२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

आशा भोसलेको अवसानले नेपाली संगीत क्षेत्रमा पनि शोक

भारतीय विश्वविख्यात पार्श्वगायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। 

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनले अन्तिम सास फेरेकी हुन्। केही समययता स्वास्थ्य समस्याबाट पीडित भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। चिकित्सकका अनुसार उनको निधन मल्टि अर्गान फेलियरका कारण भएको हो। 

उनको निधनले भारतीय मात्र नभई विश्व संगीतले एक युग गुमाएको छ। सात दशकभन्दा लामो सांगीतिक यात्रामा हजारौँ गीतमार्फत उनले निर्माण गरेको विरासत अपूरणीय मानिएको छ। उनको योगदानलाई प्रतिस्थापन गर्न कठिन हुने कलाकारहरूले बताएका छन्। भोसलेको निधनले भारतीयसँगै नेपाली संगीत क्षेत्रलाई पनि स्तब्ध बनाएको छ। उनको निधनप्रति नेता तथा कलाकारहरूले शोक व्यक्त गरेका छन्।

गायिका एलिना चौहानले भोसलेका अविस्मरणीय गीत सम्झँदै लेखेकी छन्, “स्वरकी एक युगको अन्त। उहाँको आत्माले शान्ति पाओस्। उहाँका नेपाली गीत ‘माया त माया हो’, ‘मोहनी लाग्ला है’, ‘गैरी खेतको’, ‘नयाँ नयाँ सजाऊ है संसार’ आदि लोकप्रिय छन्।”

गायक प्रदीप दासले भोसलेको योगदान स्मरण गर्दै लेखेका छन्, 'आशा भोसले ज्यूको संगीतप्रेमी हृदयहरूमा सदैव विशेष स्थान रहनेछ। उहाँले आफ्नो स्वरमार्फत हजारौँ गीतलाई जीवन दिनुभयो। दशकौँसम्म निरन्तर साधनाबाट भारतीय तथा दक्षिण एसियाली संगीतलाई विश्वसामु चिनाउन उहाँको योगदान अतुलनीय छ।'

उनले थपेका छन्, 'हरेक पुस्ताले उहाँका गीतबाट प्रेरणा, आनन्द र स्मृतिहरू पाएका छन्। संगीतप्रतिको उहाँको समर्पण, अनुशासन र अथक परिश्रम हामी सबैका लागि उदाहरणीय छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु। उहाँका अमर गीतहरू सदैव हाम्रो मन–मस्तिष्कमा गुन्जिरहनेछन्।'

गायिका शान्ति श्री परियालले लेखेकी छन्, 'जसको आवाज कानले मात्र होइन, हृदयले सुन्यो। जुन आवाजले गीत गाउने प्रेरणा सधैँ जगायो। त्यही अजर-अमर आवाजकी धनी आदरणीय आशा भोसले ज्युको भौतिक शरीर संसारबाट अस्ताउँदा हृदय अत्यन्त भावविह्वल भएको छ। अब उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि संसारभरिका संगीतप्रेमीका हृदयको कुनाकुनामा उहाँको आवाज जीवन्त रहनेछ।'

उनले थपेकी छन्, 'यदि अर्को जन्म हुन्छ भने फेरि पनि सरस्वतीको कृपाले भरिएको आवाज लिएर उहाँकै जन्म होस्। हार्दिक श्रद्धाञ्जली, उहाँको बैकुण्ठमा बास होस्।'

कलाकार साइग्रेस पोखरेलले भोसलेको अभाव सधैँ रहने उल्लेख गर्दै भनेका छन्, 'सुप्रसिद्ध बलिउड गायिका आशा भोसले ज्यूको निधनको खबरले मर्माहत बनाएको छ। संगीतका माध्यमबाट करोडौँ मन छुने उहाँको अनुपम योगदान केवल भारतीय संगीतमा सीमित रहेन, नेपाली श्रोताहरूको हृदयमा पनि उत्तिकै गहिरो छाप छोड्न सफल भयो। ‘गैह्री खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘दियो बाली साँझको’ जस्ता कालजयी नेपाली गीतहरूमा उहाँको स्वरले दिएको जीवन्तता सधैँ अविस्मरणीय रहनेछ। उहाँजस्तो अनुपम कलाकारको अभाव सधैँ खट्किरहनेछ।'

उनले थपे, 'उहाँ भौतिक रूपमा हामीबीच नरहे पनि उहाँका अमर गीत-संगीतले पुस्तौँसम्म हाम्रो भावनामा गुन्जिरहनेछन्। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।'

आशा भोसलेको निधनले भारतीय संगीत मात्र नभई नेपाली संगीत क्षेत्रलाई पनि अपूरणीय क्षति पुर्‍याएको छ। नेपाली गीत-संगीतसँग उनको सम्बन्ध निकै पुरानो र प्रगाढ रहेको छ। उनले गाएका नेपाली गीतहरू आज पनि श्रोतामाझ उत्तिकै लोकप्रिय छन्। विशेषगरी नेपाली चलचित्रको स्वर्णयुगमा उनले दिएका कालजयी स्वरहरूले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

प्रकाशित: २९ चैत्र २०८२ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App