्ख्या १० हजार नौ सय ८२ वृद्धि भएको पाइयो।

मगर भाषा र भुजेल भाषाको समग्र व्याकरणलाई अध्ययन गर्दा मगर भाषाको व्याकरणमा पदवर्ग र व्याकरणिक कोटिको चर्चा गरेको पाइयो तर भुजेल भाषाको व्याकरणमा सबै पदवर्ग र व्याकरणिक कोटिको चर्चा गरिएको पाइँदैन। भुजेल भाषा व्याकरणमा कमजोर रहेको पाइयो।

मगर भाषाको तुलनामा भुजेल भाषाको शब्द भण्डारमा पनि कमी रहेको पाइयो। मगर भाषाको व्याकरणमा शब्दवर्ग नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातको स्पष्ट चर्चा गरिएको पाइयो। तर मगर भाषाको तुलनामा भुजेल भाषाको व्याकरणमा शब्दवर्ग नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपातअन्तर्गत नाम, क्रिया, संयोजक, विस्मयादिबोधक र निपातको खासै चर्चा गरिएको पाइँदैन।

व्याकरणात्मक कोटि लिंग, वचन, पुरुष र कालको दुवै व्याकरणमा चर्चा गरिएको पाइयो। मगर भाषा र भुजेल भाषाको व्याकरणको अध्ययन गर्दा तुलनात्मक रूपमा भुजेल भाषाको व्याकरणभन्दा मगर भाषाको व्याकरण सबल रहेको पाइयो।

मैले आफूले अध्ययन गरेको विषय भएकाले हालका दिनमा पनि स्वअध्ययन गर्ने कार्य जारी नै राखेकी छु। मगर भाषा र भुजेल भाषाको तुलनात्मक अध्ययन गर्दा केही समानता र भिन्नता देखिन्छ। भाषिक वर्गीकरणका आधारमा मगर भाषा तिब्बती बर्मेली परिवारअन्तर्गत पर्छ। भुजेल भाषा इन्डोआर्यन भाषासँग सामीप्य राख्ने जनगोष्ठीय मातृभाषा हो। केही भाषाविज्ञहरू यसलाई किराती समूहसँग पनि जोड्छन्। ध्वन्यात्मक दृष्टिले मगर भाषामा स्वर र व्यञ्जनहरूको विशेष प्रयोग पाइन्छ।

कतिपय उपभाषामा टोन (उचाइ/चढाइ) पनि प्रयोग गरिन्छ। भुजेल भाषामा भने टोनको प्रयोग हुँदैन। यसको उच्चारण नेपाली भाषाजस्तै सुनिन्छ। व्याकरणमा दुवै भाषामा क्रियापद वाक्यको अन्त्यमा आउँछ। मगर भाषामा विभक्ति, विशेषण र क्रियामा परिवर्तन प्रस्ट देखिन्छ। भुजेल भाषाको संरचना सरल छ। शब्द संग्रहमा मगर भाषामा मौलिक शब्दहरू प्रचुर छन्। केही तिब्बती बर्मेली मूलका शब्दहरूको प्रभाव पनि पाइन्छ। भुजेल भाषामा नेपाली भाषाबाट लिइएका र आफ्नै मौलिक शब्दहरूको प्रधानता पाइन्छ। यसले भाषालाई मिश्रित बनाएको छ। लिपिको हिसाबले दुवै भाषामा परम्परागत लिपिको प्रयोग थिएन। तर अहिले देवनागरी लिपिको प्रयोग बढ्दो छ।

सामाजिक प्रयोगको दृष्टिले मगर भाषा अझै मगर समुदायमा जीवित छ। यो पश्चिम नेपालका जिल्लाहरूमा सक्रिय रूपमा बोलिन्छ। भुजेल भाषा सीमित भूगोलमा मात्र प्रयोगमा छ। त्यसैले यो लोपोन्मुख अवस्थामा छ। संरक्षण पक्षमा मगर भाषालाई संघसंस्थाले शिक्षा र साहित्यको माध्यमबाट प्रवर्धन गरिरहेका छन्। भुजेल भाषामा भने संरक्षणको प्रयास कमजोर छ। नयाँ पुस्तामा यसको प्रयोग घट्दो छ। तर पनि भुजेल समाज सेवा समिति केन्द्रीय समिति काठमाडौंले समय समयमा भुजेल भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको पनि छ यो मात्र पर्याप्त छैन भाषा जोगाउनु भनेको अस्तित्व जोगाउनु हो। त्यसका लागि भाषाको प्रयोग गर्नुपर्छ।

बागलुङको निजी क्षेत्रलाई भुजेल जातिको मूल थलो मानिन्छ। हाल भुजेल जातिको बसोबास बागलुङ, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, चितवन, सिन्धुली, मकवानपुर, काठमाडौं उपत्यका, सर्लाही, रौतहट, पर्सा, खोटाङ, रामेछाप, दोलखा, सुनसरी, झापा, धनकुटा र इलाम जिल्लामा सघन रूपमा रहेको छ भने देशका अन्य भागमा पनि छरिएर बसोबास रहेको पाइन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार भुजेल जातिको जनसंख्या एक लाख २० हजार दुई सय ४५ रहेको छ, जुन कुल जनसंख्याको ०.४१ प्रतिशत हो। भुजेल भाषा बोल्नेको संख्या १३ हजार ८६ जना रहेको छ, जुन नेपालमा बोलिने मातृभाषीको रूपमा रहेका कुल मातृभाषी जनसंख्याको ०.०४ प्रतिशत हो। भुजेल भाषा नेपालमा बोलिने भोट बर्मेली भाषामध्ये एक हो। तनहुँ, गोरखा, चितवन र नवलपरासीका गाउँहरूमा यो भाषा मातृभाषाको रूपमा बोलिन्छ। नेपाल सरकारले २०५८ को जनगणनाबाट भुजेल भाषालाई छुट्टै भाषाका रूपमा मान्यता  दिइएको हो।

