अचेल मेरो सिरानीमा
रङ्गीन सपनाहरू
मस्तसँग निदाउँछन्।
मदहोश भएर
अलिकति उन्माद पोखिन खोज्छन्,
र म उड्छु
तिम्रो गाउँबस्ती खोतल्दै,
तिम्रो अतीत हुर्किएको त्यो माटोसम्म,
जहाँ
तिम्रो सुगन्धमा लुटपुटिँदै पोखिएका
बचपनका दिनहरू
सम्झँदै,
मनभरि ऊर्जा भरेर
त्यही भुइँकुइरोमा
फर्किएको छु म।
मन्दमन्द पवनका
बैंसालु झोक्काहरूले
तिमीलाई छोइरहँदा,
तिम्रा केशहरू सुम्सुम्याइरहँदा,
त्यो अनुभूतिसँग
एकाकार गर्दै,
म आज पनि
त्यो पाखोलाई
बारम्बार चुमिरहेछु।
तिम्रा अङ्गअङ्गमा
तप्पतप्प झर्ने वर्षाका बुँदसँग
आफ्नै मौनतामा जल्दै,
तिमी घाँसदाउरा गर्ने
त्यो पखेरोलाई
मनभरि थुनेर
वर्षाको धुनका सरगममा हराइरहको छु!
तिम्रो चञ्चल,
तर भद्र र संयमित हेराइसँग
मनका तारहरूको झनझनाहट
आफैँभित्र लुकाएर,
तिम्रा यादहरूको पखेटामा
उडिरहेछु म।
भिञ्चीको मोनालिसाभन्दा पनि
शालीन छ तिम्रो तस्बिर,
त्यसैमा
एक अञ्जुली माया चढाएर
म श्रद्धाले निहुरिएको छु।
अनवरत स्नेह रोप्दै,
तिम्रो भुइँकुइरोभित्र
छरिएका यादहरू सँगाल्दै,
र
मेरो मान्छे,
म तिमीलाई खोजिरहेछु।
के त्यो भुइँकुइरोभित्र
तिम्रा सम्झनाहरू अझै
त्यत्तिकै
रुमल्लिएका होलान् त?
कि,
तिम्रा कुनै पदचापहरू
कतै लुकाएर,
त्यो भुइँकुइरो
मलाई पनि
पर्खिरहेको होलान् त?
प्रकाशित: ७ असार २०८३ ०८:४४ आइतबार





