देश बाढी तथा प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाली चलचित्र तथा संगीत क्षेत्रका कलाकारहरू राहत र उद्धार अभियानमा सक्रिय भएका छन्। केही कलाकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् भने केही प्रभावित क्षेत्रमै पुगेर पीडितको उद्धार तथा राहत वितरणमा सहभागी भएका छन्।
कलाकारहरूले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गरिरहेका छन्। सार्वजनिक गरिएको विवरणअनुसार कन्दरा ब्याण्डका विवेक श्रेष्ठले सबैभन्दा बढी २१ लाख रुपैयाँ सहयोग गरेका छन्। गायक सुशान्त केसीले १० लाख रुपैयाँ तथा पारस बम ठकुरी ‘कुल ब्वाय’ र जोन एन्ड द लोकल्स ब्याण्डले ५–५ लाख रुपैयाँ प्रदान गरेका छन्।
त्यस्तै, दीपकराज गिरी र दीपाश्री निरौला, अभिनेत्री वर्षा शिवाकोटी, भुवन–बसुन्धरा–चैतन्य फाउण्डेसन तथा नीति शाह र त्रिसरा रेस्टुरेन्टले ३–३ लाख रुपैयाँ सहयोग गरेका छन्। अभिनेत्री विपना थापा र उनका श्रीमान् डा. आशुतोष भारद्वाजले २ लाख ५१ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।
चलचित्र क्षेत्रबाट ‘बा ए योद्धा’ टिमले २ लाख, ‘युग’ टिमले १ लाख १ हजार तथा ‘पार्वती’ टिमले पहिलो दिनको प्रदर्शनबाट उठेको १२ लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराएको विवरणमा उल्लेख छ। मह जोडीले २ लाख तथा अभिनेता विराज भट्टले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।
संगीत क्षेत्रबाट रचना रिमाल, बेनिशा पौडेल, मेलिना राई र प्रकाश सपूतले १–१ लाख रुपैयाँ सहयोग गरेका छन्। गीतकार संघ नेपालले १ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ।
यसैगरी बिनिता कार्कीले ६१ हजार २४२, रोहित अधिकारीले ५१ हजार ५०० तथा विपिन कार्की, जितु नेपाल र चक्र बमले ५१–५१ हजार रुपैयाँ सहयोग गरेका छन्। माल्भिका सुब्बा, शान्तिश्री परियार, टीका सानु र गोविन्द शाहीले ५०–५० हजार रुपैयाँ दिएका छन्।
सुशील पोखरेल, हिमाल सागर, शिव परियार, एलिना चौहान, चन्द्र शर्मा, दीपिका व्याम्बु, प्रताप दास, अर्जुन सापकोटा, मञ्जु पौडेल, शिवशंकर रिजाल, राधिका हमाल, मेनुका माझी, रामकृष्ण ढकाल, आनन्द कार्की र किरण केसीलगायतले पनि राहत कोषमा योगदान गरेका छन्।
बाहिर सार्वजनिक भएको रकम जोड्दा करिब ८६ लाख ९८ हजार ९६३ रुपैयाँ हुन्छ।
आर्थिक सहयोगसँगै पल शाह, दुर्गेश थापा, रवीन्द्रसिंह बानियाँ, बिहानी पंगेनी, रौनकविक्रम कँडेल र मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ लगायत कलाकार प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सक्रिय छन्।
यद्यपि अनमोल केसी, सौगात मल्ल, समीक्षा अधिकारीलगायत केही कलाकारले आफ्नो सहयोग रकम सार्वजनिक गरेका छैनन्। त्यसैले कलाकार क्षेत्रबाट भएको कुल सहयोग रकम यकिन गर्न कठिन छ। सार्वजनिक सूचीमा ४३ जना व्यक्ति तथा समूहको योगदान उल्लेख छ।
प्रकाशित: १८ भाद्र २०८३ १८:२८ बिहीबार