भुजेल जातिले आफूलाई ‘पुख्ग्याल’ र आफ्नो भाषालाई ‘पुख्ग्याल ङुर’ भन्दछन्। ‘पुख्’को अर्थ टाउको वा मुख्य, ‘ग्याल’ को अर्थ राजा (तिब्बती भाषा जस्तै) र ‘ङुर’को अर्थ भाषा वा बोली हो। भुजेल भाषा जटिल क्रियापद भएको लोपोन्मुख भाषा हो। भुजेल भाषाको संरक्षण गर्न विश्वविद्यालयीय योगदान दिने क्रममा कहिल्यै बिर्सन नहुने व्यक्तित्व प्राध्यापक डा. दानराज रेग्मी हुनुहुन्छ। यस भाषाको संरक्षणका लागि भुजेल समाज सेवा समितिले समेत पहल गरिरहेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट भुजेल भाषाको शब्दकोश तथा व्याकरणसमेत प्रकाशित भइसकेको छ। भाषा आयोगको प्रतिवेदनअनुसार नेपालमा रहेका एक सय ३१ भाषामध्ये भुजेल भाषा पनि एक प्रमुख भाषा हो। भारतको सिक्किम सरकारले सन् २०२२ मा खार्पा लिपिसहित भुजेल भाषालाई सरकारी भाषाको मान्यता दिएको छ। यो अल्पसंख्यक आदिवासी भुजेल समुदायका लागि महत्त्वपूर्ण उपलब्धि हो। भारतको सिकिम्म सरकारले भुजेल जातिको भाषिक सांस्कृतिक संरक्षणका लागि बजेट विनियोजन गरी भाषिक सांस्कृतिक संरक्षणमा चासो दिएको विषयले नेपाली नागरिकहरूले सिक्नुपर्ने कुरा भनेको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणले मुलुकलाई समृद्ध बनाउँछ।

भुजेल जातिले घन्टी, सूर्य, वायु, जल, जमिन र जंगलको आह्वान गरी प्रकृतिपूजा गर्ने परम्परा पालना गर्दै आएको पाइन्छ। भाषा तथा संस्कृति संरक्षणमा सम्बन्धित वक्ता, विश्वविद्यालय र सरकारको नीति तथा कानुनले प्रत्यक्ष प्रभाव पार्छ। नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौता र कानुनले दिएको सुविधाको उपयोग गर्न सकेमा नेपालको भाषिक तथा सांस्कृतिक संरक्षणमा सरोकारवालालाई उर्वर भूमि रहेको अवस्था छ। यो अवस्था गुम्न नदिनु भाषिक समुदायको कर्तव्य हुन जान्छ।

भुजेल जाति आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक दृष्टिले पछाडि परेको सीमान्तीकृत आदिवासी जनजाति हो। विगतमा राज्यले लिएको एक भाषा, एक संस्कृति भएको नीतिका कारण भुजेल जातिमा हिन्दू संस्कृतिको प्रभाव देखिन्छ। परम्परागत रूपमा पशुपालन, हस्तकला र खेतीपातीलाई मुख्य पेसाका रूपमा अँगालेको यस जातिमा वर्तमान समयमा शिक्षित युवाहरू सरकारी सेवा, व्यापार र वैदेशिक रोजगारीमा समेत सक्रिय देखिन्छन्।

 आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा भुजेल जाति ३४ औं नम्बरमा सूचीकृत छ। नेपाल आदिवासी जनजाति महासंघमा यस जातिको तर्फबाट २४ औं नम्बरमा भुजेल समाजसेवा समिति आबद्ध भएको देखिन्छ। श्रुति तथा विभिन्न किंवदन्तीका अनुसार भुजेलका दश पुस्ताले नेपाल राज्य स्थापना हुनुभन्दा पहिला हालको बागलुङमा शासन गरेका भनाइ पाइन्छन्। सङ्ग्रामसुर भुजेल, रुद्रसिंह भुजेल, त्रिभुवन खवास र गगनसिंह खवासजस्ता व्यक्तित्वहरूको नेपालको निर्माणमा प्रशंसनीय भूमिका रहेको इतिहासकारहरूको दाबी रहेको छ।

बजारमा प्रकाशित सामग्रीका अनुसार भुजेल जातिका चार मुख्य थरहरू भुजेल, घर्ती, निसेल र खवासअन्तर्गत ७० भन्दा बढी उपथर छन्। राज्यमा आफ्नो पहिचान जोगाउनका लागि भुजेल जातिका शिक्षित तथा प्राज्ञिक व्यक्तित्वहरूले भुजेल जातिबारे बारम्बार सोधिने प्रश्न र उत्तर तयार गरी डिजिटल प्लेटफर्महरूबाट सार्वजनिक गर्दा अध्ययन अनुसन्धानकर्ताका लागि थप सन्दर्भसामग्री सहजै प्राप्त हुन सक्छ।

यसरी प्रकाशन गरेको प्रश्नोत्तरलाई बहुभाषामा समेत प्रकाशन गर्न सकेमा बहुउपयोगी हुन सक्छ। भाषाको आत्मा भनेको प्रयोग र लिपि हो। भाषिक लिपिनिर्माण गर्नाले भाषिक समुदायको आधारभूत जग तयार गर्नु हो। नेपालका भुजेललगायत अन्य अल्पसंख्यक भाषिक समुदायले भाषिक लिपिको खोजी र विकास गर्न सकेमा बहुभाषिक सम्पत्तिको जगेर्ना हुनेछ। 

प्रकाशित: ३ श्रावण २०८२ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App