१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘पाँच पाण्डव’ चलचित्र शुभमुहूर्त

ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको गणेशथानमा यो चलचित्रको शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए। वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन्। यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन्। ‘पाँच पाण्डव’ को भूमिकामा यी कलाकार रहनेछन्।

चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माण पक्षले प्रष्ट पारेको छ। पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन्। त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ।

चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव कोकाे हुन् भन्ने प्रष्ट पारिएको छैन तर उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुन सक्ने अनुमान लगाउन सकिन्छ।

पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए। यो चलचित्रमा द्रौपदी को हो? पाण्डवहरूको बाबु पाण्डु को हो र आमा कुन्ती को हो? निर्माण पक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन्। चलचित्रका अन्य केही कलाकार अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले बताए।

काली रानी फिल्मस्को प्रस्तुतिमा याे फिल्म निर्माण हुँदै छ। सुशील पौडेलले चलचित्रका कथा लेखेका हुन्। पटकथा तथा संवाद पनि उनकै छ। लाेकप्रिय फिल्म ‘प्रसाद’ पनि पाैडेलले नै लेखेका हुन्।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्य लगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए।

“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो। हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौं,” उनले भने, “हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौं।”

यसअघि गत वर्ष नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए। केही महिनामा छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन्।

प्रकाशित: १९ कार्तिक २०८२ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App