बलिउडका बादशाह मानिँदै आएका शाहरुख खानका छोरा आर्यन खानले डेब्यु वेबसिरिज ‘द ब्याड्स अफ बलिउड’ नेटफ्लिक्समा रिलिज भएको छ।
यो वेबसिरिजले बलिउडको चम्किलो संसार, नातावाद र सेलिब्रेटीहरूको जीवनशैलीलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको पाइन्छ। वेबसिरिजमा आर्यनले आफ्नो र बलिउडका अन्य ‘नेपो किड्स’को जीवनको मजाक उडाएका छन्। यस वेबसिरिजमा रणबीर कपूर, अर्जुन कपूर, इब्राहिम अली खान, शनाया कपूर लगायतका कलाकारहरूको अभिनय रहेको छ । साथै आमिर खान, इमरान हाश्मी, रणवीर सिंह, करण जोहर, राजकुमार राव र सिद्धान्त चतुर्वेदी जस्ता स्थापित कलाकारहरू पनि यसमा विभिन्न भूमिकाहरूमा देखा परेका छन्।
वेबसिरिजको मुख्य विषयवस्तु आर्यनको आफ्नै बुबा शाहरुख खानको यात्रासँग जोडिएको छ। वेबसिरिजमा आसमान सिंह नामको एक पात्रमार्फत कथा प्रस्तुत भएको छ, जसको जीवन शाहरुखको वास्तविक जीवनसँग मिल्दोजुल्दो छ। जसरी शाहरुखले दिल्लीबाट मुम्बई आएर बलिउडमा आफ्नो स्थान बनाए, त्यसैगरी आसमानले पनि बलिउडमा प्रवेश गर्न संघर्ष गरिरहेको देखाइएको छ। साथै आर्यन आफैँले भोगेको प्रकरण र जेल जीवनको भूमिका समेत समावेश गरिएको छ। यसबाहेक शाहरुखले आफ्नो करियरको सुरुमा भोगेका समस्याहरू, मिडियासँगको झमेला र विभिन्न झडपका घटनाहरूलाई पनि काल्पनिक रूपमा देखाइएको छ।
अन्त्यमा वेबसिरिजको सबै मजाक र व्यंग्यको बीचमा एउटा गहिरो सन्देश पनि रहेको छ, जहाँ आर्यनले आफ्ना बुबाको संघर्ष, आक्रोश, र दृढतालाई सम्मान गर्दै साहरुखको महानता र उनी कसरी ‘बलिउडका बादशाह’ बने भन्ने कथालाई आर्यन खानले देखाउने प्रयास गरेका छन्।
प्रकाशित: ४ आश्विन २०८२ १०:५३ शनिबार



-600x400.jpg)

